हिरासतभित्रका मृत्यु प्रकरण : गृहद्वारा छानबिन समिति गठन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिरासतभित्रका मृत्यु प्रकरण : गृहद्वारा छानबिन समिति गठन

रासस

काठमाडौँ — गृह मन्त्रालयले हिरासतभित्र भएका मृत्युका घटनाका अनुसन्धान गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । कारागारमा र प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन गरी भविष्यमा त्यस्ता घटना हुन नदिन तथा कारागार व्यवस्थापनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव पेश गर्ने गरी उक्त समिति गठन गरिएको हो ।

छानबिन समितिले यही असोज २४ मा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका एक व्यक्ति, असोज २५ मा कैलालीको टिकापुर इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्ति र असोज २६ मा जिल्ला कारागार पर्वतमा रहेका एक बन्दीले आत्महत्या गरेको घटनाको सम्बन्धमा छानबिन गर्ने गृह मन्त्रालयले जनाएको छ ।

यसैबीच मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी यही २६ गते मुगुमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ३२ जनाका परिवारका लागि सरकारबाट दिइने राहत तथा घाइतेको उपचार सहयोग रकम भुक्तानीका लागि प्रक्रिया आरम्भ भएको जनाएको छ ।

नेपालगञ्जबाट मुगु जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस रारा नगरपालिका–७ तपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १३ जना घाइते भएका थिए । सरकारले मृतकका परिवारलाई किरिया खर्चबापत २५ हजार र एक लाख रुपैयाँ आर्थिक सहायता दिने र घाइतेको उपचार गर्ने घोषणा गरेको थियो ।

प्रकाशित : आश्विन ३१, २०७८ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्

पाटनमा ‘खड्ग पायो’ जात्रा

विजयादशमीको दिन देखाइयो पाटन दरबार क्षेत्रमा नवदुर्गा नाच र खड्ग जात्रा, बुङमतीमा भैरवनाथको जात्रा
प्रशान्त माली

काठमाडौँ — ललितपुरको ठेचोका ७७ वर्षीय रामगोविन्द मालीलाई बुढ्यौलीले छोपिसकेको छ । तैपनि उनमा स्थानीय जात्राप्रतिको लगाव भने उत्तिकै छ । नवदुर्गा गुठीका गुठियार उनी शुक्रबार पनि झन्डै ७ किलोमिटर हिँडेर नवदुर्गा नाचमा बाजा बजाउन मंगलबजार पुगे ।

शनिबार ललितपुरको बुंगमतीमा देखाइएको घोडा नाच । तस्बिर : संजोग मानन्धर, कान्तिपुर

विजयादशमीका अवसरमा पाटन दरबार क्षेत्रस्थित मूलचोकमा नवदुर्गा नाच प्रदर्शन गर्न गुठियारहरू मुख्य देवता (मू द्यः), मुकुन्डो, कलेवर पोसाक, गरगहना खर्पनमा बोकेर पैदल हिँड्ने परम्परा छ । दरबार क्षेत्रमा विजयादशमी र कोजाग्रत पूणिमामा गरी दुई पटक नवदुर्गा नचाउने परम्परा छ । यो नाच लिच्छविकालदेखि नै दसैंका दिन विजयोत्सवका रूपमा प्रदर्शन हुँदै आएको छ । नाचकै क्रममा लिच्छवि राजा मानदेवका इष्टदेवता मनमानेश्वरी (पुरानो तलेजु) लाई नवदुर्गा गणका भैरव, काली र बाराहीले फूलमाला चढाएर हर्षबढाइँ गरेका थिए । मनमानेश्वरीले ठेचो नवदुर्गा गण साथमा लिएर असत्यमाथि विजय प्राप्त गरेको विश्वासमा बधाई दिने चलन छ ।

तान्त्रिक, यान्त्रिक र वैदिक विधिद्वारा नचाइने नाच विभिन्न कथामा आधारित छ । नाचमा खः कोतेलिगु भनी भैरव, काली र बाराही बीचमा, अन्य देवगण दायाँबायाँ बसेर नृत्य प्रस्तुत गरिन्छ । त्यसपछि क्रमशः कुमारी, गणेश, विष्णुदेवी, ब्रह्मायणी, महालक्ष्मीलगायत देवगणको नृत्य प्रस्तुत हुन्छ । नवदुर्गा नृत्य हेर्न शुक्रबार दरबार क्षेत्रमा ठूलो भीड लागेको थियो । नवदुर्गा नाच प्रदर्शन गर्न देवतालाई एकबाट अर्को स्थानमा लैजाँदा नवदुर्गा धिमे पुचः ठेचोले बाजा बजाएर स्वागत गरेको थियो ।

