महाकालीको बाढीले बगायो 'भाइरल रोड'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाकालीको बाढीले बगायो 'भाइरल रोड'

भवानी भट्ट

कञ्चनपुर — आइतबारदेखिको अविरल वर्षापछि महाकाली नदीमा आएको बाढीले निर्माणाधीन चार लेनको पक्की पुलको पहुँच (भाइरल रोड) मार्गमा क्षति पुर्‍याएको छ । भीमदत्त नगरपालिका १२ मा पर्ने करिब सय मिटर जति पहुँच मार्ग नदीले कटान गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार महाकालीमा मंगलबार पानीको बहाव ५ लाख ४ हजार क्युसेक पुगेको छ । नदीले पहुँच मार्ग कटान निरन्तर गरिरहेको छ । ६ लेनको सडकमध्ये सय मिटरसमम तीन लेन सडक कटान गरिसकेको छ ।

यसैगरी महाकाली नदीको बाढी भुजेला खोला हुँदै बस्तीमा पसेपछि नदी किनारका भीमदत्त नगरपालिका ११, १२ र १३ का सयौं घरहरु डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–९ खल्ल मसेट्टीमा पनि बाढी बस्तीमा पस्दा दर्जनौं घरहरु डुबानमा परेका छन् ।

‘खल्ला मसेट्टीदेखि दोधारा चाँदनीसम्म दुई सय बढी घर डुबानमा परेका छन्,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले भने, ‘सबैलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।’

यसैबीच महाकालीको बाढीका कारण बीच भागमा फसेका मसेट्टीका ५ जनाको अझै उद्धार हुन सकेको छैन । नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने भने पनि प्रतिकुल मौसमका कारण सम्भव नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नदीमा पानीको बहाव बढ्दै गएपछि टापुमा फसेकाहरुलाई झनै जोखिम बढ्दै गएको छ । उनीहरु सोमबार रातिदेखि टापुमा फसेका हुन् ।

महाकालीमा पानीको बहाव बढेपछि वनबासा पुलमा आवागमन ठप्प गरिएको छ । सोमबार साँझ चारपांग्रे सवारी साधन आवागमनमा मात्रै रोक लगाइएको थियो । मंगलबार बिहानैदेखि पानीको बहाव उच्च भएका कारण पैदल यात्रुलाई समेत आउजाउमा रोक लगाइएको छ ।

प्रकाशित : कार्तिक २, २०७८ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्

'यो पानी कस्तो बेइमानी ?'

बुद्धिसागर मरासिनी

मार्दी हाइ क्याम्प — 'यो दाइ त कस्तो छिटो हिँड्दो रै’च,' माछपुच्छ्रे-९ स्थित फरेस्ट क्याम्पबाट मर्दी भ्युटावरतर्फको उकालो चढ्दै गर्दा मसिनो आवाजमा एक किशोरीले प्रश्न सोधेपछि म पछाडि फर्किएँ । 

'बैनी, सहरमा बसेर बोइलर भइने भो भन्ने चिन्ताले डोर्‍याएर ल्यायो नि यहाँसम्म । हिँड्नै भनेर आएपछि सकेसम्म खुट्टा त चाल्नै पर्‍यो,' मेरो जवाफ अलिक मन परेन क्यारे, बैनीले हल्का मुख बिगारिन् ।

घान्द्रुकबाट परिवार, छिमेकी र साथीहरूसँग मर्दी बेसक्याम्प ताकेकी गीता खड्कालाई पत्रकारितामा रुचि रहेछ । हालै १२ कक्षाको परीक्षा दिएर बसेकी उनलाई मेरो र साथीहरूबीचको कुराकानीले तानेछ । र पो मसँग गफिन खोजेकी रहिछन् ।

'बैनीहरू चैं कहाँसम्म नि ?' मेरो प्रश्न खस्न नपाउँदै उनकै समूहका एक किशोरले भने, 'कति आफ्नो गाउँ मात्र डुल्ने? यसो अन्त पनि डुलौं भनेर नि दाइ !'

