साल्ट ट्रेडिङको भिजेको मल भन्सार कार्यालयद्वारा जफत

शंकर आचार्य

पर्सा — १४ महिनाअघि सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको साल्ट ट्रेडिङ कर्पोरेशनको भिजेको मल भन्सार कार्यालयले जफत गरेको छ । बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकृत चुडामणि शर्मा कट्टेलका अनुसार १ हजार २ सय २५ टन डिएपी मल आयातकर्ताले लामो समयदेखि गोदाममा थन्काएको थियो । तर उक्त मल त्यसै बिग्रिने भएपछि कार्यालयले जफत गरेको हो ।

साल्ट ट्रेडिङको भिजेको मल भन्सार कार्यालयद्वारा जफत


‘भन्सारले उक्त मल जफत गरेको छ, मलको गुणस्तर अब खराब भइसकेको छ,’ कट्टेलले भने, ‘सम्बन्धित पार्टीले अब मल लग्छन् जस्तो लाग्दैन, धेरैजसो मल माटोमा मिलिसकेको छ, पार्टीले मल छोडेको जस्तो छ ।’

यसअघि कार्यालयले सम्बन्धित पार्टीलाई उक्त मल नष्ट गर्नका लागि उपस्थित हुन पटक-पटक पत्राचारसमेत गरिसकेको उनले बताए । भन्सार ऐन अनुसार उक्त मल नष्ट गर्न सम्बन्धित पार्टीको उपस्थिति हुनुपर्ने र त्यति बेला मुचुल्का पनि तयार गर्नुपर्ने हुन्छ । तर जफत गरिसकेपछि नष्ट गर्न समस्या नहुने बताइन्छ ।

भन्सार कार्यालयले उक्त कन्साइन्मेन्टको करिब १ हजार २ सय २५ टन डिएपी मल भिजेर उपयोग विहीन अवस्थामै आएकाले उक्त परिमाणको मल जफत गरेर नष्ट गर्ने निर्णय यसअघि नै गरिसकेको कट्टेलले बताए । त्यस कारण अब कार्यालयले यो मल माटोमा पुर्ने मनस्थिति बनाएको उनले बताए ।

स्विस सिंगापुर ओभरसिज सप्लायर रहेको तथा जोर्डनबाट खरिद गरी ल्याइएको डिएपी मल भारतको कोलकाता बन्दरगाहबाट ल्याइएको थियो । समुद्री मार्गमै रहँदा २०२० को अगष्टको दोश्रो साता बंगालको खाडीमा आएको ‘अफान’ नामक समुन्द्री आँधीको चपेटमा उक्त मल बोकेको पानी जहाज परेको थियो । पानी जहाजमै रहँदा उक्त मलमा पानी पसेर मल भिजेको थियो । भिजेको मल सप्लायरले वीरगन्जसम्म ल्याएपछि त्यति बेला भने सुक्खा बन्दरगाह भन्सार कार्यालयले जाँचपास गर्न मानेको थिएन ।

हाल बन्दरगाहको गोदाममा थन्किएर बसेको उक्त मलको कारण गोदाममा समस्यासमेत भइरहेको कट्टेलले बताए । साल्ट ट्रेडिङले त्यति बेला कुल २५ हजार मेटन डिएपी मल आयात गरेकोमा त्यसमध्ये पछिल्लो लटको २ वटा रेल्वे र्‍याकको मलमा यो समस्या देखिएको थियो । उसको अन्तिम २ वटा रेल्वे र्‍याकमा आएको २ हजार ५ सय टनमध्ये आधा अर्थात् १ हजार २ सय २५ टन डिएपी मल काम नलाग्ने थियो । पछि कृषि मन्त्रालयले तोकेको सर्वेयर र आयातकर्ता ठेकेदार कम्पनीले तोकेका बिमा कम्पनीका कर्मचारीसमेतको टोलीले उक्त भिजेको मल छुट्याएको थियो ।

प्रकाशित : कार्तिक ५, २०७८ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?