एमालेको रावल समूहलाई नेपालको व्यंग्य- १० बुँदे भन्नेहरूको हरिबिजोग भयो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)बाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले विगतमा आफ्नै समूहमा रहेका तर १० बुँदेमा टेकेर एमालेमै बसेका नेताहरूप्रति व्यंग्य गरेका छन् ।

एमालेको रावल समूहलाई नेपालको व्यंग्य- १० बुँदे भन्नेहरूको हरिबिजोग भयो

सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा शनिबार अध्यक्ष नेपालले १० बुँदेमा टेकेर एमालेमै बसेका नेताहरूको हरिबिजोग भएको भन्दै व्यंग्य गरेका हुन् । एमालेमा बस्नका लागि अध्यक्ष केपी शर्मा ओलीको 'आदेश पालन' गर्नुपर्ने नभए कुनै मर्यादा नरहने नेपालको भनाइ थियो । 'एमालेमा आदेश पालन गर्‍यो भने बस्न पाउँछ, आदेशको पालन गरेन भने कति ट्याउँ ट्याउँ गरेको ? कति ट्याउँ ट्याउँ गरेको ? १० बुँदे, भनेर सुन्नुपर्छ,' अध्यक्ष नेपालले भने, 'सुन्नुभएको छैन १० बुँदेको ट्याउँ ट्याउँ । १० बुँदे भन्ने साथीहरूको कस्तो हरिबिजोग ।'

एमालेमा नेताहरूको कुनै मर्यादा र सम्भावना नभएको नेपालको भनाइ थियो । एमाले छलफलमा नभई आदेशमा चलेको अध्यक्ष नेपालको भनाइ थियो ।

एमालेलाई अहिलेको अवस्थामा पुर्‍याउन आफ्नो भूमिमा महत्वपूर्ण रहेको पनि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । 'त्यो पार्टी कसैले बनाएको होइन, हामीले बनाएका हौं । दाबाका साथ म भन्दै छु,' अहिले नेतृत्वमा रहेकाहरू ३१ सालमा कोअर्डिनेसन केन्द्रको दस्तावेज जारी गर्ने बेलामा, क्रान्तिकारी अपिल जारी गर्ने बेलामा कहाँ थिए भन्दै नेपालले थपे, 'कोअर्डिनेसन केन्द्रको केन्द्रीय कमिटी जारी गर्दाखेरि, पोलिटब्युरो घोषणा गर्दाखेरि त्यसबेलाका योद्धाहरूमध्ये अहिले पनि मुकुन्द न्यौपाने हाम्रो साथमा हुनुहुन्छ, झलनाथ खनाल हाम्रो साथमा हुनुहुन्छ । म तपाईंहरूको साथमा छु । ३४ सालमा पुष्पलाल समूहबाट विद्रोह गरेर आएका जीवराज आश्रित हुनुहुन्न अहिले । मोदनाथ प्रश्रित हामीसँगै हुनुहुन्छ । मदन भण्डारी हुनुहुन्न ।'

जबजको सिर्जना मदन भण्डारीको अगुवाइमा आफूहरूले गरेको दाबी गर्दै नेपालले भने, 'मदन भण्डारीले अगाडि सार्नुभएको विचार जनताको बहुदलीय जनवाद त्यसको सिर्जना कसले गर्‍यो ? मदन भण्डारीको अगुवाइमा हाम्रो पार्टी नेकपा (एमाले)ले गरेको थियो, केपी ओली एन्ड कम्पनीले गरेको होइन ।'

असार २७ गते गरेको १० बुँदे सहमतिलाई लिएर शुक्रबारमात्रै एमालेको स्थायी कमिटीमा विवाद उत्पन्न भएको थियो । अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन जस्ताको तस्तै नहुने भन्ने जवाफ दिएपछि एमाले उपाध्यक्ष भीम रावलले ५ पन्ने फरक मत राखेका थिए । रावलले आफूहरूलाई पार्टीमा विभेद गरिएको आरोप लगाएका थिए । त्यसको भोलिपल्ट माधवकुमार नेपालले उनीहरूप्रति व्यंग्य गरेका हुन् ।

सम्बन्धित समाचारः

प्रकाशित : कार्तिक ६, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?