मोहम्मद मृत्यु प्रकरणका दोषीमाथि कारबाही गर्ने गृहमन्त्रीको प्रतिवद्धता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोहम्मद मृत्यु प्रकरणका दोषीमाथि कारबाही गर्ने गृहमन्त्रीको प्रतिवद्धता

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाणले सुनसरीका मोहम्मद हकीम साहको मृत्यु प्रकरणमा छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।


भोक्ताहा नरसिंह गाउँपालिकाका साहको २४ असोजमा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा मृत्यु भएको थियो । उनको मृत्युबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आइतबार मुस्लिम समुदायसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुले गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझाएका छन् ।

जवाफमा मन्त्री खाणले नागरिकको जीवन रक्षा गर्न सरकार सधैँ तत्पर रहेको बताए । उनले सामाजिक सद्भाव कायम राख्दै तथ्य बाहिर ल्याउन सरकार र आफू संवेदनशील रहेको बताए ।

ज्ञापनपत्र बुझाउन इस्लामी संघका अध्यक्ष खुर्शिद आलम, नेपाल मुस्लिम संघका महासचिव रहमतुल्ला मियाँ, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीसहित ११ जना मन्त्रालयमा पुगेका थिए ।

प्रकाशित : आश्विन ३१, २०७८ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली फुटबल टिमलाई २ लाख पुरस्कार दिने कुश्मा नगरपालिकाको घोषणा

अगन्धर तिवारी

पर्वत — साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाली टीमलाई पर्वतको कुश्मा नगरपालिकाले २ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले शनिबार भारतसँगको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली फुटबल टीमलाई पुरस्कारस्वरुप उक्त रकम दिने सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

‘नेपाली फुटबलको क्षेत्रमा इतिहास रच्दै उत्कृष्ट खेल प्रदर्शनसहित भारतसँगको खेलमा उपविजेता बन्न सफल नेपाली खेलाडीहरुको उच्च सम्मान गर्दै नगरपालिकाको तर्फबाट २ लाख पुरस्कारको घोषणा गर्दछु,’ नगरप्रमुख जोशीले फेसबुकमा लेखेका छन् ।

खेलाडीहरुको सम्मान गर्न सकेमात्रै नेपाली खेलकुद क्षेत्र विकास हुने भएकोले आफूले उक्त रकम पुरस्कारस्वरुप दिने घोषणा गरेको जोशीले बताए । ‘हरेक क्षेत्रमा निरन्तर लाग्ने व्यक्तिले सम्मान चाहेको हुन्छ,’ आफूले पुरस्कार घोषणा गर्नुको कारणबारे जोशीले भने, ‘नेपाली खेलाडीको हौसला बढाउन हामीले टोकन अफ लभ स्वरुप यो पुरस्कार घोषणा गरेका हौं ।’ सीमित स्रोत साधनका बाबजुद नेपाली खेलाडीले देखाएको यो सफलता नेपालजस्तो मुलुकका लागि ऐतिहासिक भएको उनले बताए ।

नगरपालिकाले छिट्टै नगर समिति बैठक डाकेर उक्त पुरस्कार रकम नेपाली खेलाडीसमक्ष पुर्‍याउने जोशीले बताए ।

सिंगो देशको प्रतिष्ठा उच्च बनाउने गरी प्रदर्शन गर्ने खेलाडीहरुको सम्मानमा केन्द्र सरकारले पनि चासो दिनुपर्ने जोशीको भनाइ थियो । उनले राज्यले खेल क्षेत्रमा लगानी बढाएर विद्यालय तहदेखि नै खेलाडी उत्पादन गर्न सके नेपाली युवाहरुले खेलबाटै नेपाललाई विश्वमा चिनाउन सक्ने दाबी गरे ।

प्रकाशित : आश्विन ३१, २०७८ १७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×