कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निर्मला र नन्कुन्नी प्रकरण : छानबिन समिति नेपालगन्जमा

अनुसन्धान कसरी गर्नेबारे अनौपचारिक छलफल, शुक्रबार काम थाल्ने
ठाकुरसिंह थारु

नेपालगन्ज — बाँके नवाजीकी नन्कुन्नी धोबीको हत्या र परस्पुरकी निर्मला कुर्मी १२ वर्षदेखि बेपत्ता भएको घटनाबारे अध्ययन गर्न सरकारले गठन गरेको छानबिन समिति नेपालगन्ज आइपुगेको छ । गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मी संयोजकत्वको टोली बिहीबार दिउँसो आइपुगेको हो । 

संयोजक रेग्मी र सदस्यहरू नेपाल प्रहरीका उपरीक्षक रामप्रकाश साह, कानुनका उपसचिव रामप्रसाद लम्साल, आन्दोलनरत पक्षका तर्फबाट मोहम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत अमर सिलवालबीच अनौपचारिक छलफल भएको छ । दुवै घटनाको अनुसन्धान कसरी र कहाँबाट सुरु गर्नेबारे उनीहरूबीच छलफल भएको हो ।

समितिका सदस्य राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक वीरेन्द्रसिंह कार्की आइनपुगेका कारण अनौपचारिक छलफल गरिएको संयोजक रेग्मीले बताए । ‘भोलि शुक्रबार ११ बजे बिहानसम्म उपनिर्देशक कार्की आइपुग्ने कुरा छ, उहाँ आएपछि समितिको औपचारिक बैठक हुन्छ । बैठकबाट गाइडलाइन बनाएर काम गर्छौं,’ रेग्मीले भने, ‘बिहीबार साँझ औपचारिक छलफल गर्ने भनिएको थियो । एक जना सदस्यको अनुपस्थितिमा त्यो सम्भव हुन सकेन ।’

गत साउनमा नवाजी गाउँस्थित आफ्नै घरमा मृत भेटिएकी नन्कुन्नी र १२ वर्षदेखि बेपत्ता पारिएको भनिएकी निर्मलाको हत्या भएको दाबीसहित अधिकारकर्मी रुबी खानको नेतृत्वमा संघर्ष सुरु गरिएको थियो । सुरुमा अधिकारकर्मीहरूले नन्कुन्नीको आत्महत्या नभई हत्या भएको भन्दै बाँके प्रहरीमा उजुरी दर्ता गराउने प्रयास गरेका थिए ।

प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि रुबी खानकै नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा धर्ना सुरु गरिएको थियो । त्यहाँ पनि सुनुवाइ नभएपछि नेपालगन्जबाट २० दिन पैदल हिँडेर उनीहरू काठमाडौं पुगे र माइतीघर मण्डलमा धर्ना दिएका थिए । चर्को दबाबपछि सरकारले छानबिन समिति गठन गरेको हो । ‘छानबिन समिति नेपालगन्ज आइसकेको छ, शुक्रबारबाट काम सुरु गर्छौं,’ आन्दोलनरत पक्षबाट समितिको सदस्य रहेका मोहम्मद शेर बागवानले भने, ‘मलाई पूरा विश्वास छ, समितिले आन्दोलनरत पक्षले उठाएको मागअनुसार काम गर्नेछ ।’

छानबिन समितिले बाँकेका सुरक्षा अधिकारी, सरकारी वकिल, निर्मला र नन्कुन्नीका छरछिमेकीलगायतलाई भेट्नेछ । त्यस्तै, निर्मलाका सम्बन्धमा दायर गरिएको मुद्दा, मुद्दाको अवस्था र निर्मलाको नाममा रहेको करोडौंको जग्गा कसरी अरूको नाममा गयो भन्नेबारे पनि विस्तृत अध्ययन गर्नेछ । समितिले दुवै घटनाको विस्तृत अध्ययन गरी एक साताभित्रै प्रतिवेदन सरकारलाई बुझाउने जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खड्काले छानबिन समिति नेपालगन्ज आइसकेको जानकारी पाएको तर भेट नभएको बताए । शुक्रबार छलफल गरेर अनुसन्धान सुरु गर्न समितिलाई सघाउने उनले जनाए ।

जानकी गाउँपालिका–२ नवाजीकी नन्कुन्नी २०७८ साउन ६ मा घरमै मृत अवस्थामा भेटिएकी थिइन् । श्रीमान् रामकुमार धोबीले यातना दिएपछि न्यायका लागि नन्कुन्नीले पटक–पटक प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

महिला सेल र प्रहरी कार्यालयमा पटक–पटक छलफल पनि भएको थियो । नन्कुन्नी र रामकुमारबीच कुटपिट हुने र प्रहरीमा छलफलपछि मेलमिलाप गर्ने काम दर्जनौं पटक भयो । मृत्यु हुनुअघि पनि नन्कुन्नीले आफ्नो ज्यानको सुरक्षाका लागि प्रहरीमा निवेदन दिएकी थिइन् । निर्मलालाई भने नेपालगन्ज–१७ परस्पुरमा रहेको ४ बिघा १३ कट्ठा जग्गा हडप्न बेपत्ता पारिएको दाबी अधिकारकर्मीहरूको छ ।

प्रकाशित : कार्तिक ५, २०७८ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?