१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

लुम्बिनीमा स्क्रब टाइफस र डेंगुका बिरामी बढ्दै

दैनिक भर्ना हुने ज्वरोका १० बालबालिकामध्ये ३ जनामा लक्षण

लुम्बिनी, पाल्पा — लुम्बिनी प्रदेशमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । दुवै रोगमा भाइरल र कोरोना जस्तै ज्वरो आउने लक्षण हुन्छ । लुम्बिनी अस्पतालमा आउने ठूला उमेरका बिरामीभन्दा बालबालिकामा स्क्रब टाइफस बढी देखिएको छ ।

लुम्बिनीमा स्क्रब टाइफस र डेंगुका बिरामी बढ्दै

दैनिक भर्ना हुने ज्वरोका १० बालबालिकामध्ये ३ जनामा स्क्रब टाइफस देखा पर्ने गरेको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा. नेत्र रानाले बताए । उनका अनुसार यो संख्या विगतका तुलनामा बढिरहेको छ ।

बालबालिका घरबाहिर झार भएका स्थानमा खेल्दा किराले टोके पनि वास्ता नगर्ने र थाहा पाइहाले धपाउन वा मार्न नसक्ने हुन्छन् । अहिले स्क्रब टाइफस देखापर्ने मौसमसमेत मिलेकाले यसको जोखिम बढ्दै गएको डा. रानाले बताए । बालबालिकामा डेंगुको तुलनामा स्क्रब टाइफस बढी छ । मुसामा पाइने माइट नामक परजीवीको टोकाइबाट मानिसमा स्क्रब टाइफस रोग सर्छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. सुदर्शन थापाका अनुसार स्क्रब टाइफस संक्रमणका बिरामीलाई टाउको तथा मांसपेशी दुख्ने, ज्वरो आउने, पखाला लाग्ने, परजीवीले टोकेको ठाउँमा घाउ देखिनेलगायतका लक्षण देखा पर्छ । उपचारमा ढिलाइ गरे ज्यानै जान सक्ने खतरा हुन्छ । डेंगु दिउँसो सक्रिय हुने एडिस जातको लामखुट्टेले टोकेमा हुने गर्छ । डेंगुको लक्षण पनि उच्च ज्वरो, शरीर दुख्ने नै हुन् ।

बर्दियाको गुलरिया अस्पतालमा असोजको अन्तिमसम्म ३ जना डेंगु र १ जना स्क्रब टाइफसका बिरामी उपचाररत थिए । उनीहरू भर्ना भई उपचार गरेको र अहिले नयाँ बिरामी नआएको अस्पतालका मेडिकल रेकर्डर शान्तप्रसाद जोशीले बताए । किट अभावले सबै जिल्लामा परीक्षण हुँदैन । शंकास्पद बिरामीमध्ये मिल्दोजुल्दो लक्षण भएकालाई बुटवलमा पठाउने गरिएको अस्पतालहरूले जनाएका छन् ।

अस्पतालमै हुने अर्ली वार्निङ एन्ड रिपोर्टिङ सिस्टम (इवास) मार्फत मुख्य रोगहरूका बारेमा दैनिक तथ्यांक राख्ने चलन रहेको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनी प्रदेशका प्रवक्ता डा. पुष्पराज पौडेलले बताए । ‘अस्पतालले सुविधा अनुसार उपचार गर्ने वा रेफर गर्ने गरिरहेका छन्,’ उनले भने, ‘डेंगु र स्क्रब टाइफसका बिरामी भए पनि आत्तिहाल्ने अवस्था नआएकाले मन्त्रालयमा तथ्यांक संकलन नभएको हो ।’ उनले अस्पतालसँगको परामर्शमा सरुवा र तुरुन्तातुरुन्तै जानकारी लिनुपर्ने रोगका बारेमा सूचना आदानप्रदान हुने गरेको जनाए ।

पहाडी जिल्लामा पनि स्क्रब टाइफस र डेंगुका बिरामी बढेका छन् । पाल्पा, गुल्मी, अर्घाखाँचीमा त्यस्ता रोगका बिरामी बढ्दै गएका हुन् । तीन जिल्लाबाट पाल्पाका लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालमा उपचार गराउन आउनेको तथ्यांकले बिरामी बढेको पुष्टि गरेको सम्बन्धित अस्पतालले जनाएका छन् ।

