सेतीको जलसतह घटेपछि ढुंगाडमा तत्कालका लागि खतरा टर्यो
बैतडी, डोटी — बैतडीको सिगास गाउँपालिका -५ को ढुंगाडमा अलपत्र परेकाहरूको अवस्था सहज बन्दै गएको छ । सेती नदीको बहाव घट्दै गएपछि बस्तीको अवस्था तत्काललाई सहज भएको बताइएको छ ।
प्रहरी र स्थानीयले फसेकाहरूको उद्वार गरिरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
ढुंगाडमा बाक्लो कुहिरो लागेकाले हेलिकोप्टर बस्न नसकेको सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिएकी छिन् । भिजिबिलिटी हुनेबितिक्कै उद्वारका लागि हेलिकोप्टर जाने तयारीमा रहेको उनले बताइन् ।
डेढ सय बढी घरधुरी रहेको बस्तीलाई सेती नदीले टापु बनाएपछि मंगलबारदेखि करिब ६० जना उद्धारको पर्खाइमा रहेका छन् । स्थानीयले सोमबार रातिदेखि नै खानेकुराको अभाव झेलेको बताएका छन् ।
स्कुल र स्वास्थ्यचौकीमा बसेकाहरूले भने स्थानीय पसलबाट किनेर केही खाएको बताएका छन् । तर अहिलेसम्म कतैबाट आफूहरूलाई राहत नआएको उनीहरूको गुनासो छ ।
प्रकाशित : कार्तिक ३, २०७८ १३:२७