कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

गठबन्धनकै कारण देश दुर्घटना हुनबाट जोगियो : यादव

शिव पुरी

रौतहट — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक गठबन्धनले देशलाई ठूलो दुर्घटनाबाट बचाएको बताएका छन् । उनको भनाइ थियो,‘गठबन्धनकै कारण आज देश दुर्घटना हुनबाट जोगियो ।’

गठबन्धनकै कारण देश दुर्घटना हुनबाट जोगियो : यादव

जिल्लाको यमुनामाई गाउँपालिकास्थित सुकदेव चोकमा शनिबार आयोजित पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले लोकतान्त्रिक संघीय गणतन्त्रलाई कमजोर बनाउने, समावेशीतालाई कमजोर बनाउने, संसद् र संवैधानिक निकायलाई कब्जा गर्ने, निर्वाचन आयोग कब्जा गरी स्वेच्छाचारी ढंगबाट शासन चलाउने केपी शर्मा ओलीको गलत मानसिकतालाई विफल पार्दै अहिलेको लोकतान्त्रिक गठबन्धनले सरकार गठन गरेर देशलाई ठूलो दुर्घटनाबाट जोगाएको दाबी गरे । निर्धारित समयभन्दा निकै ढिला गरी सुरु भएको कार्यक्रममा विभिन्न पाटी परित्याग गरी आएकाहरुलाई नेता यादवले फूल लगाएर स्वागत गरेका थिए ।

‘संघीय शासन व्यवस्थालाई धरापमा पार्ने षड्यन्त्र तत्कालीन प्रधानमन्त्री ओलीले गरेको र षड्यन्त्रलाई लोकतान्त्रिक गठबन्धनले बिफल पारेर संसद्‌लाई जोगाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ,’उनले भने,‘देशको संघीय लोकतन्त्रलाई बचाउनु वर्तमान लोकतान्त्रिक गठबन्धनको दायित्व पनि हो । यो सरकारले लोकतन्त्रको रक्षाको लागी सबै खाले नीति अपनाउँछ ।’ नेता यादवले जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्ने पहल गरी नेता महन्थ ठाकुरलाई प्रधानन्त्री बनाउने अभियानमा लाग्दा अहिले आएर घरको न घाटको हुन पुगेको सुनाए । ‘प्रतिगमनको मतियार बनेका ठाकुरजी मधेसको मागलाई बेवास्ता गर्दै ओलीको काखमा गएर बस्नु भयो,’उनले भने,‘अहिले न यता न उताको बन्नु भयो ।’

किसानलाई व्यवस्थित एवं बजारीकरण गर्न आधुनिक कृषि प्रणाली माथि उनले जोड दिए । ठूलो संख्यामा युवायुवतीहरु रोजीरोटीको खोजीमा कतार, मलेसिया, दुवई लगायतका मुलुकमा गएकाले स्वदेशमै रोजगारीको व्यवस्था गर्न सके बिदेशिनु पर्ने अवस्था नआउने नेता यादबको भनाइ थियो ।

कार्यक्रम प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले परम्परागत पार्टीबाट हुने गरेको भेद्‌भाव, छुवाछूतबाट जोगिने एकमात्र दल जसपा नेपाल रहेको दाबी गरे ।

कार्यक्रममा सहभागी हुन गाउँ/गाउँबाट भारतीय नम्बर प्लेटका जिपहरु लिएर नेता कार्यकर्ताहरु सभास्थल आएका थिए । त्यस्तै भारतीय नम्बर प्लेटका मोटरसाइकलको पनि ताँती लागेको थियो ।

प्रकाशित : कार्तिक ६, २०७८ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?