सामाजिक विभेद र सामन्ती उत्पीडन रुचाउनेले माओवादी सकिनुपर्छ भने : दाहाल 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन नरुचाउनेले माओवादी सकिनुपर्छ भनेको बताएका छन् । राजनीतिक र सामाजिक रूपान्तरणको नेतृत्व गर्ने आफूलाई अपराधी नै हो भनाउन लागेको पनि दाहालले बताएका छन् ।

सामाजिक विभेद र सामन्ती उत्पीडन रुचाउनेले माओवादी सकिनुपर्छ भने : दाहाल 

'ज्योति स्पर्श र रातो बारुद' नामक पुस्तक लोकार्पण कार्यक्रममा आइतबार दाहालले त्यस्तो अभिव्यक्ति दिएका हुन् । 'हिजोका सरकारका कतिपय ठूल्ठूला महान् विद्वान्, कर्मचारीतन्त्रका ठूला भन्नेहरूले माओवादी नसकिँदासम्म यो देशले सुख पाउँदैन भनेको सुन्नु भएको छ नि हिजो अस्तिमात्रै,' दाहालले भने, 'को हुन् ती मान्छेहरू ? सामाजिक विभेदलाई रुचाउने, सामन्ती उत्पीडन र अत्याचारलाई पुनर्स्थापित गर्न चाहने, महिलालाई विशेषाधिकार दिने या महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व राज्यका विभिन्न क्षेत्रमा हुनुपर्छ भन्नेहरूलाई सिध्याएपछि हुन्छ के ?'

जुन वर्ग र समुदायका लागि आफू लडेको हो ती समुदायका मान्छेहरू पनि माओवादी सकिनुपर्छ भन्नेहरूको समर्थनमा लागेको देख्दा आफूलाई अचम्म लाग्ने गरेको दाहालको भनाइ थियो । 'दुर्भाग्य के छ भने जुन वर्ग, समुदायका निम्ति भनेर हामी लडाइँ लड्यौँ, त्यो वर्ग, समुदाय पनि जानेर वा नजानेर आफूलाई नै अत्याचार गर्नेहरूको पछिपछि लागेर ताली पिट्दै हिँडेको देख्दा मलाई कहिलेकाहीँ बडो नमीठो लाग्छ । के भएको होला भन्ने महसुस हुन्छ,’ उनले भने ।

दाहालले परिवर्तन नचाहने व्यक्ति र राजनीतिक दलहरूले संघीयता उल्ट्याउन चाहेको, जातीय विभेदको अन्त्य गर्ने विद्रोहलाई बदनाम गर्न खोजेको पनि आरोप लगाए । उनले त्यसका लागि आफूलाई अपराधी नै हो भनाउन चाहेको पनि बताए । 'उनीहरूले यो संघीयता उल्ट्याउन चाहेका छन् । यो जातीय विभेदको अन्त्य गर्ने भनेर भएको विद्रोहलाई बदनाम गर्न चाहेका छन् । सबैले मिलेर प्रचण्डलाई अपराधी नै हो भनाउन चाहेका छन् । यसले चाहिँ दलितहरुलाई उठाएर हामीलाई हैरान पार्‍यो, आदिवासी जनजाति उठाएर, महिलालाई ३५ प्रतिशत रे, के के रे भन्दिएर,’ उनले भने ।

प्रकाशित : कार्तिक ७, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?