१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

बेलायती महारानीका तर्फबाट राजदूत रेग्मीलाई बिदाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — आउँदो आइतबार नेपाल फर्कन लागेका बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई बेलायती महारानीका तर्फबाट बिदाइ गरिएको छ । महारानी एलिजावेथ द्वितीयाका प्रतिनिधि शुक्रबार अपरान्ह लन्डनस्थित नेपाली दूतावासमै गएर बिदाइ गरेका हुन् ।

बेलायती महारानीका तर्फबाट राजदूत रेग्मीलाई बिदाइ

गत मार्च १ बाट कार्यभार सम्हालेका रेग्मीलाई नेपाल सरकारले फिर्ता बोलाउने निर्णय गरेपछि उनी ८ महिना नपुग्दै नेपाल फर्किने तयारीमा छन् । महारानीको प्रतिनिधि ‘मार्सल अफ डिप्लोम्याटिक कोर्प्स’ विलियम एलिस्टर ह्यारिसन दूतावास आएर राजदूत रेग्मीको बिदाइ गर्दै उनले महारानीले हस्ताक्षर गरी पठाएको आफ्नो तस्बिरसमेत राजदूत रेग्मीलाई उपहारस्वरूप हस्तान्तरण गरे।

‘मार्सल अफ डिप्लोम्याटिक कोर्प्स’ बेलायती महारानीका ‘कूटनीतिक सम्बन्ध’ मा महारानीको प्रतिनिधित्व एवम् संयोजन गर्ने उच्च शाही अधिकारी हुन् ।

महारानीले रेग्मीलाई बिदाइ सन्देशसमेत पठाएकी छन् । सन्देशमा राजदूत रेग्मीले बेलायत आएर निर्वाह गरेका सम्पूर्ण भूमिकाका लागि धन्यवाद ज्ञापन गर्दै बेलायत तथा नेपालको ऐतिहासिक मैत्रीसम्बन्ध आगामी दिनमा थप मजबुत बन्दै जाने विश्वास व्यक्त गरिएको छ ।

राजदूत रेग्मीले पनि महारानीका प्रतिनिधमार्फत् आफ्नो तर्फबाट कृतज्ञता जाहेर गर्दै कोभिड महामारीका बेला नेपाललाई बेलायतबाट प्राप्त सहयोगका लागि धन्यवाद दिएका छन् । साथै, भूपू गोर्खाहरुको मुद्धामा हुन लागेको दुई देशबीचको वार्ता पनि सकारात्मक निष्कर्षमा पुग्ने आशा रेग्मीको छ ।

बेलायतको छोटो बसाइ आफ्नो लागि अमूल्य र अविस्मरणीय रहेको राजदूत रेग्मीको बुझाइ छ ।

प्रकाशित : कार्तिक ६, २०७८ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?