कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुखमाथि दुर्व्यवहार

अजित तिवारी

जनकपुर — खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार भएको छ । सिके राउतको जनमत पार्टीका कार्यकर्ताले बिहीबार कार्यालयबाटै कुशवाहालाई बन्धक बनाएर दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका हुन् । 

खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुखमाथि दुर्व्यवहार


जनकपुरमा ढल निकासको उचित प्रबन्ध नगरेको झोंकमा सो पार्टीका करिब दुईसयको संख्यामा रहेका कार्यकर्ताले प्रमुख कुशवाहालाई पिराडी चोकस्थित कार्यालयमा पुगेर बन्धक बनाएका थिए । सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म परेको वर्षाले जनकपुर जलमग्‍न भएपछि राउत समर्थक कार्यकर्ताले खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख कुशवाहालाई नियन्त्रणमा लिएर आक्रोश पोखेका हुन् ।

आफ्नो कार्यकक्षमा बसिरहेका प्रमुख कुशवाहालाई लाठी र बाँसको भाटा बोकेर पुगेका राउत समर्थकले बन्धक बनाएर लछारपछार गर्दै जनकपुर घुमाएका थिए ।

सरकारी कार्यालयका प्रमुखलाई बन्धक बनाएर नगर घुमाइरहँदा प्रहरी भने प्रदर्शनकारीको अघिअघि मात्रै हिँडिरहेका थिए । ठूलो संख्यामा प्रहरी परिचालन गरिएपनि प्रमुख कुशवाहालाई राउत समर्थकले दुर्व्यवहार गरिरहे । प्रमुख कुशवाहाले लगाएको टिसर्ट पनि राउत समर्थकले च्यातिदिए ।

‘मलाई गोली ठोकेपनि केही बोल्दिनँ,’ पत्रकारसित बोल्न राउत समर्थकले दबाब दिएपछि प्रमुख कुशवाहाले रुदै यति मात्रै बोले । प्रमुख कुशवाहालाई राउत समर्थकले करिब १ घण्टा जनकपुर घुमाएर जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयनिर पुर्‍याएका थिए । त्यहाँ प्रहरीले प्रमुख कुशवाहालाई उनीहरुको कब्जाबाट थुतेर उपमहानगरपालिकाको कार्यालयभित्र लगेर सुरक्षित गरेका थिए । ‘सरकारी कार्यालयका प्रमुख कुशवाहालाई राउत समर्थकले सँगै घुमाएपछि प्रहरीले उनलाई सुरक्षित ठाउँमा राखेको छ,’ धनुषा प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले भने,‘कार्यालय प्रमुखलाई दुर्व्यवहार गर्ने १० जना राउत समर्थकलाई पक्राउ गरिएको छ ।’

जनमत पार्टीले जनकपुर सहरलाई व्यवस्थित, ढल निकासको उचित प्रबन्ध, फोहर व्यवस्थापन लगायतका माग गर्दै साताअघि खानेपानी तथा ढल निकास कार्यालय, जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय लगायतका सरकारी निकायमा ज्ञापनपत्र बुझाएको थियो । केही समययता जनमत पार्टीले भ्रष्टाचार, अनियमितता, विकासमा बेथिती, सेवाग्राहीले सरकारी कार्यालयमा पाउने सास्ती लगायतका मुद्दामा लगातार प्रदर्शन गरिरहेको छ ।

प्रकाशित : कार्तिक ४, २०७८ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?