२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

विपत्तिमा परेकाहरुलाई जोगाउनु सरकारको प्राथमिकता : प्रधानमन्त्री देउवा

कान्तिपुर संवाददाता

इलाम — प्रधानमन्त्री शेरबहादुर देउवाले बेमौसमी झरीका कारण प्रभावित बनेकाहरुलाई राहतको व्यवस्था गर्ने बताएका छन् । पूर्वी पहाडका बाढीपीडितलाई अस्थायी र स्थायी गरी दुई चरणमा दीगो व्यवस्थापन गरिने प्रधानमन्त्रीको प्रतिबद्धता छ । 

विपत्तिमा परेकाहरुलाई जोगाउनु सरकारको प्राथमिकता : प्रधानमन्त्री देउवा

आइतबार इलाम र पाँचथरका पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि राकेमा बाढीपीडितलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्काल अस्थायी रुपमा पीडितलाई राहत व्यवस्थापन गर्ने आश्वासन दिए । ‘मन्त्रिपरिषद्‌को बैठक बसेर यस विषयमा ठोस निर्णय गर्नेछौं’, उनले भने, ‘सरकारको पहिलो प्राथमिकता नै विपत्तिमा परेकाहरुलाई जोगाउनु हो ।’

प्रधानमन्त्रीले तत्काललाई अस्थायी भए पनि दीर्घकालमा अप्ठ्यारो भूगोलमा रहेकालाई सहज ठाउँमा स्थानान्तरण गरिने आश्वासन दिए ।

प्रधानमन्त्रीसँगको भेटमा पहिरो प्रभावितले पहिरोका कारण बिचल्ली भएका आफूहरुलाई बस्ती स्तान्तरण गर्न माग गरेका थिए । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका ३० घर बढी प्रभावित स्थानीय जलसिंह माध्यमिक विद्यालयमा बस्दै आएका छन् । इलाम र पाँचथरको सीमाना चिसोपानी पंचमीमा समेत प्रधानमन्त्री देउवाले पहिरो प्रभावित क्षेत्रका पीडितलाई भेटेका थिए ।

राकेमा पीडितलाई सम्बोधन गर्नुअघि प्रधानमन्त्रीले इलाम र पाँचथरको पहिरो प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका थिए । इलामको माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, पाँचथरको फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका देउवाले घरैपिच्छे वाटो लाने र मेसिनरी औजारको प्रयोगले बढी क्षति भएको प्रतिक्रिया दिए । देउवालई इलाम र पाँचथरका प्रमुख जिल्ला अधिकारीले बाढी पहिरोबाट भएको क्षतिको जानकारी गराएका थिए । पहिरोका कारण पाँचथरमा ३० र इलाममा १४ जनाको ज्यान गएको छ ।


प्रकाशित : कार्तिक ७, २०७८ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?