कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पोखरा विमानस्थल बनाउन जो निरन्तर खटिए

दीपक परियार

पोखरा — पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ०३२ सालमा ३ हजार १ सय ५० रोपनी जग्गा अधिग्रहण गरिएको थियो । ०४७ मा एसियाली विकास बैंकले हाल सञ्चालन भइरहेको पोखरा विमानस्थललाई स्तरोन्नति गर्न अनुदान दिने भयो । पश्चिमाञ्चल होटल संघले उक्त कार्यको विरोध गर्‍यो ।

पोखरा विमानस्थल बनाउन जो निरन्तर खटिए

बरु नयाँ विमानस्थल बनाउन उक्त लगानी गर्नुपर्ने माग संघको थियो । संघका तत्कालीन अध्यक्ष थिए, पोखरेली व्यवसायी विश्वशंकर पालिखे ।

२०६० मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समिति नै बन्यो । समितिका संयोजक पालिखे नै थिए । चीनका तत्कालीन राजदूत याङ होलान्जुसँग पालिखेको निकटतम सम्बन्ध थियो । राजदूतसँगको भेटमा उनले पटकपटक विमानस्थलकै मुद्दा उठाउँथे । ०६८ बाट पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जोडतोडले आवाज उठ्यो ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विमानस्थल निर्माणमा चासो देखाए । ०६८ माघमा सुशील कोइराला प्रधानमन्त्री, वर्षमान पुन अर्थमन्त्री र पोष्टबहादुर बोगटी पर्यटनमन्त्री हुँदा ईपीसी मोडलमा विमानस्थल बनाउन टेन्डर आह्वान भयो । टेन्डर कबुल रकम महँगो भएको भन्दै नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले विरोध सुरु गरे । विमानस्थल बन्ने नबन्ने अन्योल भयो । त्यसपछि ०६९ फागुनमा गठिन सरोकार समितिको सदस्य रहेर पालिखेले आफ्नो सक्रियता बढाए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमै सम्पन्‍न हुने

सरोकार समितिले विभिन्न दबाबमूलक कार्यक्रम गर्‍यो । ०६९ भदौ ७ देखि ०६९ मंसिर २ सम्म ८५ दिन १ सय ५१ शृंखला र २ हजार ४ सय २ जनाको रिले अनशन भएको थियो । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न व्यावसायिक संघसंस्था, नागरिक समाज, स्थानीयले आन्दोलन अगाडि बढाए । पोखराका स्थानीय काठमाडौं पुगेरसमेत आन्दोलन गरे । ०७१ जेठ ८ मा प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबीच व्यापार सम्झौता भयो ।

पोखरामा विमानस्थल ल्याउन नदिन काठमाडौंले अवरोध गरेको पालिखे बताउँछन् । ‘काठमाडौंले आफूबाहिर विकास जाओस् भन्ने कहिल्यै सम्झिँदैन,’ उनी भन्छन्, ‘प्राधिकरणकै कर्मचारीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सम्भव नहुने बताएका थिए । अहिले हामीले सम्भव बनाएर देखायौं । ३ दशकको संघर्षले सफलता पाउँदै छ ।’

विमानस्थल बनाउन दबाब दिन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पालिखेलाई पश्चिमाञ्चल होटल संघले आफ्नो ४० औं वार्षिकोत्सवको अवसरमा सम्मानसमेत गरेको छ । उनी ०४७ बाट ०५४ सम्म पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष थिए । ०७४ बाट ०७५ सम्म पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष बने । ०५८ बाट ०६१ सम्म पर्यटन बोर्डको बोर्ड सदस्यसमेत थिए । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ०५९ मा सुरु भएको ‘जाऊँ है पोखरा’ अभियानको संयोजक उनी थिए ।

खेलमार्फत पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भनेर नेपालमा पहिलोपल्ट ट्रायथोलन खेल उनैले भित्र्याएका थिए । ०५१ बाट ०६८ सम्म नेपाल ट्रायथोलन संघको अध्यक्ष उनी थिए । निजी क्षेत्रको लगानीबाट भए पनि विमानस्थल बनाउनुपर्छ भनेर उनले ०६१ असार ११ मा अन्नपूर्ण विकास कम्पनी लिमिटेडको स्थापना गरेका थिए ।

प्रकाशित : कार्तिक २, २०७८ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?