२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

स्पेनले दिएको बुद्धमूर्ति नेपाल भित्र्याइयो

माधव ढुंगाना

भैरहवा — स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनले नेपाललाई उपलब्ध गराएको बुद्धमूर्ति नेपाल ल्याइएको छ । यो मूर्ति भैरहवास्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिनेछ ।

स्पेनले दिएको बुद्धमूर्ति नेपाल भित्र्याइयो


म्यान्मारमा निर्माण गरिएको मूर्ति हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा ल्याइएको हो । बिहीबार भैरहवा भन्सार परिसरमा आइपुगेको मूर्तिको शुक्रबार भन्सार प्रक्रिया सबै पूरा गरिएको छ । मूर्तिको भन्सार महशुल १ लाख ५७ हजार ५ सय ८३ रुपैयाँ लागेको छ ।

उक्त मूर्ति करिब २ अर्ब ५० करोड रुपैयाँ लागतमा तयार भएको बताइएको छ । मूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालवीन ग्रुपले तयार पारी स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनलाई दिएको थियो । फाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापनाका लागि नेपाल सरकारलाई हस्तान्तरण गर्न यहाँ ल्याएको हो ।

लुम्बिनी गार्डेन फाउण्डेसन, नेपालका सचिव तुलसीराम लामिछानेले बुद्धमूर्ति बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनेको र करिब २ अर्ब ५० करोड रुपैयाँ लागत रहेको बताए । करिब ६ महिना लगाएर म्यानमारका भिक्षुहरुले मूर्ति कुदेका थिए । शनिबार उक्त मूर्ति भैरहवा भन्सार कार्यालय परिसरबाट निकालेर भैरहवा–लुम्बिनी क्षेत्र परिक्रमा गराई निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइने छ ।

यही कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्ध विमानस्थलमा मूर्तिको अनावरण गर्ने कार्यक्रम तय गरिएको छ । यसअघि कात्तिक १३ गते लुम्बिनीको मायादेवी मन्दिरमा दीप प्रज्ज्वलनसहित शान्तिको कामना गर्न स्पेनका सभामुखको नेतृत्वमा विशेष प्रतिनिधिमण्डल नेपाल आउने कार्यक्रम तय भइसकेको लामिछानेले जनाए ।

प्रकाशित : कार्तिक ५, २०७८ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?