उन्नतितर्फ राराको पर्यटन

स्थानीयले मुर्माटपलाई पोखराको सराङकोटको संज्ञा दिने गरेका छन् । त्यसैअनुसार काठमाडौं, पोखराका व्यवसायीदेखि गैरआवासीय नेपालीले समेत होटलका लागि यहाँ जमिन किनेका छन् ।

मुर्मागाउँ, मुगु — केही वर्षयता रारा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ । आन्तरिक पर्यटकको आकर्षण ह्वात्तै बढेपछि स्थानीय हौसिएका छन् । तिनैमध्येका एक हुन्– मुर्मागाउँका युवा देवीकृष्ण रोकाया । उनी ३७२६ मिटर उचाइको मुर्माटपमा रिसोर्ट बनाउन व्यस्त छन् ।

उन्नतितर्फ राराको पर्यटन

उनलाई सघाइरहेका छन्– बुबा धनसिंह रोकायाले । उनी बनिरहेको रिसोर्ट देखभालमा व्यस्त छन् । नयाँ वर्षमा पाहुनालाई नयाँ रिसोर्टमा स्वागत गर्ने उनीहरूको ध्येय छ । पहिलो चरणमा सुविधायुक्त आठ कोठाको रारा इको रिसोर्ट सञ्चालन हुनेछ । दोस्रो चरणमा त्यसलाई १६ कोठामा विस्तार गर्ने योजना छ ।

मुर्माटपबाट समुद्री सतहदेखि २९९० मिटर उचाइको रारा ताल सर्लक्कै देखिन्छ । मुर्माटपमा बन्न लागेको यो नै पहिलो रिसोर्ट–होटल हो । त्यसो त तालछेउमा होटल चलाइरहेका मुगुका सांसद गोपाल बम र अर्का व्यवसायी राजु कार्कीलगायतले पनि होटलका लागि जमिन किनिसकेका छन् ।

मुर्माटपमै काठमाडौंका युवा उद्यमी अविशेष विक्रम शाहको समूहले पनि स्तरीय होटल सञ्चालनको तयारी गरेको छ ।‘छिट्टै होटलको संरचना बनाउन थाल्छौं,’ शाहले भने ।

तालछेउबाट कस्सिएर दुई–तीन घण्टा उकालो हिँडेपछि मुर्माटप पुगिन्छ । ताल र मुर्माटपको बीचमा सर्लक्क मिलेको मुर्मागाउँ छ । मुर्माटपको भ्यु टावरबाट अपि–सैपाल, छायानाथ, कान्जिरोवालगायत हिमशृंखला देख्न सकिन्छ ।

मुर्माटपमा हालसम्म होटल संरचना नबने पनि त्यहाँको खाली निजी जमिन भने सबै किनबेच भइसकेको छ । स्थानीयले मुर्माटपलाई पोखराको सराङकोटको संज्ञा दिने गरेका छन् । त्यसैअनुसार काठमाडौं, पोखराका व्यवसायीदेखि गैरआवासीय नेपालीले समेत होटलका लागि जमिन किनेको स्थानीयले सुनाए । देवीकृष्ण धेरैजसो नेपालगन्ज एयरपोर्ट राँझामा बस्छन् र एकै दिनमा काठमाडौं–पोखराबाट रारासम्म पर्यटक पुर्‍याउने मेलोमेसोमा व्यस्त हुन्छन् । काठमाडौंबाट मुगुको ताल्चा विमानस्थलसम्म सिधा उडान छैन । तर, पनि उनले पर्यटकीय सिजनमा काठमाडौंबाट उही दिन बेलुकी पर्यटकलाई रारा पुर्‍याइरहेका छन् । भर्खरै सुरु भएको नेपालगन्ज–पोखरा सिधा उडानलेसमेत यहाँ पर्यटक बढेको उनको अनुभव छ ।

