१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चीनले आफ्नो विकास मोडल निर्यात गर्दैन तर अनुभव बाँड्छ : चिनियाँ परराष्ट्रमन्त्री यी

निवर्तमान नेपाली राजदूत पाण्डे बिदाइ भेटमा व्यस्त
लक्ष्मी लम्साल

बेइजिङ — चीनका परराष्ट्रमन्त्री वाङ यीले चीनले आफ्नो विकास मोडल निर्यात नगर्ने तर नेपाल लगायत देशहरूसँग अनुभव साझा गर्न इच्छुक रहेको बताएका छन् ।

चीनले आफ्नो विकास मोडल निर्यात गर्दैन तर अनुभव बाँड्छ : चिनियाँ परराष्ट्रमन्त्री यी

बिहीबार निवर्तमान राजदूत महेन्द्रबहादुर पाण्डेसँगको बिदाइ भेटमा उनले भने, ‘चीनले विकास मोडल निर्यात गर्दैन, अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप पनि गर्दैन तर नेपाललगायत देशहरूसँग अनुभव बाँड्न र आदानप्रदानलाई सुदृढ गर्न इच्छुक छ।’

नेपाल सरकारको निर्णय बमोजिम बेइजिङ समयअनुसार मंगलबार राति नेपाल फर्किन लागेका पाण्डे बिदाइ भेटघाटमा व्यस्त भएका छन् । पछिल्लो पटक उनले चिनियाँ परराष्ट्रमन्त्री वाङ यीका साथै शाङहाइ सहयोग संगठनका अध्यक्ष लगायतसँग बिदाइ भेट गरेका हुन् । बेइजिङमा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेपालको राजनीतिक स्थायित्व, राष्ट्रिय एकता र जनताको सुख र विकासमा थप उपलब्धिको कामना गरेको पाण्डेले जानकारी दिए ।

वाङ यीसँगको भेटमा निवर्तमान राजदूत पाण्डेले कोभिड १९ महामारीविरूद्धको लडाइँमा चीनले हासिल गरेको सफलता र चीनको आर्थिक तथा सामाजिक विकासमा प्राप्त सफलताको साक्षी बन्न पाएकोमा सन्तुष्टि व्यक्त गरे । चिनियाँ कम्युनिष्ट पार्टीको बलियो नेतृत्व, वैज्ञानिक योजना र ‘जनता पहिले’ भन्ने शासकीय अवधारणा नेपाललगायत विकासोन्मुख देशका लागि सान्दर्भिक रहेको भन्दै पाण्डेले नेपाल र चीनबीचको मित्रता प्रवर्द्धन र ‘बेल्ट एण्ड रोड’ सहकार्यको संयुक्त निर्माणका लागि नेपाली पक्ष निरन्तर सहकार्य गर्न इच्छुक रहेको बताए। उनले भने, ‘अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा चीनले अझ ठूलो भूमिका खेल्नेछ भन्ने आशा र विश्वास छ।’

विदेशमन्त्री यीले नेपालको पूर्व परराष्ट्रमन्त्री तथा चीनका लागि राजदूतका रूपमा पाण्डेले चीन–नेपाल मित्रतामा सकारात्मक योगदान पुर्‍याएको भन्दै प्रशंसा गरे । उनले चीन र नेपालबीच पुस्तौंदेखिको मित्रता रहेको र दुई देशबीचको परम्परागत मित्रतालाई संयुक्त रुपमा अझ प्रगाढ बनाएको भन्दै महामारी विरुद्ध लड्न, द्विपक्षीय सम्बन्धमा निरन्तर नयाँ प्रगति प्रवर्द्धन गर्न र क्षेत्रीय शान्ति, स्थिरता र समृद्धि कायम गर्न दुवै पक्षले मिलेर काम गर्नुपर्ने बताएको चीनको परराष्ट्र मन्त्रालयको सार्वजनिक कूटनीति कार्यालयद्वारा जारी समाचारमा जनाइएको छ ।

निवर्तमान राजदूत पाण्डेले शाङहाइ सहयोग संगठनका महासचिव भ्लादिमिर नोरोभसँग बेइजिङमै भेटवार्ता गरेका हुन् । सन् २००१ मा शाङहाइमा स्थापना भएको यो संगठनको नेपाल ‘डायलग पार्टनर’ को रूपमा रहेको छ । नेपाल यो संगठनमा सक्रियतापूर्वक लागिरहेको बताउँदै नोरोभले नेपालका थिंक ट्यांक र योजनाविदहरूको ठोस विकास अवधारणाबारेमा जान्न खोजेको पाण्डेले कान्तिपुरलाई जानकारी दिए ।

यसैगरी पाण्डेले चीनको परराष्ट्र मन्त्रालय, एसियाली विभागका महानिर्देशक लिउ चिनसुङसँग बिदाइ भेट गरे । भेटमा पाण्डेले चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकी, गरिबी निवारण, विभिन्न प्रान्तको विकासको अनुभव गर्न पाएको बताउँदै यसबाट नेपालका लागि नयाँ विचार सिर्जना गर्न सघाएको टिप्पणी गरे । प्रत्युत्तरमा महानिर्देशक लिउले चीनले नजीकको छिमेकी नेपाललाई सानो ठूलो नभनीकन महत्व दिएको बताए ।

प्रकाशित : कार्तिक ६, २०७८ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?