कुटपिटपछि मृत्यु

दोषीलाई कारबाही गर्न दलित संघसंगठन र मानव अधिकारवादीको माग

चितवन, काठमाडौं — दसैंको नवमीका दिन बिहीबार भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा स्थानीय भीमबहादुर विकको ज्यानै जाने गरेर भएको कुटपिट घटनामा संलग्नलाई कारबाही गर्न विभिन्न दलित संघसंगठन र मानव अधिकारवादीले माग गरेका छन् । बिहान १० बजे आसपास भएको घटनामा संलग्न दुई जनालाई प्रहरीले तत्काल गिरफ्तार गरिसकेको छ ।

कुटपिटपछि मृत्यु

विभिन्न १९ वटा संघसंस्था र व्यक्तिले आइतबार संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा दुर्गाचोकमा रहेको मन्दिरमा दसैंका बेला बोका चढाउने विषयमा भीमबहादुरले सोधखोज गर्दा गालीगलौज र कुटपिट भएको उल्लेख छ । घटनामा जातीय विभेदसमेत जोडिएको आरोप विज्ञप्तिमा छ । उनीहरूले ज्यानसम्बन्धी कसुरका साथै घटनामा संलग्नलाई जातीय विभेदमा पनि कारबाही गर्न माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीका अनुसार घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका सीताराम बस्नेत र दुर्गाचोकमा मेडिकल सञ्चालन गरेका दिलीप श्रेष्ठलाई तत्काल पक्राउ गरिएको हो । ‘त्यतिबेला हामीलाई प्राप्त जानकारीअनुसार भीमबहादुरले मादक पदार्थ खाएर गाली गर्दै हिँडेपछि बस्नेत र श्रेष्ठले कुटपिट गरेको भन्नेछ,’ डीएसपी अधिकारीले भने । प्रहरीमा ज्यानसम्बन्धी कसुरमा जाहेरी परेकाले त्यहीअनुसार अनुसन्धान अघि बढेको जानकारी उनले दिए ।

नारायणगढ बजारदेखि करिब ५ किमि पश्चिम सहिदचोक हुँदै मंगलपुर जाने सडकनजिक दुर्गाचोक छ । चोक आडमा सानो मन्दिर छ । मन्दिरदेखि दक्षिणतर्फ करिब तीन सय मिटर पर भीमबहादुरको घर छ । ५८ वर्षका भीमबहादुर यहाँका पुराना बासिन्दा हुन् । भीमबहादुरका २८ वर्षीय छोरा किसन विकले नवमीका दिन बिहान साढे ८ बजेसम्म बुबा घरमै रहेको बताए । ‘त्यसपछि सामान किन्न भन्दै तल झर्नु भएको थियो, मन्दिरमा बोका चढाउने विषयमा सोधखोज गर्नुभएको थियो भनेर हामीलाई सुनाएका छन्, सोधखोज गर्दैमा यसरी आक्रमण भएछ,’ उनले सुनाए ।

डीएसपी अधिकारीका अनुसार सुरुमा सीतारामले भीमबहादुरलाई पाइपले पिटेका थिए । त्यसपछि मेडिकल चलाउने दिलीपले झापड हान्दा उनी सडकमा बजारिएका थिए । जसका कारण टाउकामा चोट लागेको थियो । ‘दिलीप आफैंले गाडीका राखेर उपचारका लागि चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा ल्याएका रहेछन्, अस्पताल ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्,’ उनले भने । श्रेष्ठको मेडिकल र बस्नेतको घर मन्दिरनजिकै छ ।

‘त्यतिबेला हामीलाई भीमबहादुरले मादक पदार्थ खाएर भन्नु नभन्नु भनेपछि कुटपिट गरेको भनिएको थियो । मन्दिरको विषय के हो, यो पनि अनुसन्धान गर्दैछौं, अहिले खुलेको छैन,’ अधिकारीले भने । मन्दिरदेखि करिब सय मिटर पर चोकमै घर भएका भागवत कँडेलले प्रहरी आएपछि मात्र आफूले घटनाबारे जानकारी पाएको बताए । ‘भीमबहादुर यहाँका पुराना मान्छे हुन् । बेलाबेलामा मादक पदार्थ खाने गरेको थाहा छ । त्यस दिन पनि खाएका थिए रे भन्ने सुनेको हो । जे भयो साह्रै नराम्रो भयो,’ उनले भने ।

