महाधिवेशन तयारीमा जुट्यौं : चितवन एमाले

रमेशकुमार पौडेल

चितवन — पार्टी स्थायी समिति बैठकले १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरे लगत्तै एमाले चितवन कार्य समितिले शुक्रबार बिहान भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर आफूहरू तयारीमा जुटिसकेको जानकारी दिएको छ ।

महाधिवेशन तयारीमा जुट्यौं : चितवन एमाले

जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले वाग्मती प्रदेश समिति अध्यक्ष आनन्द पोख्रेलले प्रदेश समितिको माग बमोजिम स्थायी समितिले निर्णय गरेको भन्दै धन्यवाद दिए ।

‘हामीले बुधबार मात्रै महाधिवेशन चितवनमा गर्न सिफारिस गरेका थियौं । त्यसैका आधारमा बिहीबार स्थायी समितिले निर्णय गरेको छ । यो खुसीको कुरा हो,’ प्रदेश अध्यक्ष पोखरेलले भने । एमाले चितवन अध्यक्ष दिलकुमारी रावल थापाले महाधिवेशनको तयारीमा आफूहरू जुटेको बताइन् । महाधिवेशनले राजनैतिक गतिविधि बढाउने र आर्थिक पक्षलाई पनि टेवा दिने भएका कारण जिल्लाका लागि अवसर भएको उनले बताइन् ।

प्रदेश अध्यक्ष पोखरेलले देशको केन्द्रमा रहेका कारण महाधिवेशन गर्नका लागि चितवन उपयुक्त भएको धारणा राखे । मंसिर १० देखि १२ गतेसम्म महाधिवेशन गर्ने मिति तय भएको छ । विधान अधिवेशन सकिएका कारण अहिलेको अधिवेशन नेतृत्व चयन गर्न केन्द्रित हुने उनले बताए । उद्घाटन कार्यक्रममा पाँच लाख सर्वसाधरण उतार्ने तयारी रहेको उनले बताए । बन्दसत्रमा कम्तिमा तीन हजार प्रतिनिधिले भाग लिने छन् ।

‘उद्घाटनसत्र नारायणगढ नारायणी किनारमा गर्ने कि भन्ने छ । पूर्वी चितवनमा पनि गर्न सकिन्छ । बन्दसत्रका लागि विशेष स्थान चाहिन्छ । तीन हजार बढी प्रतिनिधिहरू अट्ने ठाउँ खोज्दै छौं । भरतपुरमा पनि केही पूर्वाधारहरू छन् । ती प्रयोग हुन सक्छन् । हामी खोजबिन मै छौं । केही दिनमा टुङ्ग्याउने छौं,’ पोखरेलले भने । चितवन देश/विदेशमा परिचित पर्यटकीयस्थल भएका कारण बास बस्ने समस्या भने नहुने उनले बताए ।

‘देशभरका प्रतिनिधिहरू यहाँ आउँदैछन् । चितवन आफै|मा पर्यटकीय क्षेत्र हो । यसले यहाँको पर्यटनलाई पनि टेवा दिने छ,’ पोखरेलले भने । पार्टीले महाधिवेशनको व्यवस्थापनका लागि रामबहादुर थापा बादललाई संयोजक तोकिएको छ । नेकपाअघि माओवादीमा रहेका थापा पार्टी अध्यक्ष ओलीलाई साथ दिँदै हाल एमालमै छन् । उनको गृह जिल्ला पनि चितवन नै हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि चितवनकै हुन् ।

दाहालको निर्वाचन क्षेत्र पनि चितवन नै हो । अधिवेशनले सक्षम नेतृत्व चयन गर्ने र ७४ सालको निर्वाचनमा भन्दा पनि धेरै संख्यामा सिटहरू जित्ने एमालेको वाग्मती प्रदेश अध्यक्ष पोखरेलले बताए । ‘यो बीचमा पार्टीमा धेरै उतार चढावहरू आए । एकाता अन्तर्विरोध चल्यो । केही साथीहरू पार्टी छाडेर जानु भएको छ । यो अवस्थामा हुने अधिवेशनले पार्टीलाई झनै बलियो बनाएर लानेछ,’ पोखरेलले भने ।

पार्टी विभाजन भएर माधव नेपाल समूहले नेकपा एकिकृत समाजवादी गठन गरे पनि तुलनात्मक रुपमा कम असर परेको जिल्ला चितवन हो । पत्रकार सम्मेलनमा माओवादीसँग एकीकरणअघि साविक एमालेको जिल्ला नेतृत्वमा रहेका अध्यक्ष कृष्णभक्त पोखरेल, उपाध्यक्ष तेजेन्द्र खड्का लगायत पनि उपस्थित थिए ।

प्रकाशित : कार्तिक ५, २०७८ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?