राराका लागि असोजदेखि मंसिर–पुस मुख्य सिजन हो । नेपालगन्जबाट उनले पठाएका पाहुना साँझ उनीहरूको समूहले रारा ताल नजिकको माझघट्टमा चलाएको रारा होमस्टे (रारा इको रिसोर्ट) मा बास बस्न पुग्छन् । जहाँ मार्सी चामलको भात र स्थानीय सिमीको दालको स्वाद लिन पाइन्छ । ‘ताल्चा विमानस्थलमा अरू हिमाली जिल्लामा जस्तो हावा नचल्ने भएकाले दिउँसोको समयमा पनि उडान गर्न सकिन्छ,’ रोकायाले नेपालगन्जमा सुनाए, ‘त्यसैले काठमाडौं–पोखराबाट उही दिन पर्यटकलाई रारा पुर्‍याउन सम्भव भएको छ, काठमाडौंबाट सिधा उडान गर्न सकिने हो भने लागत पनि घट्छ र समय पनि बचत हुन्छ ।’

नेपालगन्जबाट निजी विमान कम्पनीहरूले ताल्चा उडान गर्छन् । समुद्री सतहबाट २७३५ मिटर उचाइको ताल्चा झरेर पैदल ४–५ घण्टा र गाडीबाट करिब डेढ घण्टामा रारा ताल पुग्न सकिन्छ । स्थानीयका अनुसार पछिल्लो समय नेपालगन्ज–सुर्खेत–कालीकोट हुँदै गाडीबाट रारा ताल जानेहरूको संख्या उकालो लागिरहेको छ । निजी सवारीसाधनबाट रारा जानेहरूको संख्या बाक्लिँदै छ । रारामा पर्यटक प्रवर्द्धनमा कर्णाली राजमार्गले धेरै सहयोग पुर्‍याएको बुझाइ स्थानीयको छ ।

रारा निकुञ्ज कार्यालयको तथ्यांकअनुसार कोभिड संक्रमण सुरु हुनुअघि ६ महिनामै करिब १० हजार आन्तरिक पर्यटक रारा पुगेका थिए । दुई वर्षअघि कर्णाली प्रदेशले रारामा पर्यटन प्रवर्द्धन गर्न विशेष अभियान नै अघि सारेको थियो । यो वर्ष साउनयता ९ सय नेपालीले रारा भ्रमण गरेका छन् । विदेशीको आगमन भने न्यून छ । यो बीचमा जम्मा ५ जना विदेशी रारा पुगेका छन् ।

रारा पर्यटकको चापअनुसार पर्याप्त र सुविधासम्पन्न होटल भने छैनन् । ‘घुम्नका लागि रारा राम्रो प्रोडक्ट त बन्यो,’ रारा निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत विष्णु थपलियाले कान्तिपुरसित भने, ‘गुणस्तरीय सुविधा उपलब्ध छैन, अब त्यसतिर ध्यान दिनुपर्ने देखिन्छ ।’ प्रकृतिले दिएको तालबाहेक अन्य पर्यटकीय सम्भावना भए पनि त्यसको विस्तार गर्नेतिर ध्यान नदिँदा पर्यटकलाई भुलाउन नसकिएको थपलियाको बुझाइ छ ।

