नन्कुन्नी मृत्यु र निर्मला बेपत्ता प्रकरण : सरकार र आन्दोलनकारी पक्षबीच सहमति

कान्तिपुर संवाददाता

काठमाडौँ — बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकार र महिला अधिकारकर्मीबीच सहमति भएको छ । मंगलबार बिहान सरकारले उक्त प्रकरणको अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएसँगै सहमति भएको आन्दोलनरत पक्षका मोहम्मद शेर बागबानले जानकारी दिए ।

नन्कुन्नी मृत्यु र निर्मला बेपत्ता प्रकरण : सरकार र आन्दोलनकारी पक्षबीच सहमति

उनका अनुसार सरकारले उक्त घटनाको अनुसन्धान गर्न छानबिन समिति बनाउने भएको छ । मंगलबार दिउँसो गृह मन्त्रालयका पदाधिकारीले त्रिवि शिक्षण अस्पताल पुगेर रुबी खानको अनशन तोडाउने तयारी गरेका छन् । अहिले दुवै पक्षबीच मौखिक सहमति भएको र दिउँसो अस्पतालमै सहमति पत्रमा हस्ताक्षर हुने बागबानले बताए ।

कसरी बेपत्ता भइन् निर्मला कुर्मी ? यस्तो छ १२ वर्षदेखिको अन्यायको यथार्थ

सरकारले सोमबारदेखि आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेको थियफ । उक्त प्रकरणमा गहिरो अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै नेपालगन्जदेखि २० दिन पैदल हिँडेर काठमाडौं आएका अधिकारकर्मी र आफन्तले माइतीघरमा १२ दिनदेखि धर्ना दिइरहेका छन् भने आन्दोलनको नेतृत्व गरिरहेकी रुबी खान ११ दिनदेखि आमरण अनशनमा छिन् । सोमबार माइती नेपालको कार्यालयमा पुगेर गृह सचिव टेकनारायण पाण्डे र प्रवक्ता फणीन्द्रमणि पोखरेलले संघर्षरत अधिकारकर्मी र आफन्तसँग सोमबार छलफल गरेका थिए  ।

नन्कुन्नीको घरेलु हिंसाकै कारण ज्यान गएकाले त्यसका दोषी ४ जनालाई पक्राउ गरी अनुसन्धान र कारबाहीको प्रक्रिया अघि नबढेसम्म आन्दोलन स्थगित गर्न नसकिने आन्दोलनरत पक्षको माग थियो । प्रहरीले अहिले नन्कुन्नीका श्रीमान् र जेठाजुलाई मात्र पक्राउ गरेको छ । त्यस्तै, निर्मला कुर्मीको अपहरण, शरीर बन्धक बनाई बेपत्ता पारिएको विषयका दोषीलाई समेत पक्राउ गरी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

प्रकाशित : कार्तिक २, २०७८ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?