महाकालीको टापुमा फसेका ५ जनाको अझै भएन उद्धार

बाढीले कञ्चनपुरमा २ सयभन्दा बढी घर डुबानमा
भवानी भट्ट

कञ्चनपुर — आइतबारदेखिको अविरल वर्षापछि महाकालीमा आएको बाढीका कारण बीच भागमा फसेका मसेट्टीका ५ जनाको अझै उद्धार हुन सकेको छैन । नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने भने पनि प्रतिकुल मौसमका कारण सम्भव नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महाकालीको टापुमा फसेका ५ जनाको अझै भएन उद्धार

नदीमा पानीको बहाव बढ्दै गएपछि टापुमा फसेकाहरुलाई झनै जोखिम बढ्दै गएको छ । उनीहरु सोमबार रातिदेखि टापुमा फसेका हुन् ।

महाकालीमा पानीको बहाव बढेपछि वनबासा पुलमा आवागमन ठप्प गरिएको छ । सोमबार साँझ चारपांग्रे सवारी साधन आवागमनमा मात्रै रोक लगाइएको थियो । मंगलबार बिहानैदेखि पानीको बहाव उच्च भएका कारण पैदल यात्रुलाई समेत आउजाउमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार महाकालीमा मंगलबार पानीको बहाव ५ लाख ४ हजार क्युसेक पुगेको छ । नदीले पहुँच मार्ग कटान निरन्तर गरिरहेको छ । ६ लेनको सडकमध्ये सय मिटरसमम तीन लेन सडक कटान गरिसकेको छ ।

यसैगरी महाकाली नदीको बाढी भुजेला खोला हुँदै बस्तीमा पसेपछि नदी किनारका भीमदत्त नगरपालिका ११, १२ र १३ का सयौं घरहरु डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–९ खल्ल मसेट्टीमा पनि बाढी बस्तीमा पस्दा दर्जनौं घरहरु डुबानमा परेका छन् ।

‘खल्ला मसेट्टीदेखि दोधारा चाँदनीसम्म दुई सय बढी घर डुबानमा परेका छन्,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले भने, ‘सबैलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।’

महाकाली नदीमा आएको बाढीले निर्माणाधीन चार लेनको पक्की पुलको पहुँच (भाइरल रोड) मार्गमा क्षति पुर्‍याएको छ । भीमदत्त नगरपालिका १२ मा पर्ने करिब सय मिटर जति पहुँच मार्ग नदीले कटान गरेको छ ।

प्रकाशित : कार्तिक २, २०७८ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?