‘कर्णालीको संस्कृति र रीतिरिवाजलाई प्रकृतिसँग जोडेर प्याकेज दिने हो भने अझ पर्यटन प्रवर्द्धन हुने देखिन्छ,’ उनले भने, ‘त्यसका लागि मध्यवर्ती क्षेत्रमा होटल विस्तार र निकुञ्जभित्र टेन्टेन्ट क्याम्प सञ्चालनमा ल्याउनुपर्छ ।’ केही समयअघि रारा पुगेका कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग पनि थपलियाले रारामा पर्यटक तान्न प्रदेशहरू र ठूला सहरसँगको सम्पर्कलाई ध्यान दिन सुझाएका थिए । ‘ताललाई मात्र होइन, उक्त क्षेत्रको लोपोन्मुख संस्कृति र खान्कीलाई प्रवर्द्धन गर्न सुझाएको थिएँ,’ उनले भने ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) बद्रीविनोद दाहालका अनुसार अहिले रारामा दैनिक करिब एक सयको हाराहारीमा आन्तरिक पर्यटक भित्रिन्छन् । दसैं, तिहार, नयाँ वर्ष र हिउँदमा त्यो संख्या झनै बढ्ने गरेको छ । तर, पर्याप्त होटल नहुँदा त्यहाँ पुग्ने पर्यटकहरूले समस्या व्यहोर्ने गरेका छन् । ‘त्यही भएर हामीले मध्यवर्ती क्षेत्रमा होटल विस्तार अभियानलाई जोड दिएका छौं,’ हुटुस्थित निकुञ्जको मुख्यालयमा दाहालले भने, ‘कोभिडलगायत कारणले जुन गतिमा काम हुनुपर्ने थियो, त्यसमा ब्रेक लाग्यो अब बिस्तारै त्यो अभियान अघि बढ्ने विश्वास छ ।’

हाल रारा तालछेउमा डाँफे र केही परको माझघट्टको होमस्टेबाहेक पर्यटकका लागि बास बस्ने किसिमका कुनै संरचना छैनन् । डाँफे होटलको म्याद सकिनै लाग्दा गत जेठमा तत्कालीन वनमन्त्री प्रेमबहादुर आलेले एकै पटक ५ वर्ष म्याद थपेका थिए, त्यसमाथि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । उक्त होटलका सञ्चालक सांसद गोपाल बम तालछेउका संरचना (नेपाली सेनाको गुल्म र निकुञ्ज कार्यालय) बाहिर सारिए होटल बाहिर सार्न तयार रहेको बताउँछन् । ‘सधैं होटल तालमै हुनुपर्छ भन्ने होइन,’ उनले भने, ‘बाहिरी क्षेत्र (मध्यवर्ती क्षेत्र) मा होटलका लागि जग्गा लिइसकेका छौं, हामी बाहिर सर्न तयार छौं ।’

मुर्माटपमै काठमाडौंका युवा उद्यमी अविशेषविक्रम शाहको समूहले पनि स्तरीय होटल खोल्न तयारी सुरु गरेको छ । ‘जग्गा खरिद भइसकेको छ, अब होटलको प्रक्रिया अघि बढाउँछौं,’ उनले भने ।

फाइल तस्बिर : अंगद ढकाल/कान्तिपुर

अहिले रारा भित्रिने धेरै पर्यटकलाई निकुञ्ज र नेपाली सेनाको गुल्मले पनि आश्रय दिने गरेका छन् । निकुञ्जको कोर एरियाबाहिरको सल्लेरी, झ्यारी र ताल्चा विमानस्थल क्षेत्रमा भने केही होटल सञ्चालनमा छन् । निकुञ्जका अनुसार कोर एरियाभित्रका पोइन्टहरूमा केही टी सप सञ्चालनमा छन् । वार्डेन दाहाल उच्चस्तरका पर्यटकलाई तान्ने हो भने सुविधायुक्त होटललगायतका संरचना विस्तारमा ढिलाइ गर्न नहुने बताउँछन् । निकुञ्जले मचान र दृश्यावलोकन क्षेत्र विस्तार गर्ने र पुल–पदमार्ग विस्तार र मर्मत कार्यलाई तीव्रता दिएको उनले जनाए । ‘त्योबाहेक स्थानीय सरकारसँग मिलेर संस्कृति संरक्षणसँगै पर्यटकीय गतिविधि गरिरहेका छौं,’ उनले भने, ‘होमस्टे सञ्चालनका लागि स्थानीयको क्षमता बढाउन जोड दिएका छौं ।’

