१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रदेश १ का मुख्यमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुँदै

देवनारायण साह

मोरङ — प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावमा आज प्रदेशसभामा छलफल हुँदै छ । आचार्यले शुक्रबार प्रदेशसभामा पेश गरेको प्रस्ताव आइतबार मत विभाजन प्रक्रियाबाट टुंग्याउन लागिएको हो । 

प्रदेश १ का मुख्यमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुँदै

प्रदेशसभा सचिवालयले मुख्यमन्त्री आचार्यले सदनमा पेस गरेको प्रस्तावमाथि छलफल तथा मतविभाजन हुने कार्यसूची सार्वजनिक गरिसकेको छ ।

संविधानको धारा १८८(२) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२८ (४) बमोजिम परेको प्रस्तावमाथि छलफल एवं मतविभाजन हुने कार्यसूची प्रदेशसभाको वेबसाइटमा सार्वजनिक गरिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए । मुख्यमन्त्री आचार्यले सरकारले गरेको कामका बारेमा सदनलाई जानकारी गराएर विश्वासको मतको प्रस्ताव सदनमा छलफलका लागि प्रस्तुत गर्ने तयारी गरेका छन् । प्रस्तावमाथि छलफलपछि मतविभाजन प्रक्रियाबाट आएको परिणाम स्विकारेर अघि बढ्ने मुख्यमन्त्री आचार्यले बताएका हुन् ।

एमालेबाट मुख्यमन्त्री बनेका आचार्य आफूलाई विश्वासको मत दिन प्रमुख प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीका प्रदेश सांसदलाई फोनलगायत माध्यमबाट आग्रह गरिरहेका छन् ।

कांग्रेसका उपनेता हिमाल कार्कीले मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि आफूलगायत दलका प्रदेश सांसदहरूलाई फोन गरेको बताए । यसबारे कांग्रेस नेता राजीव कोइरालाले आफ्नो पार्टी फुट्नबाट जोगाउन नसक्नेले प्रमुख प्रतिपक्षी दलका सांसदलाई जस्तोसुकै प्रलोभन देखाए पनि प्रभावमा पार्न नसक्ने प्रतिक्रिया दिए । ‘आफ्नो दलका सांसदलाई समेट्न नसक्नेले अन्य दलका सांसदको समर्थन पाउने आश गर्नु गलत हो,’ उनले भने ।

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्थाविपरीत आचार्यले ४३औं दिनमा शुक्रबार प्रस्ताव पेस गरेका छन् ।

निर्वाचन आयोगले प्रदेश १ का एमालेका १० जना सांसद नेकपा (एकीकृत समाजवादी)मा गएको निर्णय भदौ २५ गते गरेको थियो । उक्त निर्णयअनुसार मुख्यमन्त्रीले असोज २३ गतेभित्रै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो । एकल बहुमत रहेको एमाले विभाजनपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका हुन् ।

मुख्यमन्त्री आचार्यविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसदको समर्थन आवश्यक पर्छ । ९२ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १/१ जना प्रदेश सांसद छन् । एमालेका प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् ।

प्रकाशित : कार्तिक ७, २०७८ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?