२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

ओली १० बुँदे कार्यान्वयनमा असहमत, कार्यदल संयोजकबाट रावलले दिए राजीनामा

जयसिंह महरा

काठमाडौँ — एमालेको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले अनिच्छा देखाएपछि १० बुँदे सहमति कार्यान्वयन सम्बन्धी कार्यदलको संयोजकबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।

ओली १० बुँदे कार्यान्वयनमा असहमत, कार्यदल संयोजकबाट रावलले दिए राजीनामा

शुक्रबार ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा रावलले आफ्नो पाँच पृष्ठ लामो फरक मत प्रस्तुत गर्दै कार्यदल संयोजकमा नरहने जानकारी दिएका हुन् ।

'कार्यदलको प्रतिवेदन स्थायी कमिटीमा राखेको थिएँ । कार्यान्वयनको प्रस्ताव पनि गरेको थिएँ । राम्रो वातावरणमा छलफल भएको थियो तर निष्कर्ष सुनाउँदै गर्दा अध्यक्षले हाम्रा सबै छलफल, १० बुँदे सहमति, अन्तरपार्टी निर्देशिका-१२ भन्दा भिन्नै किसिमले १० बुँदे कार्यान्वयन नगर्ने दिशाबाट कुरा राखेको हुनाले सहमत हुन सकेन,' रावलले भने, 'त्यसकारण मैले ५ पृष्ठ लामो फरक मत दर्ज गरेको छु । कार्यदलमा यति लामो कुरा गर्दा पनि र 'भीम रावललाई नै जिम्मा छ नि कार्यान्वयन गरिहाल्छ नि !' भनेर कतिपय साथीहरूले सार्वजनिक रूपमा अन्तर्वार्ता दिने अनि कार्यदलमा भएका छलफल र निर्णयसमेत मान्य नहुने भएपछि कार्यदलमा बस्नुको कुनै औचित्य नभएको हुनाले राजीनामा दिने घोषणा बैठकमा गरेको छु ।'

उपाध्यक्ष रावलले पेस गरेको फरक मतमा उपमहासचिव घनश्याम भुसालले पनि सहमति गरेको बताइएको छ । 'मेरो फरक मतका ५-६ बुँदामा मेरो पनि सहमति छ भनेर उपमहासचिव घनश्याम भुसालले भन्नुभएको छ,' रावलले भने ।

असार २७ गते एमाले विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदलले १० बुँदे सहमति गरेको थियो । एमाले विभाजन हुने क्रममा सोही कार्यदलमा टेकेर तत्कालीन माधवकुमार नेपाल पक्षमा रहेका १० स्थायी कमिटी सदस्यहरू एमालेमै रहेका थिए । तर, उक्त सहमतिलाई पछिल्लो समय अध्यक्ष ओलीले नै औचित्यहिन बताउँदै आएका थिए ।

प्रकाशित : कार्तिक ५, २०७८ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?