३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमै सम्पन्‍न हुने

दीपक परियार

पोखरा — निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हाल देखिएका चार चुनौती हुन्- बर्खामा उत्तरपट्टीबाट छिर्ने बाढी, बाढीले रनवेको पूर्वपट्टी गर्ने कटान, रिठ्ठेपानी डाँडा र ल्यान्डफिल साइट । प्रधानमन्त्री शेरबहादुर देउवाले गत साता विमानस्थलको निरीक्षणपछि यी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि भने निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुनेमा सरोकारवाला विश्वस्त छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमै सम्पन्‍न हुने


बाढी र कटान नियन्त्रण गर्न बजेटको अभाव थियो । अन्तर्राष्ट्रिय उडानको लागि रिठ्ठेपानी डाँडा ४० मिटर कटान गर्न पूरक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तयार गर्न ३ महिना लाग्थ्यो । विमानस्थलबाट ३ किलोमिटरको दूरीमा रहेको पोखरा महानगरपालिकाको ल्यान्डफिल साइट महानगरले अझै सारिसकेको छैन । ठेकेदार कम्पनीले विमानस्थलको चार किल्ला भित्र मात्रै काम गर्ने भएकोले यी समस्या समाधान गर्न आयोजनाले पटकपटक गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र संघअन्तर्गतका सम्बन्धित कार्यालयमा पत्राचार गरिसकेको थियो । राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत विमानस्थलका प्रमुख प्रदीप अधिकारीले प्रधानमन्त्री देउवालाई समस्याका बारेमा अवगत गराए ।

प्रारम्भिक अध्ययनअनुसार सिंचाइ नहर व्यवस्थापन, रनवे पूर्वपट्टीको कटान नियन्त्रणका लागि झण्डै ३४ करोड रुपैयाँ लाग्ने अनुमान छ । आयोजना कार्यालय र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री देउवाले उक्त रकम संघ सरकारले व्यवस्थापन गर्ने बताएका छन् । रिठ्ठेपानी डाँडा कटानमा व्यक्तिको जमिनतर्फको भाग काटिए पनि सरकारी जमिनमा कटान गर्न ईआईए गर्नुपर्ने र त्यसका लागि ३ महिना समय लाग्ने देखिएको छ । प्रधानमन्त्री देउवाले ईआईए तयार गर्दै गर्ने र डाँडा कटान पनि गर्दै गर्ने गरी ‘फास्ट ट्र्याक’ मा काम गर्न सरकारले सहजीकरण गर्ने आश्वासन विमानस्थल आयोजनालाई दिएका छन् ।

ल्यान्डफिल साइट सार्न भने गण्डकी प्रदेश सरकारमार्फत् पोखरा महानगरपालिकालाई ताकेता गर्न उनले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निर्देशन दिएका छन् ।

सन् २०१७ नोभेम्बरबाट सुरु भएको विमानस्थल निर्माणको यही वर्ष जुलाइ १० सम्म म्याद थियो । कोरोना महामारीले चिनियाँ कामदार र आवश्यक उपकरण नआएकोले एक वर्ष म्याद थपिएको छ । ‘कोभिड नभएको भए यही वर्ष सकिने रहेछ,’ नागरिक उड्डयन प्राधिकरणको टोलीसँग प्रधानमन्त्री देउवाले भने, ‘थपिएको म्यादभित्र सम्पन्न गर्न कुनै बाधा पुग्ने छैन ।’

हाल देखिएका समस्या समाधान हुनेमा प्रधानमन्त्रीको भ्रमणपछि आशावादी रहेको विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । ‘उहाँले प्रतिवद्धता गरेअनुसार भए तोकिएकै समयमा सकेर उडान सुरु गर्छौं,’ उनले भने । सन् २०२२ को जनवरी १ बाट आन्तरिक उडान र २०७९ वैशाख १ बाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने प्राधिकरणको तयारी छ । विमानस्थल स्थानान्तरण तथा सञ्चालन तयारी कार्यदलले ती मितिमा उडान सुरु गर्न नागरिक उड्डयन प्राधिकरणलाई सिफारिस गरिसकेको छ ।

नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमको संयोजकत्वमा गत वर्ष कार्यदल बनेको थियो । प्रधानमन्त्रीको विमानस्थल निरीक्षणका त्रममा नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जनवरी १ बाट आन्तरिक उडान सुरु गर्न सकिने बताएका थिए । पोखराका व्यवसायी एवं अन्य सरोकारवालाले भने विमानस्थलबाट पहिलो उडान अन्तर्राष्ट्रिय नै हुनुपर्ने बताउँदै आएका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले आन्तरिक उडानका लागि हतार गर्न नहुने बताउँछन् । ‘हाम्रो चाहना पहिलो फ्लाइट अन्तर्राष्ट्रिय नै होस् भन्ने हो, केही महिना ढिलो भएर केही हुँदैन,’ उनले भने, ‘विमानस्थल बनेर मात्रै पनि भएन, कुन कुन विदेशी एयरलायन्सले जहाज ल्याउँछन् भन्ने पनि हो । त्यसतर्फ सरकारको तयारी देखिँदैन ।’

आयोजना प्रमुख मुनकर्मीका अनुसार हालसम्म विमानस्थलको ८४ प्रतिशत भौतिक प्रगति र ६८.७ प्रतिशत आर्थिक प्रगति भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार फोर डी मोडलमा विमानस्थल बनिरहेको छ । निर्माण पूरा भएपछि १ सय ५० देखि १ सय ८० सिट संख्या भएका एयरबस ए३२० र बोइङ ७५७ वा सोसरहका जहाज आउजाउ गर्नसक्ने बताइएको छ ।

‘फोर डी’ श्रेणीको भएकोले यसको रनवको लम्बाइ २ हजार ५ सय मिटर छ । पोखराका राजनीतिकर्मी, उद्योगी, व्यवसायीले भने रनवेलाई ३ हजार मिटर बनाएर भए पनि ‘वाइड बडी’ विमान ल्याउनुपर्ने बताउँदैआएका छन् । सुरुआतमा पोखराबाट हङकङ, दिल्ली, दोहा र थाइल्यान्डमा सिधा उडान गर्ने प्राधिकरणको तयारी छ । यी सहरलाई ट्रान्जिट बनाएर भने अन्य मुलुकबाट पनि जहाज आउन सक्छन् ।

सन् २०१४ को मे ३१ मा नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएको थियो । २०१६ मार्च २१ मा नेपाल र चीनको एक्जिम बैंकबीच ऋण सम्झौता भयो । नेपाल सरकार र प्राधिकरणबीच २०१९ जुन ५ मा अनुदान ऋण सम्झौता भयो । एक्जिम बैंकले २०१७ मइ ३१ बाट ऋण प्रवाह गर्‍यो । झण्डै २२ अर्ब रुपैयाँ लागतमा सन् २०१७ नोभेम्बरदेखि विमानस्थल निर्माण भइरहेको छ । ३ हजार ८ सय ९९ रोपनीमा विमानस्थल निर्माण भइरहेको छ । १ सय ८५ चिनियाँ र २ सय ३० नेपाली कामदारले काम गरिरहेका छन् । २०२२ जुलाइ १० सम्म विमानस्थल निर्माणको म्याद छ ।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिंगल अप्रोच’ बाट हुनेछ । पूर्वपट्टीबाट मात्रै अन्तर्राष्ट्रिय जहाजले उडान र अवतरण गर्नेछन् । आन्तरिकतर्फ रनवेको दुवै तर्फबाट उडान तथा अवतरण गर्न मिल्छ । विमानस्थलमा ११ जहाज पार्किङ गर्न सकिने छ । तीनवटा अन्तर्राष्ट्रिय, चारवटा एटीआर र चारवटा ट्वीनअटर जहाज पार्किङ गर्न सकिन्छ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गर्ने प्राधिकरणको तयारी छ । विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिन सक्ने बताइएको छ ।

प्रकाशित : कार्तिक १, २०७८ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?