स्वास्थ्य मन्त्रालय भन्छ- ‘कोरोना संक्रमण उकालो लागिहालेको छैन’

बुनु थारु

काठमाडौँ — नेपालमा कोरोना संक्रमितहरुको संख्यामा केही वृद्धि भएको देखिए पनि संक्रमणको अवस्था उकालो नलागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बताएकाे छ ।

स्वास्थ्य मन्त्रालय भन्छ- ‘कोरोना संक्रमण उकालो लागिहालेको छैन’

असोज २७ गते ५ हजार ५९४ जनाको परीक्षणमा ३६५ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । कुल संक्रमण दर ६.५२ रहेको थियो । त्यसैगरी सकृय संक्रमित १४ हजार २६७ रहेको थियो । कात्तिक २ गते भने ९ हजार ९१६ जनाको कुल परीक्षणमा कोरोनाको नयाँ संक्रमित १ हजार ९६ जना भेटिए । कुल संक्रमण दर ११.०५ प्रतिशत पुगेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांक हेर्ने हो भने कुल संक्रमण दर ६.३७ रहेको छ । शुक्रबार नयाँ संक्रमित ७०५ जना थपिएका छन् जसमा ९ हजार ३७६ जनाको पीसीआर र एन्टिजेन परीक्षण भएको थियो । कुल संक्रमण दर ७.५१ रहेको छ । हाल देशभर सकृय संक्रमितको संख्या १० हजार ९४६ रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडलले थाेरै समयकाे तथ्यांकले अहिले नै कोरोना संक्रमणको अवस्थाका बारेमा निर्क्योल गर्न नसकिने बताए । उनी भन्छन्–‘शुक्रबार हेर्दा ९ हजार हाराहारीको परीक्षणमा लगभग ८ प्रतिशत भित्र छ कुल संक्रमण दर । केश अलि थोरै बढेको जस्तो देखिन्छ तर त्यस्तो एकदम बढी देखिन्न । केही दिनको ट्रेन्ड हेरौँ । तर हामी सतर्क त हुनैपर्छ किनकि मानिसहरुको आवतजावत बढेको छ संक्रमणको जोखिम बढ्न सक्छ । धेरै ठाउँमा स्वास्थ्यका मापदण्ड पालना भएका छैनन् । त्यो डर छ ।’

उनले संक्रमणको अवस्था उकालो लागि नहालेको बताउँदै तिहार छठसम्मको अवस्था हेरेर ट्रेन्ड कहाँ पुग्यो भनेर भन्न सकिने बताए । ‘हामीले संक्रमणको अवस्था निगरानी गर्न पोजिटिभ स्याम्पलहरुलाई सिक्वेन्सिङ पनि जारी राखेका छौँ,’उनले भने ।

४ जिल्लामा ५०० बढी सक्रिय संक्रमित

५०० भन्दा बढी सकृय संक्रमित रहने जिल्ला कम देखिएको । हाल काठमाडौँ, भक्तपुर र ललितपुर तथा कास्की गरी ४ जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या ५०० माथि छ । १ महिनाअगाडी १३ वटा जिल्लामा संकृय संक्रमितको संख्या धेरै थियो । काठमाडौँ उपत्यकामा सकृय संक्रमितको संख्या २ हजार ४४६ रहेको छ । देशभरी २७९ जना आइसियू तथा ९१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी अस्पतालहरुमा पनि कोभिडको बिरामीको चाप त्यति देखिएको छैन । शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा २३ जना एचडियुमा कोरोना संक्रमितहरु उपचार गराइरहेका छन् । ५ जना आइसियू तथा १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना एचडियुमा उपचाररत छन् भने ११ जना आइसियू र ७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । खोप अभियान सुरु भएदेखि हालसम्म १ करोड ५१ लख ४० हजार ५११ जनाले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।

प्रकाशित : कार्तिक ५, २०७८ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?