१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

शासकलाई गिनिज बुकमा नाम लेखाउने रहर चढ्दा ३ वर्ष खेर फाल्यौं : सांसद थापा 

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सांसद गगन थापाले मुलुकमा स्थायित्वका लागि प्राप्त अवसर खेर गएको बताएका छन् । पछिल्लो पटक २०७४ सालको निर्वाचनपछि मुलुकमा राजनीतिक र अन्य क्षेत्रमा स्थायित्वका लागि प्राप्त अवसर शासकका कारण गुमेको बताएका हुन् । 

शासकलाई गिनिज बुकमा नाम लेखाउने रहर चढ्दा ३ वर्ष खेर फाल्यौं : सांसद थापा 

नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको कार्यक्रममा थापाले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सांसद थापाले भने, ' २०६२ सालमा आन्दोलन भयो । त्यसमा हामी सहभागी भएर आएका छौं । १०-१२ वर्ष राजनीतिक संक्रमणको चरणमा गयो । व्यवस्थापनमा गयो । २०७४ सालमा चुनाव भयो । हामी हार्‍यौं । एउटा राजनीतिक दल चुनाव कहिले जित्छ कहिले हार्छ कुनै ठूलो कुरा भएन । तर लामो समयको अनुभव पछाडि संविधान ल्याएर नयाँ चरणमा प्रवेश गर्‍यौं भनेपछि फेरि नेपालले अर्को मौका पाएको फेरि २०७४ सालबाट एउटा सन्काहा शासकलाई गिनिज बुकमा नाम लेखाउने रहर चढ्दा तीन वर्ष खेर गयो ।'

सरकारको नेतृत्व गरेको बेला आफूले अभूतपूर्व काम गरेको अभिव्यक्ति केही दिन पहिले ओलीले अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, 'एकैचोटि हामीले ३९६ वटा अस्पतालको एकैदिन एकैपटक शिलान्यास गरेका छौँ । विश्व रेकर्ड हो यो । गिनिज बुकमा यस्ता त कति लेखे हुन्छ हामीले त दाबी नगरेर मात्र हो । गिनिज बुक आधा त हामीले गरेका कामले भरिन्छ । हामी यस्तो ज्याद्रो मान्छे हौँ, दुई पटक किड्नी फेरेको प्रधानमन्त्री नेपालमा बाहेक कहीँ पाइँदैन । यहीँबाट थाहा पाउनुहोस् न कहीँ पाइँदै पाइँदैन । दुई पटक किड्नी फेरेर पनि उस्ताको उस्तै हुने दुनियाँमा सायद यहीँ हुन्छ । यो एमाले हो के ।' ओलीको यो अभिव्यक्तिलाई लिएर थापाले कटाक्ष गरेका हुन् ।

यी हुन् ओलीका गिनिज बुक रेकर्ड : भट्टराई

सरकार र प्रत्येक क्षेत्र नयाँ चरणमा जान्छन् भन्ने अपेक्षा गरेकोमा खेर गएको थापाको भनाइ थियो । अहिले नयाँ सरकार आएको र त्यसले नयाँ ढंगमा जाने बताए । ५ वर्षका लागि सरकार बनेको छ र यो अभूतपूर्व सरकार हो, बीपी कोइरालाले नपाएको अवसर यो ओली सरकारले पाएकोमा सही दिशामा नगएको उनको भनाइ थियो ।

देश विकासका लागि कम राजनीतिक दल र बलियो प्रधानमन्त्री चाहिन्छ भन्ने भनाइ गलत सावित भएको थापाले बताए । उनले अहिलेको निर्वाचन प्रणालीबाट एउटै दलको बहुमत नआउने अवस्था हुनसक्ने भन्दै सम्हालिएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

२००७ र २०७४ सालको उपलब्धि खेर गएको र फेरि नयाँ उपलब्धि खेर जाने हो कि भन्ने आफूलाई लागेको थापाको भनाइ थियो । उनले आर्थिक विकासमा सरकार अगाडि बढ्नुपर्ने बताए ।

थापाले अहिले आएको अवसर खेर जाने हो कि भन्ने डर लागेको बताए । अहिलेको राजनीतिक नेतृत्वले सम्हालिनुपर्ने पनि धारणा राखे ।

विश्वको अर्थतन्त्र चीन र भारतमा केन्द्रित भएको अवस्थामा नेपालले त्यसबाट लाभ लिनुपर्ने थापाको भनाइ छ । त्यसबाट फाइदा लिन सकिएन भने पछि परिने पनि उनले बताए ।

प्रकाशित : कार्तिक ५, २०७८ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?