विजयादशमीकै दिन दरबार क्षेत्रमा यस पटक ६० वर्षपछि तीनवटा खड्गसहित खड्ग पायो जात्रा निकालिएको थियो । पाटन दरवारको ‘मू छेँ आँगन घर’ का गुठियारले यो जात्रा निकाल्ने चलन छ । यसअघि एउटा मात्र खड्ग बोक्ने गरिएको थियो ।

उपत्यकाको अमूर्त सम्पदाका रूपमा रहे पनि नवदुर्गा नाच देखाउने क्रममा गुठीले भने आर्थिक समस्या व्यहोर्दै आएको छ । नियमित आर्थिक स्रोत नहुँदा गुठियारहरूले नै रकम उठाएर जात्रा निकाल्ने गरेको पुचः ठेचोका अध्यक्ष राज मालीले बताए । ‘पुचः धर्मप्रतिको आस्थाका कारणले मात्रै सञ्चालन हुँदै आइरहेको छ, गोदावरी नगरपालिकाले यस वर्ष केही रकम सहयोग गरे पनि नियमित रूपमा सहयोग आउने गरेको छैन ।’

नवदुर्गा गुठीका नाइके जितेन्द्र मालीले पनि संस्कृति सम्पदा जोगाउन गुठियार मात्र नभई राज्यपक्षले पनि हातेमालो गर्नुपर्ने बताए । नाचलाई निरन्तरता दिन आर्थिक मात्र नभएर गुठियार नभेटिने समस्या पनि उत्तिकै छ । नवदुर्गा नाचमा काली भएर नृत्य गर्ने व्यक्ति (गुठियार) पनि भेटिएको छैन । चिलाग समात्ने, सिंघिनी, बघिनी, काली, बाराही, कुमारी, ब्रह्मायणी, महालक्ष्मी देवता समात्ने पनि कोही छैन । तर, गुठियार नभए पनि संस्कृति र परम्परालाई जगेर्ना गर्न यस पटक ठेचो लाइझोल टोलका रत्नबहादुर माली र सुर्जमान माली आफैं चिलाग समात्न अघि सरे । ठेचो पाँचो टोलका सरोज माली, राजीव माली, तःननी टोलका महेन्द्र माली, मनोज माली, लाइझोलका राजन माली, बिकी माली, दीपेन्द्र माली र पुखुसी टोलका रोशन मालीले पोमी (देवता समात्ने) व्यक्तिको भूमिका निभाए । त्यसमै मिसिए हीरादेवी माली, सञ्जु माली (महर्जन), सानदेवी माली र नग्मा माली पनि । सबै मिलेर पाटन दरबार क्षेत्रमा दसैंकै दिन पारेर ठेचोको नवदुर्गा नाच मञ्चन गरेका हुन् ।

दसैंकै अवसरमा बुङमती मत्स्येन्द्र बहालमा भैरवनाथको जात्रा सम्पन्न भएको छ । घटस्थापनाका दिनदेखि विधिवत् सुरु हुने जात्रा विजयादशमी र एकादशीसम्म मनाइन्छ । विजयादशमी र एकादशीको दिन दिउँसो पुरुष भैरव (आजु) र महिला भैरव (अजी) लाई सिंगारिएको खटमा राखी टोलटोल घुमाएर जात्रा गराइन्छ । दशमीको राति बाँसको लिंगो ठड्याउने चलन पनि छ । लिंगोमा एक जना चढ्ने परम्परा छ । सोही व्यक्तिलाई देवशक्तिले तानेर हनुमानका रूपमा बाँसको लिंगो चढ्न लगाउँछ भन्ने जनविश्वास छ । त्यसैगरी घोडाको मूर्तिमा मुकुन्डो लगाएर नचाइन्छ, जसलाई ब्वसलः भनिन्छ भने नाचलाई स्थानीय भाषामा ‘सल्चा प्याख’ भनिन्छ ।

प्रकाशित : आश्विन ३१, २०७८ २१:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×