दलित संघसंस्था र मानव अधिकारका क्षेत्रमा सक्रिय व्यक्तिले जारी गरेको विज्ञप्तिमा घटना जातीय विभेदसँग जोडिएको दाबी गर्दै स्थानीय प्रशासनले कुनै दबाबमा नआई निष्पक्ष छानबिन गर्नुपर्ने माग गरिएको छ । ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर सजाय) ऐन २०६८ र ज्यानसम्बन्धी कसुरअन्तर्गत यस घटनाका दोषीहरूलाई हदैसम्म कानुनी कारबाही गरियोस्, न्यायिक निकायबाट कुनै पनि किसिमको प्रभावमा परी हदैसम्मको कारबाही नभएको खण्डमा यसले ठूलो राष्ट्रव्यापी आन्दोलन/संघर्षको रूप लिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

भीमबहादुरका छोरा किसनले बुबाले मन्दिरमा पूजा गर्न पाइन्छ कि पाइँदैन भनेर सोधेकै आधारमा कुटपिट गरिएको दाबी गरे । ‘हामीलाई अरू बेला पनि मन्दिर प्रवेश गर्न दिइँदैन । त्यही कुरालाई लिएर बुबाले दलितलाई पनि पूजा गर्न दिनुपर्छ भन्नुभएको रहेछ,’ उनले कान्तिपुरसँग भने, ‘पहिले पाइपले पिठ्युँभरि डाम बस्ने गरी कुटेछन् । पछि फेरि झापड हान्दा बुबा ढल्नुभएछ, अप्ठ्यारो ठाउँमा लाग्यो होला, बुबा त्यही बित्नुभयो ।’ उनले थपे, ‘बुबालाई अरू कुनै रोग पनि थिएन । राम्रैसँग काम गर्दै आउनुभएको हो । त्यो दिन बिहान जुरुक्क उठेर जानुभएको, फेरि फर्किनुभएन ।’

भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले जातका आधारमा मन्दिर प्रवेशमा निषेध गरिएको सन्दर्भमा यस्तो घटना हुनु निन्दनीय भएको बताए । ‘दुर्गा पूजाको सन्दर्भमा दलितले पनि पूजा गर्न पाउनुपर्छ भन्दा त्यस्तो घटना भएको रहेछ । मन्दिरमा पूजा गर्ने विषयमा कुटपिट र झगडा गरी ज्यानै जानेसम्मको घटना हुनु अत्यन्तै निन्दनीय हो,’ उनले भने, ‘जमाना कहाँ पुगिसक्यो, हामी कहाँ छौं, सोच्नुपर्ने अवस्था आएको छ । महानगरमै यस्तो घटना हुनु दुःखद कुरा हो ।’

वडा–४ का अध्यक्ष हरिप्रसाद आचार्यले भने गाउँमा जातीय विभेदको समस्या नरहेको बताए । ‘मेरो वडामा त्यस्तो समस्या छैन, मैले कार्यालय सहायक नै दलित राखेको छु । पहिले त्यस्तो समस्या थियो । अलि विवादित ठाउँ पनि हो, तर यो घटनामा मैले त्यस्तो बुझिनँ । उनको अलि बढी बोल्ने स्वभाव रहेछ । मादक पदार्थ पनि सेवन गरेका रहेछन् । स्थानीयले घर जाऊ, हल्ला नगर भन्दा नमानेपछि कुटपिट भएको रहेछ, फेरि मान्छेअनुसार बुझाइ फरक हुन्छ,’ उनले कान्तिपुरसँग भने, ‘मुद्दालाई जाततिर नलैजाऔं, त्यसो गर्दा घटनाले अर्को रूप लिन्छ भनेर साथीहरूलाई भनेको छु ।’ पीडित परिवारलाई राहत र दोषीलाई कारबाहीका लागि पहल गर्ने प्रतिबद्धता आफूले जनाएको उनले बताए ।

घटनाको चार दिन बित्दासमेत परिवारले शव बुझेको छैन । शनिबार भरतपुर अस्पतालमा पोस्टमार्टम भए पनि रिपोर्ट नआएको डीएसपी अधिकारीले बताए । रिपोर्ट नआउँदासम्म शव नबुझ्ने अडानमा परिवारका सदस्य छन् । ‘दोषीहरू पक्राउ परेका छन्, तर कारबाही हुने सम्भावना देखिरहेको छैन । हामीलाई दलित भनेर फेरि टालटुल पारेर झुक्याउने काम हुन सक्छ, त्यसैले न्याय पाउने अवस्था नभएसम्म शव बुझ्दैनौं,’ किसनले भने । भीमबहादुर निर्माण मजदुर हुन् । उनका श्रीमती, १ छोरा र ३ छोरी छन् । छोरीहरूको विवाह भइसकेको छ ।

प्रकाशित : कार्तिक १, २०७८ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?