बाढी पसेको बस्तीमा तिहारको तयारी [तस्बिरहरू]
(धनपालथान, मोरङ) — स्थानीय लोहन्द्रा खोलाको बाढीले दक्षिणपूर्वी मोरङको धनपालथान गाउँपालिकामा खेतबारी डुबायो । घरआँगन भत्कायो । लोहन्द्रा खोलाको बाढीले मंगलबार धनपालथान गाउँपालिकाको वडा नम्बर ६ र ७ मा सबैभन्दा बढी असर गरेको थियो । विराटनगर–रंगेली जोड्ने मुख्य हुलाकी मार्गको मध्यमा रहेको यी दुई वडा बीचको सडक भएर खोला बगिरहेको थियो ।
अहिले मौसम खुलेपछि जनजीवन सामान्य हुँदैछ । सबै पीडा बिर्सेर उनीहरु तिहारको तयारीमा जुटेका छन् । खोलाले बगाएर खेत छेउमा थुपारेको माटो बोकेर लगि घर टाल्दैछन् । लिपपोत गर्दैछन् । जस्तो सुकै संकट र दुख आए पनि सामना गर्दै अघि बढ्नै पर्ने स्थानीय बताउँछन् ।
मौसम खुलेर पानी घटे पछि सनपाट धुनेलगायतका कृषि कर्ममा स्थानीय फर्केका छन् । घाम लाग्न थालेको हुनाले एक दिनमा सनपाट सुकेर बेच्न लायकको हुन्छ ।
नगदेबाली सनपाट बेचेर आएको रकमले यसपाली तिहार एवं छठ पर्व मनाउने कृषकहरु बताउँछन् । सनपाट धोएपछि निस्केको सन्ठीको बोझा स्थानीयले घर लगिरहेका छन् । चुल्हो बाल्न, घेराबार गर्न र लक्ष्मी पूजाको राति खेतबारीमा पूजा विधिमा पनि सन्ठीको प्रयोग हुन्छ ।