३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रधानन्यायाधीशसँग बारका पदाधिकारीको भेट सकियो, सोमबार फुलकोर्टसँग छलफल

मंगलबारबाट गोलाप्रथाद्वारा पेसी तोक्ने सहमति
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाल बार एशोसिएसनका पदाधिकारीकबीचको भेटघाट सकिएको छ । प्रधानन्यायाधीश जबरामाथि उठेको प्रश्न तथा न्यायपालिका शुद्धिकरण र सुदृढिकरणका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानन्यायाधीशसँग बारका पदाधिकारीको भेट सकियो, सोमबार फुलकोर्टसँग छलफल

नेपाल बारका पदाधिकारीले आइतबार ११ बजेदेखि २ बजेसम्म प्रधानन्यायाधीश जबरासँग अहिलेको विवादबारे छलफल गरेका थिए । छलफलका क्रममा विवादका सम्पूर्ण विषय राखिएको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

उपाध्यक्ष बस्यालले प्रधानन्यायाधीशसामू मन्त्रिपरिषद्‌मा भागबण्डा खोजेको, न्यायालयको सुदृढिकरणको विषयमा पहल नलिएको, पेसी तोक्ने विषयमा रहेका कमजोरी हटाउन नखोजेको लगायतका कुरा राखिएको बताइन् । मन्त्रिपरिषद् र संवैधानिक निकायमा भागबण्डा खोजेको आरोप प्रधानन्यायाधीश जबराले अस्वीकार गरेको बस्यालले बताइन् ।

'अहिले न्यायपालिकाको नेतृत्वका बारेमा उठेका सबै विषयमा उहाँसामू राख्यौं । तपाईंको विरुद्ध न्यायपालिकाका सम्बन्धमा यो यो विषय उठेका छन् । हामीले तपाईंसँग सहकार्य गर्न चाह्यौं नेपाल बारले तर लामो समयदेखि त्यो हुन सकेन भनेर राख्यौं,' छलफलबारे बस्यलले भनिन् ।

प्रधानन्यायाधीश जबरासँगको छलफलबाट केही निष्कर्ष ननिस्केपछि बारले फुलकोर्टसँग छलफल तय गरेको छ । 'अब के गर्नेभन्नेमा भोलि फुलकोर्टसँग छलफल गर्ने भएका छौं । काठमाडौंमा उपलब्ध सर्वोच्च अदालतका न्यायाधीशहरू (फुलकोर्ट) सँग छलफल गर्न चाहन्छौं भनेका छौं । त्यसपछि के गर्ने भन्ने धेरै कुराको तय हुन्छ ।'

आइतबारको प्रधानन्यायाधीश र बारका पदाधिकारीको भेटमा मंगलबारदेखि गोलाप्रथाबाट पेसी तोक्ने सहमति भएको जानकारी पनि बस्यालले दिइन् ।

बारका पदाधिकारीले सोमबार साढे १ बजे फुलकोर्टसँग छलफल गर्ने समय तय भएको छ ।

प्रकाशित : कार्तिक ७, २०७८ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?