१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

काठमाडौं पुगेपछि राहतको निर्णय गर्नेछु : प्रधानमन्त्री देउवा

मोहन बुडाऐर

धनगढी — प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं फर्किएपछि बाढीपहिरोबाट भएको क्षतिको विवरण संकलन गरी पीडितहरुलाई राहत र क्षतिपुर्तिको निर्णय गर्ने बताएका छन् ।

काठमाडौं पुगेपछि राहतको निर्णय गर्नेछु : प्रधानमन्त्री देउवा

साथै बाढीबाट नष्ट भएका भौतिक संरचनाका सम्बन्धमा अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा गरी कार्यान्वयन गरिने उनको भनाइ थियो । सुदूरपश्चिमका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको क्षतिको स्थलगत र हवाई निरीक्षण गरी धनगढी फर्किएका प्रधानमन्त्री देउवाले शुक्रबार पत्रकारहरुसँगको भेटमा यस्तो बताएका हुन् ।

‘अब म देशका अन्य प्रभावित ठाउँमा पनि पुगेर अवस्था निरीक्षण गर्नेछु' उनले भने । प्रधानमन्त्री देउवाले धानवाली बाढीले डुबाएर खेतैमा कुहिने अवस्थामा पुगेको उल्लेख गर्दै किसानका लागि सरकारले उचित राहतको व्यवस्था गर्ने बताए ।

फरक प्रसंगमा उनले आउँदो बैसाखसम्म देशभरी सबैलाई कोरोना विरुद्धको खोप लगाइसक्ने बताए । उनले सुदूरपश्चिमका ठूला आयोजना पञ्चेश्वर र पश्चिम सेती सुरु गर्ने गरी छलफल अघि बढिरहेको पनि बताए ।

एमसीसी संसद्‍बाट पास हुने ठोकुवा गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी सरकारबाट अनुदानका रुपमा प्राप्त हुने सहयोगबारे झुठो प्रचार गरिएको बताए । ‘यो अनुदान सहयोग हो, ऋण होइन, सहयोग कार्यान्वयन गर्न नेपालको कानुन लागू हुन्छ‘ प्रधानमन्त्रीले भने, 'कुनै विवाद आएमा अन्तर्राष्ट्रिय अदालतमा जान सकिन्छ ।'

प्रधानमन्त्री देउवाले पार्टीको स्थगित निर्वाचन कहिले हुने भन्ने विषय निर्वाचन समितिले टुंगो लगाउने बताए । अर्ली इलेक्सन र सुदूरपश्चिम प्रदेश सरकारका बारेमा पत्रकारहरुको जिज्ञासामा देउवाले सरकारले गठबन्धन दलको छलफल र निर्णयबाट मात्र आवश्यक निर्णय गर्ने बताए ।

प्रकाशित : कार्तिक ५, २०७८ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?