गत आवमा ४ सय ३ स्क्रब टाइफसका बिरामीले मिसन अस्पतालमा मात्र उपचार गराएका थिए । मिसन अस्पतालका मेडिकल रेकर्डर अफिसर द्रोणाचार्य भुसालका अनुसार १ सय ८३ जनाले भर्ना भएर उपचार गराएका थिए । गत साउनदेखि असोज मसान्तसम्म तीन महिनाको अवधिमा स्क्रब टाइफसका ७ सय १० बिरामी अस्पतालमा आएका छन् । १ हजार ८ सय ४७ जनाको परीक्षण गर्दा ७ सय १० जनामा पोजिटिभ देखिएको हो ।

साउनदेखि असोजसम्म २ सय ८६ जना स्क्रब टाइफसका बिरामीको भर्ना भएर उपचार गरिएको छ । मिसन अस्पतालमा डेंगुका बिरामी पनि आउने गरेका छन् । गत आवमा १ सय १९ जनाको परीक्षण गर्दा एक जनामा मात्र डेंगु पोजिटिभ देखिएको थियो । गत साउनदेखि असोज मसान्तसम्म डेंगुका ५१ जना बिरामीको उपचार गरिएको मिसन अस्पतालले जनाएको छ । जसमा २२ जनालाई भर्ना गरेर उपचार गरिएको भुसालले बताए । ८ सय ८ जनाको डेंगु परीक्षण भएको छ । ‘विशेष गरी पाल्पा, गुल्मी, अर्घाखाँचीलगायतका जिल्लाबाट बिरामी आउने गर्छन्,’ उनले भने, ‘त्यसैले पनि तथ्यांक धेरै हुन्छ ।’

पछिल्लो समय मुसा र उपियाँले टोक्दा लाग्ने स्क्रब टाइफस रोगको संक्रमण फैलिएको चिकित्सकले बताएका छन् । लुम्बिनी मेडिकल कलेजमा डेंगुका बिरामी उपचार गर्न आएको तथ्यांक देखिएन । अघिल्लो आवमा स्क्रब टाइफससका ८६ जना बिरामी भर्ना भएर उपचार गराएका थिए । साउनदेखि असोज मसान्तसम्म १६ जना भर्ना भएर उपचार गराएको सूचना अधिकारी कृष्णप्रसाद पराजुलीले बताए । ‘डेंगुका भर्ना भएर उपचार गरेको देखिएन,’ उनले भने, ‘भर्ना भएका बिरामीको मात्र तथ्यांक भएकाले अन्य बिरामी पनि हुने सम्भावना बढी छ ।’

स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरीले भने स्क्रब टाइफस र डेंगुका बिरामीको तथ्यांक नै नभएको बताए । तानसेन नगरपालिकाका स्वास्थ्य शाखाका शिरबहादुर रानाका अनुसार गत वर्ष स्क्रब टाइफसको ५ सय किट खरिद गरेर लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल र पाल्पा अस्पतालमा वितरण गरिएको थियो ।

स्वास्थ्य बिमामा समेत स्क्रब टाइफस र डेंगुका किटको रकम दाबी गर्न पाइँदैन । त्यसैले बिरामीले १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म तिरेर परीक्षण गर्नुपर्छ । लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालमा गत जेठदेखि असोजसम्म स्क्रब टाइफसका बिरामीको उपचार बढी भएको देखिन्छ । ‘यस वर्ष स्क्रब टाइफसबाट मृत्यु भएको भन्ने थाहा छैन,’ स्वास्थ्य कार्यालयका प्रमुख चौधरीले भने, ‘केही दिनअघि डेंगुबाट मृत्यु भएको भन्ने सुनिएको छ ।’ बाहिरी जिल्लाका पनि उपचारका लागि आउने भएकाले तथ्यांक धेरै देखिएको हुन सक्ने उनले बताए ।

डेंगुले रम्भा गाउँपालिका–१, हुँगी पाल्पाका एक जनप्रतिनिधिको मृत्यु भएको छ । वडा सदस्य हुमबहादुर सिञ्जालीको डेंगुबाट मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ५७ वर्षीय सिञ्जालीको उपचारका क्रममा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा मृत्यु भएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । उनको अन्तिम अवस्थामा मात्र रोग पहिचान भएको हो । उनको कात्तिक २ गते मृत्यु भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।

प्रकाशित : कार्तिक ६, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?