उर्लंदो महाकालीका बीचमा १७ घण्टा

‘ठूलो ढुंगा समातेर रात काट्यौं, बाँच्ने आशा मारिसकेका थियौं, सेनाले जोगायो’
भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीछेउमै पुष्कर नायकको कुखुराको खोर र गाईबस्तुको गोठ थियो । भीमदत्त नगरपालिका–९ मसेट्टीका उनको परिवार डेढ महिनादेखि गोठ कुर्न त्यहाँ जान्थ्यो । सोमबार पनि खान खाएर उज्यालो छँदै श्रीमती र दुई छोरासहित उनी गोठमा गए । जाने बेला महाकालीमा पानी अलिअलि बढेको थियो ।

उर्लंदो महाकालीका बीचमा १७ घण्टा

‘राति हेर्दा त गोठको दुवैतर्फ बाढी देखें,’ मंगलबार नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेपछि नायकले भने, ‘त्यसपछि ढुंगा समातेर रात काट्यौं । बाँच्ने आशा मारिसकेका थियौं, सेनाले जोगायो ।’ सोमबार राति १२ बजेदेखि गोठलाई बीचमा पारेर महाकाली बग्न थालेको थाहा पाएको उनले बताए । उर्लंदो बाढीकै बीचमा रहेका उनीहरूलाई १७ घण्टापछि मंगलबार साँझ ५ बजे मात्रै हेलिकोप्टरबाट उद्धार गरेको छ ।

नायककी श्रीमती ३२ वर्षीया शान्ति, छोराहरू ९ वर्षका अशोक र ५ वर्षका अजय पनि सँगै थिए । उनीहरूसँगै कुखुरा खोर कुर्न छिमेकी ४५ वर्षीया दीर्घमती खड्का पनि थिइन् । ‘गाईगोरु र कुखुरा त त्यहीं छन्, कति बगिसके कति बग्दै छन्,’ नायकले भने, ‘नदी किनारका पाँच/छ घर पनि बगाइसकेको थियो ।’ घरबाट ३ किलोमिटर उत्तरतर्फ रहेको कुखुरा खोरमा बँदेल तथा स्याल आउने भएकाले उनीहरू कुर्न त्यहाँ बस्ने गरेका हुन् । उक्त क्षेत्र पूर्णागिरि मन्दिरको फेदी वारि हो ।

महाकालीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार गर्दै नेपाली सेना । तस्बिर : शेरबहादुर सिंह/रासस

नायकले सोमबार राति नै गाउँलेलाई बाढी बढेर बीचमा फसेको खबर गरे । गाउँलेले राति नै जनप्रतिनिधि र सुरक्षाकर्मीलाई खबर गरे । मंगलबार बिहानैदेखि उद्धारको पहल सुरु भए पनि प्रतिकूल मौसमका कारण सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर आउन सकेन । साँझपख मौसममा केही सुधार आएपछि मात्रै उद्धार सम्भव भएको हो ।

मंगलबार पनि दिनभरि महाकालीमा बाढी बढिरहेकै थियो । हेलिकोप्टर आउने थाहा पाएका नायकलाई माथिल्लो क्षेत्र डँडेलधुराको परशुराममा जलस्तर बढेको सुन्दा बाँच्ने आस हराउँथ्यो । जतिबेला ‘मौसम सफा भयो हेलिकोप्टर आउँछ भन्ने सुन्थे,’ त्यतिबेला भने थोरै सास आउँथ्यो । मंगलबार महाकालीमा ९० वर्षयताकै ठूलो बाढी आएको हो । दिउँसो २ बजे महाकालीमा पानीको बहाव ५ लाख ४७ हजार क्युसेक पुगेको थियो । दुवैतर्फ उर्लंदो महाकाली हेरेर स–साना छोराहरू काखीमा च्यापेर नायकले दिन काटेको बताए ।

उनीहरूको उद्धारका लागि प्रहरी र सशस्त्र प्रहरीको टोली दिउँसो नै मसेट्टी पुगेको थियो । ब्रह्मदेवबाट आधा दर्जन खहरे खोलाहरू तरेर सुरक्षाकर्मीको टोली त्यहाँ पुगेको थियो । फोन सम्पर्कसमेत नहुने उक्त क्षेत्रमा हेलिकोप्टरबाटै समेत उद्धारमा निकै समस्या भयो । सैनिक हवाई महानिर्देशनालयअन्तर्गत सुर्खेतस्थित पश्चिम एयरवेजको टोलीले करिब आधा घण्टामा पाँचै जनाको उद्धार गरेको हो ।

ठाउँठाउँमा रूख तथा खेतमा लगाएको तारबार र धान तथा परालका कुन्युँका कारण हेलिकोप्टर ल्यान्ड गर्न निकै समस्या भएको उद्धार टोलीमा रहेका पाइलट क्याप्टेन सन्तोष पाण्डेले बताए । उद्धार गरेर ल्यान्ड गर्ने ठाउँ खोज्न पनि बढी समय लागेको उनले जनाए ।

प्रकाशित : कार्तिक ३, २०७८ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?