बाढी पहिरो : पाँचथरमा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, मिक्लाजोङ गाउँपालिकामा मात्रै २१ जनाको मृत्यु - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढी पहिरो : पाँचथरमा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, मिक्लाजोङ गाउँपालिकामा मात्रै २१ जनाको मृत्यु 

लक्ष्मी गौतम

पाँचथर — पाँचथरमा बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । मंगलबार रातिदेखि बुधबार बिहानसम्म मिक्लाजोङ गाउँपालिकामा मात्रै बाढीपहिरो र खोलाले बगााउँदा २१ जनाको ज्यान गएको छ । पहिरोमा ३ जना बेपत्ता रहेको मिक्लाजोङ गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए । उनकाका अनुसार मिक्लाजुङ कुरुम्बामा ५ मा मात्रै १५ जनाको मृत्यु भएको छ भने २ बेपत्ता छन् । 

खोलाले बगााउँदा सोही गाउँपालिकाको वडा नं १ र २ का ४ जनाको ज्यान गएको छ भने वडा नं ४ रबिमा खोलाले नै बगााउँदा १ जना बेपत्ता भएका छन् ।

यसैगरी वडा नं ७ लिम्मामा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । मंगलबार राति पहिरोमा पर्दा फिदिम–४ नगरपालिका ४ मा २ जना, फाल्गुनन्द गाउँपालिकामा ३ जना र कुम्माय गाउँपालिमा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्लामा बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताए । बाढीपहिरोका कारण टेलिफोन र मोबाइल सेवा अवरुद्ध भएकाले पनि क्षतिको विवरण संकलन हुन नसकेको उनको भनाइ छ । बाढीपहिरोले दर्जनौं घरपरिवगार विस्थापित भएका छन् ।

पहिरोका कारण मेची राजमार्गको इलाम-फिदिम र फिदिम-ताप्लेजुङ तथा पुष्पलाल मध्य पहाडी लोकमार्गको पाँचथर खण्डका दर्जनभन्दा धेरै स्थानमा पहिरो गएको छ । शाखा सडकहरु फिदिम फालौट, जोरपोखरी फिदिम र राँके रवि खण्ड पनि पहिरोले अवरुद्ध भएका छन् । पहिरो पन्छाउन ठाउँ ठाउँमा जेसीभी खटाइए पनि खुलाउन समय लाग्ने बताइएको छ । वर्षात्‌सँगै विद्युत्, टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध छन् ।

प्रकाशित : कार्तिक ३, २०७८ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्

पुसबाट सञ्चालनको तयारीमा रहेको इनरुवा सबस्टेसन डुब्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी पुसबाट संचालनको तयारीमा रहेको नेपाल विद्युत् प्राधिकरणको इनरुवा सबस्टेसन डुबानमा परेको छ ।

निर्माणको अन्तिम चरणमा रहेको सबस्टेसनलाई आगामी पुसभित्रमा २२० केभीमा र चैतसम्ममा ४०० केभीमा चार्ज गर्ने तयारीमा रहेको आयोजना प्रमुख शुक्र देवकोटाले जानकारी दिए ।

सुनसरी खोलामा आएको बाढी मंगलबार रातिदेखि सबस्टेसनमा पसेको थियो । बुधबार बेलुकासम्ममा डुबान क्षेत्रमा जान नसकिएको र कति क्षति भयो भन्ने आँकलन गर्न नसकिएको देवकोटाले बताए । कोशी करिडोरको विद्युत् जोड्ने गरी यो सबस्टेसन निर्माण गरिएको थियो । २२० केभीका लागि ९० करोड र ४०० केभीका लागि १ अर्ब ७० करोड रुपैयाँ बराबर लागत रहेको छ । आयोजनामा कति क्षति भयो भन्ने विवरण भने आउन सकेको छैन । ‘मेसिनलगायत संरचनाहरु अग्लो ठाउँमा भएकाले कम क्षति भएको छ । तर केहि सामानहरु बाढीले बगाएको छ,’ आयोजना प्रमुख देवकोटाले भने ।

बाढीले सबस्टेसनको कम्पाउण्ड पर्खाल बगाएको छ । बाढीले केही उपकरणहरु बगाएको र कार्यालय भवनसमेत डुवानमा परेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘अहिले सबस्टेसनभित्र खोला बगिरहेकोले क्षति पुऱ्याइरहेको छ, सबस्टेसन तालमा परिणत भएको छ, त्यहाा रहेका कर्मचारी र श्रमिकहरुलाई सुरक्षाकर्मीको सहयोगमा डुंगामार्फत सुरक्षित स्थानमा सारिएको छ’, घिसिङले भने ।

४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । साथै आवश्यक पर्ने ट्रन्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरु निर्माणस्थलमा ल्याइसकिएको थियो । बाढीका कारण सबै डुवानमा परेकाले उपकरणहरुमा क्षति पुगेको छ ।


प्रकाशित : कार्तिक ३, २०७८ १६:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×