कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नन्कुन्नी-निर्मला प्रकरण : नेपालगन्ज पुग्यो छानबिन समिति 

कान्तिपुर संवाददाता

काठमाडौँ — बाँकेका नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानबिन गर्न बनेको सरकारी टोली नेपालगन्ज पुगेको छ ।

महिला अधिकारकर्मी र आफन्तको ५२ दिने संघर्षपछि सरकारले गत साउनमा घरैमा मृत भेटिएकी धोबी र वेपत्ता रहेकी कुर्मीका सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मी संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समिति गठनसँगै अधिकारकर्मी र आफन्तले आन्दोलन स्थगित गरेका थिए । छानबिन समितिका संयोजक रेग्मीले टोलीका सबै सदस्यहरु नेपालगन्ज पुगेको बताए । ‘हामी आज यहाँ आयौँ । अब काम थाल्छौँ । ७ दिनको समय हामीलाई दिइएको छ, त्यहीअनुसार के–के गर्ने ? कसरी काम गर्ने ? भन्ने विषयमा एकमत बनाएर काम थाल्छौँ,’ उनले भने ।

रेग्मी नेतृत्वको छानबिन समितिमा नेपाल प्रहरीका उपरीक्षक रामप्रकाश साह, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक विरेन्द्रसिंह कार्की, कानुनका उपसचिव रामप्रसाद लम्साल, आन्दोलनरत पक्षका तर्फबाट मोहम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत प्रतिनिधि सदस्य छन् ।

धोबी र कुर्मीलाई महिला भएकै कारण अन्याय गरिएको र उनीहरुको मृत्यु तथा बेपत्ता भएको भन्दै त्यहाँका अधिकारकर्मी र आफन्तले १९ दिनसम्म बाँके प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए । त्यसपछि मुख्यमन्त्रीलाई भेटेर न्यायका लागि ध्यानाकर्षण गराएका थिए । तर, त्यत्ति गर्दा पनि आफूहरुको माग सुनुवाइ नभएको भन्दै २० दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगेका उनीहरुले १२ दिनसम्म माइतीघरबाट धर्ना दिए ।

आन्दोलनको नेतृत्व गरेकी रुबी खानले ११ दिनसम्म अनशन बसिन् । सरकारले छानबिन समिति बनाएपछि अधिकारकर्मी र आफन्तहरु पनि बुधबारै नेपालगन्ज फर्किएका छन् ।

प्रकाशित : कार्तिक ४, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?