१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कूटनीतिक नियोगमा पहिलोपटक ‘ई–सेन्सस’

वैदेशिक रोजगारी र अध्ययन गर्न गएकाको तथ्यांक परिवारबाट लिइने
गणेश राई

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले पहिलोपटक विदेशस्थित ४० कूटनीतिक नियोगमा ‘ई–सेन्सस’ (अनलाइनबाट जनगणना) गर्ने भएको छ । त्यसका निम्ति प्रत्येक नियोगमा एक कर्मचारीलाई सम्पर्क व्यक्ति तोकिनेछ । 

कूटनीतिक नियोगमा पहिलोपटक ‘ई–सेन्सस’

कात्तिक २५ देखि मंसिर ९ सम्म हुने १२ औं राष्ट्रिय जनगणनाका लागि यस्तो पहल गरिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए ।

विभिन्न ३० मुलुकमा नेपाली दूतावास छन् । त्यसबाहेक न्युयोर्क, जेनेभा, भियनामा स्थायी नियोग छन् । नेपाली महावाणिज्य दूतावास ल्हासा, कोलकाता, हङकङ, जेहाद, न्युयोर्क, भियना, ग्वान्जाओ र छेन्दुमा रहेका छन् । ‘तोकिएका सम्पर्क व्यक्तिलाई भर्चुअल माध्यमबाट तालिम दिइनेछ,’ लामिछानेले भने, ‘ती नियोगमा रहेका कर्मचारी र त्यहीं रहेका परिवारको गणना हुनेछ । वेब एप्लिकेसन्समार्फत सम्पर्क व्यक्तिले डाटा इन्ट्री गर्नेछन् ।’

कूटनीतिक नियोगमा कार्यरतलाई मूली, परिवार संख्या, शिक्षा, अध्ययन क्षेत्र, प्रजननसम्बन्धी प्रश्न सोध्नुका साथै कोही अपांगता भए त्यसबारे पनि खुलाइनेछ । कार्यरत मुलुक, कामको विवरण, पद आर्थिक कामको संस्थागत क्षेत्र पनि उल्लेख गरिनेछ । वैदेशिक रोजगारी र अध्ययन गर्न गएका नागरिकको विवरण भने स्वदेशमा रहेका घरपरिवारबाट लिइनेछ । विदेशमै स्थायी बसोबास गर्ने नेपालीबारे भने तथ्यांकमा उल्लेख नहुने जनाइएको छ । तथ्यांकीय सिद्धान्तअनुसार ६ महिनाभन्दा बढी घर छाडेर अन्यत्र जाने परिवारका सदस्यलाई ‘अनुपस्थित जनसंख्या’ मानिन्छ ।

तथ्यांकशास्त्री तुङ्ग शिरोमणि बाँस्तोलाका अनुसार १९९८ सालमा भएको चौथो जनगणनामा पहिलोपटक जीविकाका लागि मुग्लान गएका भनेर विदेशमा जानेहरूको संख्या उल्लेख गरिएको थियो । उनले त्यतिखेर ८१ हजार ७ सय २२ जना विदेश गएको तथ्यांक आफ्नो पुस्तक ‘जनगन्तीका सय वर्ष’ मा उल्लेख गरेका छन् । १९६८ सालदेखि हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । सातौं, आठौं र नवौं राष्ट्रिय जनगणनामा विदेशमा रहेकाहरूको तथ्यांक उल्लेख छैन । २०५८ सालको १० औं जनगणनादेखि पुनः विदेश गएकोहरूको तथ्यांक राख्न थालिएको हो ।

२०६८ को जनगणनाले विदेशमा रहेकाहरूको जनसंख्या १९ लाख २१ हजार ४ सय ९४ देखाएको थियो । यो संख्या वैदेशिक रोजगारी र अध्ययन गर्न जानेको हो, जुन कुल जनसंख्याको ७ दशमलव ३ प्रतिशत थियो । पछिल्लो तथ्यांकले सबैभन्दा धेरै गुल्मी, अर्घाखाँची र प्यूठानको (४४ दशमलव ८१ प्रतिशत) जनसंख्या विदेशमा रहेको देखाएको छ ।

प्रकाशित : कार्तिक ५, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?