कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कर्णाली र बबई नदीको जलस्तरले खतराको तह पार गर्‍यो

कमल पन्थी

बर्दिया — तीन दिनदेखि परेको अविरल वर्षाले कर्णाली र बबई नदीमा जलस्तरले खतराको तह पार गरेको छ । कर्णाली नदीमा जलस्तर १० मिटरमाथि  बगिरहेको स्थानीय प्रशासनले जनाएको छ ।

कर्णाली र बबई नदीको जलस्तरले खतराको तह पार गर्‍यो

यसैगरी बबईमा ५ दशमलव ५ मिटरमाथि बगिरहेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । यो खतराको चिन्हभन्दा माथि भएकोले उच्च सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको बताए ।

तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन साइरन बजाउन लगाइएको छ । प्रजिअ सुनारले तटीय क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई धनजनको सुरक्षा गर्न निर्देशन दिएको जनाए । कर्णालीमा साढे १० मिटरमाथि पानी बगे बाढी पस्ने जोखिम हुन्छ । बबईमा ६ मिटर पानी बगे बाढी पस्ने गर्छ ।

यस वर्ष वर्षायाममा कर्णाली र बबईमा जलस्तर खतराको चिन्ह पार गरेको थिएन । बाढीको उच्च जोखिम मानिएको राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, ठाकुरद्वारा, बारबर्दिया र गुलरिया नगरपालिकाका बासिन्दा बढी प्रभावित हुने गर्छन् । पहाडी र तराई क्षेत्रमा वर्षा नरोकिएकोले जिल्लाका सबै युनिटका सशस्त्र प्रहरी बललाई कर्णाली र बबई नदीको तटीय क्षेत्रमा मंगलबार बिहानदेखि परिचालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताए ।

कर्णालीमा जलस्तर बढ्दै गएपछि तीव्र रुपमा कटान भएको छ । ०७१ र ०७४ सालमा आएको बाढीले ४० जनाको मृत्यु भएको थियो । त्यतिबेला जिल्लाको ९० प्रतिशत भूभाग डुबानमा परेको थियो ।

प्रकाशित : कार्तिक २, २०७८ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?