कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'झोलामा अफिस भनेजस्तो अहिले खल्तीमा अवार्ड हुन्छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — गायक एवं संगीतकार सत्यराज आचार्यले कलाकारलाई दिइने अधिकांश पुरस्कारमाथि प्रश्न उठाएका छन् । उनले साहित्य, संगीतको सिर्जना दुखिया पेसा भएको बताउँदै कलाकारलाई पुरस्कारका नाममा अपमान गर्न नहुने बताए ।

'झोलामा अफिस भनेजस्तो अहिले खल्तीमा अवार्ड हुन्छ'

उनले भने, ‘कलाकारलाई बरु सिरक ओडाइदेउ । जाडोमा ओड्न काम लाग्छ । कुन कलाकार दोसल्ला ओडेर बाहिर हिँडेको छ र !’ उनले धेरैजसो कलाकारहरु रिटायर्ड जीवनपछि आर्थिक रुपमा दयनीय अवस्थामा रहेकाले पनि उनीहरुलाई जीवनयापनमा सहज हुने गरी पुरस्कार दिएमात्र त्यसको अर्थ हुनेमा जोड दिए ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले भजन शिरोमणि भक्तराज आचार्यलाई अर्पण गरेको पद्यश्री साधना सम्मान वितरण समारोहमा बाबुले लेखेको लिखित मन्तव्य पढेपछि आचार्यले यस्तो कुरा बताएका हुन् । उनले कलाकारको मृत्युपछि जलाउने दाउराको अभाव हुने र कैयन कलाकारहरु रोयल्टीमा ठगिएको तितो यथार्थ पनि बताए । पुरस्कारमा दिइने रकमले कलाकारको औषधिमुलो, घर भाडाजस्ता कैयन कुरामा सघाउने बताए ।

उनले स्वरसम्राट नारायणगोपाललाई एउटा सम्मान कार्यक्रममा बोलाउँदाको प्रसंग सुनाउँदै भने, नारायणगोपाललाई कसैले भनेछ, 'हामी तपाईंलाई टोकन अफ लभ दिन लागेका छौं । जवाफमा नारायणगोपालले भनेछन्, 'त्यो टोकन अफ लभको २ सय ५० रुपैयाँ पर्छ, मलाई आउन/जान ट्याक्सी भाडा ५ सय खर्च हुन्छ । मलाई ३ सय घाटा भयो । म आउँदिन भन्नुभाथ्यो रे !'

गायक सत्यराजले आफ्नो परिवारका बाबु र दाजुभाइ गरी ३ जनाले पाएका टोकन अफ लभहरुले एउटा कोठा नै भरिएको बताउँदै वर्षको एकचोटी त्यसको धूलो पुछ्ने बाहेक काम नभएको बताए । 'राजादेखि रंकसम्मले दिएका ती पुरस्कारप्रति आफ्नो सम्मान भए पनि पैसासहितको सम्मानले स्रष्टामा जुन उत्साह थप्छ त्यो टोकन अफ लभले मात्रै थप्दैन,' उनले भने ।

उनले कुनै कर्मचारी सम्मान पाउँदा खुसी हुन्छ कि उसको तलब बढ्दा खुसी हुन्छ भन्ने प्रश्न गर्दै भने, ‘पक्कै पनि तलब बढ्दा खुसी हुन्छ । धनराशी जब आउँछ, मान्छेको काम गर्ने उर्जा बढेर जान्छ । जबकि यही कुरा टोकन अफ लभले गर्दैन ।’

उनले कैयन संस्थाहरुले दशकौं साधना गरेका कलाकारलाई टोकन अफ लभमात्रै दिन र कार्यक्रमको नाममा आफ्नै प्रचार गर्न उपयोग गरिरहेकोमा खिन्नता प्रकट गरे । आचार्यले स्रष्टालाई सम्मान कार्यक्रममा एकदमै अपमानित गरिएको पनि आफूले देख्ने गरेको बताए । उनले भने, ‘८०/८५ वर्षको स्रष्टा कहाँबाट आउँछ, कसरी आउँछ चासो छैन । ड्यासमा लगेर राखिदिएको छ । ठूलो आवाज आइरहेको हुन्छ । उहाँहरुलाई गाह्रो भइरहेको हुन्छ । थोरै समयका लागि भनिन्छ । तर, संस्थाको स्वार्थ पूरा गरिन्छ ।’ उनले संघसंस्था फलानोलाई सम्मान गरे भनेर आफ्नो मात्रै प्रचार गरिने प्रवृत्ति रहेको बताउँदै प्रश्न गरे, ‘त्यो सम्मान हो कि अपमान ?’ टोकन अफ लभ बनाउने कुरा नगद नै दिए बरु स्रष्टाको गर्जो टर्ने पनि उनले बताए ।

आचार्यले ग्रामी र ओस्कारजस्ता अन्तर्राष्ट्रिय पुरस्कारमा नगद नभए पनि पुरस्कार पछि कलाकारको कमाई दोब्बर हुने वातावरण भए पनि नेपालमा पुरस्कारको गरिमाले कलाकारको भाउ नबढ्ने गरेको बताए । उनले ‘अवार्ड हैन रिवार्ड देउ । अवार्ड दिइने होइन, बाँडिने गरिएको छ ।’ आजकल सम्मान अवार्डमा नजाँदा नै कलाकारले गरिमा कायम राख्न सक्ने बताए । उनले पहिला झोलामा अफिस भनेजस्तो खल्तीमा अवार्ड हुने गरेको बताउँदै कलाकारको साचो सम्मानमा धनराशिसहितको पुरस्कारको भूमिका हुनेमा जोड दिए ।

उनले आफ्नो कुरा कतिलाई तितो लाग्न सक्ने बताउँदै भने, ‘यो पैसामुखी कुरा होइन, बरु हृदयको ज्वालामुखी हो ।’

प्रकाशित : कार्तिक ३, २०७८ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?