२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
पुरातात्त्विक सम्पदाको बेवास्ता

दरबार क्षेत्र मासेर वडा कार्यालय

कीर्तिपुर नगरपालिकाले वडा कार्यालय भवनका लागि टेन्डर आह्वान गरेपछि विरोधमा स्थानीय, प्राचीन रुपमै लायकु दरबार बनाउन माग
दामोदर न्यौपाने

काठमाडौँ — कीर्तिपुर नगरपालिकाले ऐतिहासिक लायकु दरबार (राजदरबार) को भग्नावशेष भएको ठाउँमा वडा कार्यालयको भवन बनाउने प्रक्रिया अघि बढाएको छ । स्थानीय बासिन्दा भने दरबार क्षेत्र मास्न नहुने बरु प्राचीन रूपमै लायकु दरबार बनाउनुपर्ने मागसहित विरोधमा उत्रिएका छन् । 

दरबार क्षेत्र मासेर वडा कार्यालय

नगरपालिका कार्यालयले गत साउन २२ मा ‘लायकु’ निर्माण गर्ने भनेर टेन्डर आह्वान गरेको थियो । ऐतिहासिक दरबार रहेको ठाउँको साटो तलेजु भवानीको पूजा गरिँदै आएको क्षेत्रलाई क्षति पुग्ने गरी संरचना बनाउन लागेको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएपछि साउन २८ मा सच्याउँदै वडा नं. १ को कार्यालय भवन निर्माणको टेन्डर आह्वानसम्बन्धी सूचना निकालिएको थियो ।

पछिल्लो सूचनापछि स्थानीय झन् आक्रोशित भएका छन् । सम्पदा संरक्षण अभियन्ताले समेत लायकुलाई प्राचीन रूपमै बनाउनुपर्नेमा जोड दिइरहेका छन् । ‘लायकु बनाउने हो भने पहिला जुन ठाउँमा थियो, त्यहीँ बनाउनुपर्छ,’ ल्हाः चिं मुंका पुचः का संयोजक बुद्धिलाल ज्यापूले भने, ‘हामी लायकुलाई लायकुकै रूपमा निर्माण हुनुपर्छ भनेर सशक्त आवाज उठाउँछौं ।’

नगरपालिका उपप्रमुख सरस्वती खड्काले दरबार बनाउने भन्ने सूचना सम्प्रेषण भएकामा त्यसलाई पछि सच्याइएको बताइन् । ‘वडा कार्यालय भवन दरबार रहेको ठाउँमा नभई पानी ट्यांकी भएको स्थानमा बनाउन लागिएको हो । दरबार पछि बनाउने हो,’ उनले भनिन्, ‘वडा कार्यालय भवन दरबारकै शैलीमा बनाउन लागिएको हो ।’ उनले उत्खनन गर्न पुरातत्त्व विभागसँग कुराकानी भइरहेको जानकारी दिइन् ।

‘पुरातत्त्वको टोलीले एकपटक आएको अध्ययनसमेत गरेको छ,’ उनले भनिन् । नगर प्रमुख रमेश महर्जनले पत्रकार सम्मेलन नै गरेर ‘लायकु दरबार जस्तै वडा कार्यालय बनाउने’ प्रतिक्रिया दिएका थिए । संयोजक ज्यापूले भने दरबार नबनाउने नियतले नै वडा कार्यालय भवन बनाउने भनेर नगरपालिकाले टेन्डर सच्याएको बताए । ‘पर्यटकलाई लायकु भनेर वडा कार्यालय भवनलाई देखाउने भन्दै डिजाइन गरेका हुन्,’ उनले भने, ‘त्यही खर्चमा लायकु नै बन्थ्यो । लायकु कीर्तिपुरको इतिहास हो । यसलाई संरक्षण गर्न नगरपालिका संवेदनशील देखिएन ।’ वडा कार्यालय बनाउन काठमाडौं जिल्ला समन्वय समिति र नगरपालिकाबाट गरी ५ करोड २७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नगरपालिकाले सार्वजनिक सूचना निकालेपछि स्थानीयले पुरातत्त्व विभागमा निवेदन दिएका थिए । उनीहरूले लायकु क्षेत्र ऐतिहासिक, पुरातात्त्विक, सामाजिक र सांस्कृतिक रूपले महत्त्वपूर्ण रहेकाले चार किल्ला सुरक्षित गरी संरक्षण गर्न र मल्लकालीन दरबारको भग्नावशेष भएको ठाउँमा प्राचीन रूपमै दरबार बनाउन माग गरेका थिए । स्थानीयको मागअनुसार अध्ययन गर्न विभागले संग्रहालय अधिकृत यमुना महर्जनलाई खटाएको थियो । लायकु क्षेत्रको अध्ययन गरेर महर्जनले प्रतिवेदनसमेत बुझाएकी छन् ।

प्रतिवेदनमा लायकु क्षेत्रमा प्राचीन दरबार भएको उल्लेख छ । ‘प्राकृतिक कारण, कालक्रम आदिले लायकु दरबार, तलेजु मन्दिर तथा अन्य संरचना नाश भएको हुन सक्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसका भग्नावशेष जमिनमुनि लुप्त भएको रहेको हुन सक्ने देखिन्छ । उक्त दरबारको पुरातात्त्विक उत्खनन गर्नुपर्ने देखिन्छ ।’ नगरपालिकाले भने उत्खननमा ध्यान नदिएको संयोजक ज्यापूले गुनासो गरे ।

शुक्रसागर श्रेष्ठको पुस्तक ‘कीर्तिपुरको सांस्कृतिक, पुरातात्त्विक इतिहास’ मा उल्लेख भएअनुसार लायकु दरबार पाटनका राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालामा बनेको हो । बाबु–छोराबीच मनमुटाव भएपछि श्रीनिवास कीर्तिपुरमा अलग्गै राज्य बनाएर बसेका थिए । श्रेष्ठका अनुसार त्यही बेला लायकु र तलेजु मन्दिर बनाइएको थियो । लिच्छवि राजा शिवदेवले नेपाल संवत् २१९ देखि २४६ सम्म २७ वर्ष शासन गर्दा कीर्तिपुर नगर स्थापना गरेको इतिहास छ ।

गोपाल राजवंशावलीमा उल्लेख भएअनुसार ४ तले पञ्चपुरसहितको श्रीराजगृह राम्ररी जग हाली बनाइएको उल्लेख छ । लायकु क्षेत्रमा लायकु डबलीसँगै आगम गुठी घर, सत्तललगायत संरचना छन् । वडा कार्यालय प्राचीन सत्तलमा छ । त्यही ठाउँमै वडा भवन बनाउन लागिएको हो । पुरानो दरबार कहिले ढल्यो भन्ने यकिन छैन । बेलायती इतिहासकार हेनरी एम्ब्रोस ओल्डफिल्डले सन् १८५५ मा बनाएको स्केचमा कीर्तिपुर दरबारको भग्नावशेष छ । केही दशक अघिसम्म पनि दरबारको भग्नावशेषलाई पर्खालले घेरिएको थियो ।

प्रकाशित : कार्तिक ४, २०७८ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?