१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चन्द नेतृत्वको नेकपासँगका सहमति कार्यान्वयन गर्न गृहमन्त्रीले थाले पहल

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग सरकारले गरेका सहमति कार्यान्वयनका लागि पहल थालेका छन् । उनले सहमति कार्यान्वयनकालागि कसरी अगाडि बढ्ने भन्ने विषयमा आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्मबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गरेका छन् ।

चन्द नेतृत्वको नेकपासँगका सहमति कार्यान्वयन गर्न गृहमन्त्रीले थाले पहल

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो । तर, केपी ओली नेतृत्वको सरकारले ती सबै सहमतिको कार्यान्वयन गरिसकेको थिएन । सहमतिका बाँकी बुँदा कार्यान्वयन गर्ने विषयमा वर्तमान सरकार बनेपछि नेकपाका महासचिव चन्दले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री खाँण, सत्ता गठबन्धन सम्बद्ध दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितलाई छुट्टा–छुट्टै भेट गरी आग्रह गरेका थिए ।

त्यसपछि गृहमन्त्री खाँणले आइतबार अहिलेसम्म सहमति कार्यान्वयनका लागि भएका काम र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेका हुन् । मन्त्री खाँणले सहमति कार्यान्वयनका लागि अहिलेसम्म आफूले नेकपाका नेताहरूसँग गरेका वार्ता र उनीहरूका मागबारे जानकारी गराएका थिए ।

बैठकमा सहमति कार्यान्वयनका लागि बाँकी रहेका विषयमा फेरि एक पटक छलफल गर्ने र तयारी पूरा भएपछि नेकपाका नेताहरूसँग बसेर टुंग्याउने सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा कानुन सचिव सापकोटा र महान्यायाधिवक्ता खातीले कस्ता मुद्दा खारेज गर्न मिल्ने र जेलमा रहेका कैदीबन्दीलाई रिहाई गर्न मिल्नेबारे जानकारी गराएका थिए । कानुन मन्त्रालयका सचिव सापकोटाले गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयबाट रिहाईका लागि आएका सिफारिस मध्ये अधिकांश कार्‍यान्वयन भइसकेको र केही फिर्ता गर्न नमिल्ने प्रकृतिका मात्रै बाँकी रहेको जानकारी गराएका थिए ।

२०७७ फागुन २० गतेको वार्तापछि तत्कालिन गृहमन्त्री रामबहादुर थापा र नेकपाको वार्ता टोली बीच सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

प्रकाशित : आश्विन ३१, २०७८ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?