२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

निर्मला-नन्कुन्नी प्रकरण: अनुसन्धानको गाइडलाइन तयार पार्न छानबिन समितिको बैठक बस्यो

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँके परसपुरकी निर्मला कुर्मीलाई १२ वर्षदेखि ‘बेपत्ता पारिएको’ र नवाजी गाउँकी नन्कुन्नी मृत्यु प्रकरणबारे सरकारले गठन गरेको छानबिन समितिको बैठक बसेको छ । समितिका सदस्य रहेका राष्ट्रिय अनुसन्धानका उपनिर्देशक वीरेन्द्रसिंह कार्की शुक्रबार बिहान नेपालगन्ज आएपछि समितिको बैठक बसेको हो ।

समितिको बैठकले दुवै घटनाको छानबिनका लागि गाइडलाइन तयार पार्ने छ । त्यससँगै घटनासँग सम्बन्धित व्यक्तिहरुको नामावली तयार उनीहरुलाई भेट्ने, स्थानीय तथा प्रत्यक्षदर्शीहरुसँग छलफल तथा सुरक्षा अधिकारीहरुसँग छलफल गर्ने जनाइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्यामबहादुर खड्काले छानबिन समितिको बैठक जिल्ला प्रशासन कार्यालयमा बसेको बताए । उनका अनुसार समितिको बैठकले दुई घटनाको छानबिनका लागि आधार तयार पार्नेछ । त्यस्तै समितिका पदाधिकारीहरुले प्रहरी कार्यालयमा निर्मला र नन्कुन्नीबारे दर्ता भएका मुद्दा, अनुसन्धानको विधि र प्रक्रियाहरू बुझ्ने बताइएको छ । निर्मला कुर्मीको नेपालगन्ज–१७ परस्पुरमामा रहेको ४ बिघा १३ कठ्ठा जग्गा हडपन हत्या गरेको दाबी अधिकारकर्मीहरुको छ । उनका श्रीमान् र दुई छोराको मृत्यु भएपछि निर्मलाको जग्गा हडपन षड्यन्त्र गरिएको बताइएको छ ।

गत साउनमा नवाजी गाउँस्थित आफ्नै घरैमा मृत भेटिएकी नन्कुन्नी र १२ वर्षदेखि बेपत्ता पारिएकी भनिएकी निर्मलाको हत्या भएको दाबीसहिति अधिकारकर्मी रुबी खानको नेतृत्वमा संघर्ष सुरु गरिएको थियो । तर सुनुवाइ नभएपछि नेपालगन्जबाट २० दिन पैदल हिँडेर काठमाडौं पुगेर माइतीघरमा दैनिक धर्ना दिइएको थियो । चर्को दबाबपछि बल्ल सरकारले छानबिन समिति गठन गरेको हो ।

प्रकाशित : कार्तिक ५, २०७८ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?