खड्का र उनको समूहजस्तै दसैंको छेको पारेर मर्दी भ्युटावर ताक्नेहरू बाटाभरि बाक्लै देखिन्थे । जसकारण पितम देउराली, पोथना, फरेस्ट क्याम्प, लो क्याम्प, बादल डाँडा, हाइ क्याम्पलगायत स्थानका व्यवसायीमा केही उत्साह थपिएको प्रस्टै देखिन्थ्यो ।

माछापुच्छ्रे-९ का व्यवसायी जीवन गुरुङ तिनैमध्येका हुन् । 'कोरोनाले दुई वर्ष त्यसै हल्लियो, अब भने केही आस जागेको छ,' होटेल ग्रिनल्यान्डका सञ्चालक उनले भने, 'केही समय अन्नपूर्ण संरक्षण क्षेत्रका कतिपय संरचना हटाउने भनेर वन कार्यालयले पनि दु:ख दियो ।'

अहिले कुरो मिलेपछि भने आफूले होटलको पुनर्निर्माण पनि गरेको गुरुङले बताए । कुराकानीकै बीचमा उनले फर्किंदा चियाखाजा वा खाना खान निम्तो पनि दिन भ्याए ।



कोरोनापछि व्यवसाय चलायमान् हुन थालेसँगै होटल सञ्चालकलगायत खुसी देखिए पनि आइतबार र सोमबार मर्दी उक्लेका पर्यटकको मनमा भने चिन्ता थपिएको थियो । कारण, बिग्रँदो मौसम ।

ट्रेकिङका लागि उत्तम ठानिएको याममै आकाशमा कालो बादल मडारिन थालेपछि गन्तव्यमा पुगेर मनोरम दृश्य हेर्न नपाइने चिन्ताले उनीहरूलाई सताइरहेको थियो । ६ जनाको समूहमा रहेका भक्तपुरका रमेश श्रेष्ठले भने, 'सकभर बेस क्याम्पमै पुग्ने भन्या हो । हेरौं, मौसम र स्वास्थ्यले कति साथ दिने हो ।' नभन्दै आइतबार राति ११ नबज्दै सुरु भएको वर्षा मंगलबार बिहानसम्म थामिएन । सबैको मन अझ बेचैन !

डबल भ्यु गेस्ट हाउसका संचालक सूर्य तामाङका अनुसार सोमबार बिहानै भ्युटावरबाट सूर्योदय हेर्न आइतबार साँझ करिब ४ सय जना हाई क्याम्पमा बास बसेका थिए । तीमध्ये, कास्की, पर्वत, रूपन्देही, लमजुङ, गोर्खा, काठमाडौं, भक्तपुरलगायत जिल्लाका युवायुवती बढी थिए । कोही भने आफ्नो परिवारसहित निस्केका देखिन्थे । विदेशी पर्यटक भने निकै कम मात्र देखिन्थे ।

सोमबार मौसममा सुधार नआएपछि तीमध्ये अधिकांशले बिस्तरा नै छाडेनन् । तामाङचाहिँ कतिपयलाई मौसममा सुधार आउँछ भन्दै सान्त्वना दिइरहेका थिए ।

'यहाँ आइसकेपछि भ्युटावरसम्म पुग्नुपर्छ' भन्दै जुत्ता कसेर उकालो लागेका अधिकांश पर्यटक २५/३० मिनेटको बाटो नहिँड्दै पानीले भिजे । कोही प्लास्टिक र बर्सादीले पानी छेकिरहेका देखिन्थे भने कोही बाटोछेउका ठूल्ठूला ढुंगामा टाउको ओताइरहेका थिए । पानी रोकिने सम्भावना नदेखेपछि हाम्रो समूह बीच बाटोबाटै फर्कियो ।

केही युवायुवती भने बाटो आधा भइसकेको भन्दै पानीको पर्वाह नगरी छिटोछिटो उकालो चढिरहेका थिए । तीमध्येका एक थिए- पर्वत, फलेवासका गौरव श्रेष्ठ । हामी होटेल फर्केको करिब ३ घण्टापछि फर्केका श्रेष्ठलाई मैले सोधें, ‘भाइ के रहेछ त खास ?’

'दाइ भिजियो, दु:ख पाइयो । सयको तातोपानी र दुई सयको कालो चिया पिइयो । दुइटा कटेराबाहेक केही देखिएन,' उनले भने, 'यो पानी कस्तो बेइमानी ।'

प्रकाशित : कार्तिक २, २०७८ १२:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×