निकुञ्जको गेस्ट हाउस भाडामा लिएर राजु कार्कीले चलाएको हेरिटेज होटल आगलागी भएपछि बन्द छ । उनले कोभिड संक्रमणकै बीचमा ताल्चा विमानस्थलमा रारा ट्राभलर होम सञ्चालनमा ल्याएका छन् । रारा जाने मुख्य बाटाहरूमा होटल चलाउन सकिए पनि पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने कार्कीको बुझाइ छ । ‘होटल सबै ताल आसपासमै हुनुपर्छ भन्ने होइन,’ उनले भने, ‘मुख्य कुरा सुविधा भएकाले निकुञ्जबाहिरको मध्यवर्ती क्षेत्रमा पनि होटल विस्तार गर्न सकिन्छ ।’

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि रारा ताल क्षेत्र र मुर्मा गाउँमा पर्यटन प्रवर्द्धनमा जोड दिएको देखिन्छ । मन्त्रालयले मुर्माका ७५ वटै घरमा होमस्टे चलाउन गत आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट छुट्याएको थियो । मन्त्रालयका सचिव मोहनदेव जोशीका अनुसार २०७६ मा १० वर्षे कर्णाली प्रदेशको पर्यटन गुरुयोजना स्वीकृत भएको छ । त्यसमा १० वटै जिल्लामा गरी १२ अर्ब रुपैयाँ खर्च गरिने उल्लेख छ । ‘पर्यटन प्रवर्द्धनका ९ वटा आयाम जस्तै– पर्यटन गन्तव्य विस्तार, संस्कृति संरक्षण र जीविकोपार्जनलगायत छन्,’ उनले भने, ‘रताल वरपर १३.५ किमिमा साइकल ट्र्याक बनाउन ४६ करोडको योजना स्वीकृत भएको छ ।’ भ्यु टावर, सेड बेन्च, डेक प्वाइन्ट, काठेपुललगायतका संरचना बनाउने योजना छन् ।

तर, जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकायाले ताल पर्ने छायानाथ रारा नगरपालिकाले चार वर्ष अवधिमा खासै चासो नदिएको आरोप लगाए । ‘प्रदेश सरकारले पदमार्ग सुधार र भ्यु टावरलगायतका संरचना बनाएको छ,’ रोकायाले भने, ‘नगरपालिकाले पर्यटकीय गतिविधि सञ्चालन गर्नेतिर ध्यान दिएन ।’ छायानाथ राराका नगर प्रमुख हरिजंग शाही भने बजेट विनियोजन गरे पनि संघ सरकारसँग समन्वय गर्नुपर्ने र निकुञ्ज ऐनलाई टेकेर काम गर्नुपर्दा केही कठिनाइ भएको बताउँछन् । तर, राराको फोहोर व्यवस्थापन र स्थानीय स्रोतको उपयोगमा विशेष ध्यान दिएको उनको भनाइ छ । उनले निकुञ्जबाहिरको सल्लेरी क्षेत्रमा होटल र अहिलेको विमानस्थल विस्तार गर्न सकिए पर्यटक अझ बढी भित्र्याउन सकिने बताए ।

केन्द्रको वन तथा वातावरण मन्त्रालयले पनि रारा निकुञ्जसहितका संरक्षित क्षेत्रमा प्रकृतिमा आधारित पर्यटन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । विश्व बैंकको सहयोगमा सञ्चालन हुने कार्यक्रमअन्तर्गत भौतिक संरचना निर्माण र होमस्टे तथा संस्कृति प्रवर्द्धनलगायत छन् । तीनवर्षे कार्यक्रमका लागि १४ करोड रुपैयाँ बजेट तय भए पनि कार्यक्रम स्वीकृत भइनसकेको दाहालले बताए । निकुञ्ज विभागका पूर्वमहानिर्देशक मनबहादुर खड्काले रारामा पर्यटन प्रवर्द्धनको सम्भावना भए पनि भौतिक संरचना अभाव भएको तर्कसहित प्रकृतिमा आधारित कार्यक्रमभित्र समेट्नुपर्ने बताए ।

प्रकाशित : कार्तिक ४, २०७८ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?