कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोजर चलाउँदा बझाङको डिक्लामा पहिरो

‘सडक खन्दा निस्किएको ढुंगा, माटो र गाउँका मान्छेले ढुंगा निकाल्दा निस्किएको माटो त्यहीं थुपारिएको थियो । त्यही ढिस्कोबाट पहिरो खस्दा यस्तो विपत्ति आइलाग्यो ।’
वसन्तप्रताप सिंह

बझाङ — अविरल वर्षापछि आएको पहिरोले ठूलो मानवीय क्षति पुर्‍याउँदा थलारा गाउँपालिकाको डिक्ला गाउँ शोकमा डुबेको छ । सोमबार रातिको पहिरोले वडा–४ मा रहेको डिक्लामा दुई परिवारका २३ जना बेपत्ता भएका थिए । दुई बालकको शव भेटिए पनि २१ जना अझै फेला पर्न सकेका छैनन् । उनीहरूको खोजीका लागि सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । 

डोजर चलाउँदा बझाङको डिक्लामा पहिरो

पहिरोमा गगने सार्कीको एकै घरका १८ जना र नरे पार्कीको परिवारका ५ जना बेपत्ता थिए । पहिरोमा परी सर्वस्व गुमाएका यी दुई परिवारका दुई जना भने बाँच्न सफल भएका छन् । गाउँबाट करिब १ किलोमिटर माथि रहेको बझाङ–चैनपुर–दिपायल सडक खण्डको ढोगदिना भन्ने ठाउँबाट पहिरो खसेको थियो ।

‘सडक खन्दा निस्किएको ढुंगा, माटो र गाउँका मान्छेले ढुंगा निकाल्दा निस्किएको माटो त्यहीं थुपारिएको थियो । त्यही ढिस्कोबाट पहिरो खस्दा यस्तो विपत्ति आइलाग्यो,’ ६३ वर्षका स्थानीय कृपाराम जोशीले भने । गाउँकै सिरानमा डोजर चलाएका कारण पहिरो गएको स्थानीय शिक्षक मदनबहादुर साउदले बताए । ‘विकास गर्नेले बुद्धि नपुर्‍याउँदा आज यस्तो हविगत भयो । अब त गाउँ नै जोखिममा परेको छ,’ उनले भने ।

पहिरो गएपछि करिब १ सय ७८ परिवारको बसोबास रहेको तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँबीचमा ठूलो धाँजा फाटेको छ । सरस्वती आधारभूत विद्यालयका सबै भवन पहिरोको कम्पनले भत्किएका छन् । विभिन्न ठाउँमा जमिन भासिएपछि पूरै गाउँ बगाउने डरले विस्थापित भएका १ सय ४८ परिवार अझै त्रासमा छन् । ‘ठाउँठाउँमा धाँजा परेका छन् । गाउँले सबै एकै चिहान हुन्छन् कि भन्ने डरले निद्रा पर्न छाडेको छ,’ चाखुडी विकले भनिन्, ‘सोमबार रातिदेखि राम्रोसँग सुत्न, खान पाएका छैनौं ।’

बुधबार र बिहीबार मौसममा सुधार भएपछि विस्थापितमध्ये धेरैजसो परिवार घर फर्किन थालेको वडाध्यक्ष विष्णु विष्टले बताए । ‘पहिरोको जोखिम कायमै भए पनि पानी रोकिएपछि विस्थापितहरू घर फर्किन थालेका छन्,’ उनले भने, ‘पालमा बस्दा बालबच्चा बिरामी हुन थालेपछि जोखिम उठाएरै भए पनि घरमै बस्न थालेका हुन् ।’ बेमौसमी वर्षापछि आएको पहिरोले पालिकाभरि नै क्षति पुर्‍याएको र त्यसको तथ्यांक संकलन भइरहेको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । विस्थापित परिवारको पुनःस्थापनाका लागि पालिकाले काम गरिरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री आकाशबाटै फर्किएपछि पीडित असन्तुष्ट

बेमौसमी विपद्का कारण भएको क्षतिको प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार हवाई निरीक्षण गरे । अवलोकनपछि प्रधानमन्त्रीसहितको टोली सेनाको पानकोटस्थित ब्यारेकमा अवतरण गरेको थियो ।जिल्ला विपद् व्यवस्थापन समिति संयोजकसमेत रहेका प्रजिअ मोहन अधिकारी, कांग्रेसमहाधिवेशन प्रतिनिधि चेतराज बजालले क्षतिको लिखित विवरण बुझाएका थिए । क्षतिको विवरण सुनिसकेपछि करिब १ मिनेट बोलेका प्रधानमन्त्री देउवाले जिल्ला भएको क्षतिप्रति दुःख व्यक्त गरेका थिए । उनले उद्धार, राहत तथा पुनःस्थापनाका कामका लागि सरकारले काम गर्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने आश्वासन दिए ।

उद्धारको काम छाडेर प्रधानमन्त्रीको स्वागतमा जुटेका पहिरोपीडितहरू प्रधानमन्त्रीको टोलीले आकाशबाट निरीक्षण गरेर फर्किएपछि निराश भएका छन् । प्रधानमन्त्री आउने जानकारी पाएपछि उद्धारका लागि डिक्ला पुगेका सुरक्षाकर्मी पनि हेलिप्याड बनाउन र प्रधानमन्त्रीको सुरक्षा व्यवस्था मिलाउन व्यस्त भएका कारण बिहीबार बेपत्ताको खोजी कार्य प्रभावित भएको थियो । ‘आफूहरु प्रधानमन्त्रीलाई आफ्ना समस्या सुनाउन तयार भएर बसेका थियौं,’ पीडित रत्ना विकले भनिन्, ‘हामीले हेलिकोप्टर मात्रै देख्यौं, प्रधानमन्त्रीलाई देखेनौं ।’

प्रजिअ अधिकारीले भने प्रधानमन्त्री सवार हेलिकोप्टरले डिक्लामा अवतरणको प्रयास गरे पनि कठिनाइ भएपछि टोलीले हवाई निरीक्षण गरेर फर्किएको जानकारी आएको बताए । बझाङमा बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ भने २१ जना अझै बेपत्ता छन् । खप्तडछान्ना गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ । डाँडाबाट पहिरो खसेर घर पुरिँदा खप्तडछान्नाको माझीगाउँका ४५ वर्षीय भर्मराज रोकाया र उनकी ४१ वर्षीया पत्नी जैसरा रोकाया, कालुखेतीका ४७ वर्षीय बिरु गिरी र उनकी ४५ वर्षीया पत्नी चन्द्रा गिरी तथा खप्तडछान्ना पाटादेवलका धनराज जोशीको मृत्यु भएको हो । अर्का मृतकको पहिचान खुलेको छैन । छबिसपाथीभेरा–२ मुम्लामा खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु भएको छ ।

प्रकाशित : कार्तिक ५, २०७८ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?