८ जिल्लाका सीडीओ फेरिए- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

८ जिल्लाका सीडीओ फेरिए

कान्तिपुर संवाददाता

काठमाडौँ — सिन्धुपाल्चोक, स्याङ्जा, डोल्पा र रोल्पासहित ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ । आइतबार गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सिन्धुपाल्चोक, स्याङ्जा, कैलाली, पाल्ला, डोल्पा, मुस्ताङ, अर्घाखाँची र रोल्पाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको हो ।

गृह मन्त्रालयका सहसचिव किरण थापा कैलालीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् भने कैलालीमा प्रमुख जिल्ला अधिकारी रहेका खगेन्द्र प्रसाद रिजाललाई गृह मन्त्रालय सिंहदरबार बोलाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा रहेका उपसचिव वेदनिधी खनाल सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी बनेका छन् । यस्तै इलाका प्रशासन कार्यालय कपिलवस्तुका नेत्रप्रसाद शर्मा मुस्ताङको प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

यसअघि मुस्ताङमा सीडीओ रहेका श्रीनाथ पौडेललाई भने रोल्पा सरुवा गरिएको छ । गृहका उपसचिव राजुप्रसाद पौडेल स्याङ्जाको सीडीओ बनेका छन् । यस्तै कारागार व्यवस्थापन विभाग कालिकास्थानका निर्देशक वेधनिधी अधिकारीलाई डोल्पा पठाइएको छ।


प्रकाशित : आश्विन ३१, २०७८ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्

हिरासतभित्रका मृत्यु प्रकरण : गृहद्वारा छानबिन समिति गठन

रासस

काठमाडौँ — गृह मन्त्रालयले हिरासतभित्र भएका मृत्युका घटनाका अनुसन्धान गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । कारागारमा र प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन गरी भविष्यमा त्यस्ता घटना हुन नदिन तथा कारागार व्यवस्थापनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव पेश गर्ने गरी उक्त समिति गठन गरिएको हो ।

छानबिन समितिले यही असोज २४ मा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका एक व्यक्ति, असोज २५ मा कैलालीको टिकापुर इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्ति र असोज २६ मा जिल्ला कारागार पर्वतमा रहेका एक बन्दीले आत्महत्या गरेको घटनाको सम्बन्धमा छानबिन गर्ने गृह मन्त्रालयले जनाएको छ ।

यसैबीच मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी यही २६ गते मुगुमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ३२ जनाका परिवारका लागि सरकारबाट दिइने राहत तथा घाइतेको उपचार सहयोग रकम भुक्तानीका लागि प्रक्रिया आरम्भ भएको जनाएको छ ।

नेपालगञ्जबाट मुगु जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस रारा नगरपालिका–७ तपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १३ जना घाइते भएका थिए । सरकारले मृतकका परिवारलाई किरिया खर्चबापत २५ हजार र एक लाख रुपैयाँ आर्थिक सहायता दिने र घाइतेको उपचार गर्ने घोषणा गरेको थियो ।

प्रकाशित : आश्विन ३१, २०७८ २१:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×