प्रदेश १ सभा बैठक स्थगित, कात्तिक १५ गते बस्‍ने

देवनारायण साह

विराटनगर — प्रदेश १ सभा बैठक कात्तिक १५ गते बस्‍ने भएको छ । आइतबार साढे १२ बजेका लागि बोलाइएको संसद् बैठक सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बैठक स्थगित गर्न निवदेन दिएपछि कात्तिक १५ गते सोमबार दिउँसो साढे १२ बजे बस्‍ने गरी स्थगित गरिएको हो । 

प्रदेश १ सभा बैठक स्थगित, कात्तिक १५ गते बस्‍ने

मुख्यमन्त्री भीम आचार्यले आइतबार विश्वासको मत लिने कार्यसूची थियो । एमाले विभाजन भएपछि तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

सुरुमा कांग्रेसका मुख्य सचेतक केदार कार्कीले बाढी पहिरो निरीक्षण गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण रहेको र त्यसमा सांसदहरु सहभागी हुन पर्ने भन्दै आइतबारको बैठक स्थगित गर्नका लागि माग गरेका थिए । प्रधानमन्त्री देउवा बाढी पहिरोले गरेको क्षति निरीक्षण गर्नका लागि पूर्वी क्षेत्रको भ्रमणमा रहेका छन् ।

त्यस लगत्तै सत्तारुढ एमालेले पनि पार्टीको पालिका अधिवेशनको तयारी र केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनुपर्ने भएकाले बैठक कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गर्न माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता गरेको थियो ।

एमालेको पालिका अधिवेशन मंगलबार एकै पटक हुँदैछ । त्यसैगरी, एमालेको दसौं महाधिवेशनको विषयमा छलफल गर्नका लागि शुक्रबारबाट एमाले केन्द्रीय कमिटीको बैठक हुँदैछ ।

दुवै दलको लिखित रुपमा बैठक स्थगित गर्न माग गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक बोलाएका थिए ।

बैठकपछि प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बैठक बस्ने मिति परिवर्तन भएको सूचना निकालेका थिए ।

प्रकाशित : कार्तिक ७, २०७८ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?