कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भोकभोकै स्कुलमा बास

‘खानेकुरा कहिले पाइन्छ, ठेगान छैन, अहिलेसम्म ज्यान भने बचेको छ’
कमल पन्थी

बर्दिया — कर्णालीको तटीय क्षेत्रका बाढीपीडितले दुई दिनयता खान पाएका छैनन् । घर डुबानमा परेपछि स्थानीय विद्यालयमा आश्रय लिइरहेका बालबालिका, वृद्धवृद्धालगायत सबै भोकै बस्न बाध्य भएका हुन् । 

भोकभोकै स्कुलमा बास

राजापुर–३ नंगापुरकी ईश्वरी झाले मंगलबार रातिदेखि घर डुबानमा परेकाले भोकै बस्नुपरेको बताइन् । ‘जेनतेन ज्यान जोगाएका छौं,’ उनले भनिन्, ‘स्थानीय सरकारले खानाका लागि कुनै पहल गरेको छैन, भोकै छौं ।’ गाउँमा मंगलबार दिउँसो कर्णाली नदी पसेको थियो । आश्रय लिएको विद्यालय परिसरमा पनि बाढी पसेकाले उनीहरू त्रसित छन् । झन्डै दुई सय परिवार विद्यालयमा रहेको दौलतपुरका जोगीलाल थारूले बताए ।

‘खानेकुरा कहिले पाइन्छ, ठेगान छैन,’ उनले भने, ‘अहिलेसम्म ज्यान भने बचेको छ ।’ यस क्षेत्रमा करिब ८ सय घर डुबानमा छन् । उनीहरूको रेखदेखका लागि प्रशासनले सुरक्षाकर्मी खटाएको छ । दौलतपुर, टिहुनीलगायत दर्जनौं गाउँ डुबानमा छन् ।

कर्णालीमा जलस्तर घट्दै गए पनि खेत र गाउँ डुबानमै रहेकाले फर्कने अवस्था नरहेको राजापुर नगरपालिकाकी उपप्रमुख मनकलाकुमारी चौधरीले बताइन् । ५ हजार मानिस बाढीबाट प्रभावित छन् । तीमध्ये १ हजार २ सय विस्थापित भएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । दुई हजार हेक्टर धान खेत डुबाएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ । धान उत्पादन राम्रो भए पनि बाढीले सबै नष्ट गरेको स्थानीय मुकेश थारूले बताए ।

पश्चिम नेपालको सबैभन्दा धेरै धान उत्पादन हुने राजापुरका किसान निराश छन् । सनकटीमा तटबन्ध भासिएका कारण राजापुर क्षेत्रको १, २ र ३ नम्बर वडा डुबानमा परेको वडा १ का अध्यक्ष रमण रेग्मीले बताए । कर्णालीमा पानीको बहाव कम भए पनि गाउँमा पसेको बाढी सुक्न करिब एक साता लाग्ने अनुमान गरिएको उनले जनाए ।

राजापुरको सत्तीघाट हुँदै कैलालीको टीकापुर जोड्ने सडक जलमग्न भएका कारण यातायात सम्पर्क विच्छेद भएको छ । सडक भासिएको र बगाएको छ । सडक नदीजस्तै बनेको छ । त्यस्तै कैलाली जोड्ने एकमात्र जलमार्ग दौलतपुर घाटबाट स्टिमरसमेत बन्द भएको छ । हाइटेन्सन लाइन बगाएपछि मंगलबार रातिदेखि राजापुर नगर र गेरुवा गाउँपालिकामा विद्युत् आपूर्ति ठप्प भएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताए ।

प्रकाशित : कार्तिक ४, २०७८ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?