कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

अस्पताल भर्ना हुँदै रुबीले भनिन्- ‘प्रहरीले नै दोषीहरुलाई संरक्षण दिएको छ’ 

कान्तिपुर संवाददाता

काठमाडौँ — बाँकेका दुई महिलाको हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संघर्षरत महिला अधिकारकर्मी रुबी खानले प्रहरीबाटै महिला हिंसा र हत्याका दोषीहरुलाई संरक्षण दिएर राख्ने काम भएको आरोप लगाएकी छन् । उनले बाँके प्रहरीका एसपी मधुसूदन न्यौपाने र डिएसपी श्यामकृष्ण अधिकारीले नै अभियुक्तहरुलाई संरक्षण दिएर राखेको, न्यायका लागि संघर्ष गर्दा महिला अधिकारकर्मी र मृतकका परिवारलाई अभद्र व्यवहार गरेको भन्दै उनीहरुलाई पनि कारबाही गर्नुपर्ने माग गरिन् । 

अस्पताल भर्ना हुँदै रुबीले भनिन्- ‘प्रहरीले नै दोषीहरुलाई संरक्षण दिएको छ’ 

८ दिनदेखि भोक हड्ताल बसेकी उनले शनिबार अस्पताल भर्ना हुनुअघि सञ्चारकर्मीहरुसँग भनिन्, ‘बाँके प्रहरीका एसपी र डिएसपीले नै अभियुक्तहरुलाई संरक्षण गरेर राख्नुभएको छ । पीडितलाई न्याय दिलाइयोस् भन्ने माग गर्दा महिला अधिकारकर्मीहरु र मृतकका आफन्तहरुलाई नै अभद्र व्यवहार भएको छ । त्यसैले दोषीको संरक्षण गर्ने प्रहरीले पीडितलाई न्याय दिन सक्दैन । सबैभन्दा पहिले त डिएसपी श्यामकृष्ण अधिकारी र एसपी मधुसूदन न्यौपानेलाई विभागीय कारबाही गरियोस् भनेर म सरकारसँग माग गर्दछु ।’

महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य खानले आफूहरुको आन्दोलनलाई बिथोल्न प्रहरीले अनेक हर्कत गरेको आरोप लगाइन् । ‘बाँकेमा प्रहरीले अदालतसम्म मुद्दा पुर्‍यायौं भनेर सन्देश प्रवाह गरिरहेको छ । तर, वास्तवमा त्यस्तो भइरहेको छैन । नन्कुन्नी धोबीको हत्यामा संलग्न २ जनालाई समातिएको मात्रै हो । अर्को निर्मला कुर्मीको केसमा कसैलाई पनि प्रहरीले समातेको छैन,’ उनले भनिन्, ‘हामीमाथि अनावश्यक दबाब, धम्की र धरपकड गर्ने काम भइरहेको छ । अब त हामी संघर्षमा उत्रिएका महिलाहरुले नै असुरक्षित छौं । हाम्रो सुरक्षाको ग्यारेन्टी गरियोस् ।’

उनले आन्दोलनरत महिलाहरुका घरमा आन्दोलनबाट फिर्ता हुन भन्दै धम्की दिने, झुटो मुद्दा लगाउँछु भनेर धम्क्याउने जस्ता गतिविधि भइरहेको बताइन् । ‘हामी यहाँ जो साथीहरु छौं, हाम्रो घरमा मान्छेहरु पठाएर धम्की दिने, डर देखाउने जस्ता कार्यहरु भइरहेको छ । त्यहाँ आन्दोलनमा किन बसिरहेको ? घर आऊ भनेर दबाब दिने काम भइरहेको छ । आउँछौं भने आऊ, नत्र के गर्नुपर्छ हामीलाई थाहा छ भनेर समेत धम्क्याइरहेका छन्,’ उनले भनिन्, ‘हामी सबै आन्दोलनकारीहरुको सुरक्षाको ग्यारेन्टी गरियोस् । हामीमाथि कुनै पनि झुटो मुद्दा लगाउन पाइँदैन ।’

उनले यो आन्दोलन २ महिलाको हत्याको विषयमात्रै नभएर समग्र महिला हिंसा र हत्याका घटनासँग जोडिएको बताइन् । उनले सबैलाई आन्दोलनमा साथ दिनसमेत आह्वान गरिन् । ‘मैले प्रहरी हिरासतदेखि नै भोक हड्ताल थालेकी हुँ । अहिले मलाई श्वास लिनै गाह्रो भइरहेको छ, यो आन्दोलनको नेतृत्व मैले गरिरहेकी हुँ । तर अब म अस्पताल हुन्छु । यो आन्दोलनको जिम्मा तपाईंहरुको हो,’ उनले भनिन् ।

खानले आफूमाथि प्रहरीले ज्यादती गरेका घटनाको फेहरिस्त सुनाएकी थिइन् । ‘जुन दिन प्रहरीले हामीलाई उपचारका लागि भनेर अस्पताल पुर्‍यायो । त्यहाँ हाम्रो उपचार भएन । बरु पुरुष प्रहरीहरुले हामीमाथि धरपकड गरे । धरपकड गर्दाखेरि प्रहरीले मेरो झोलामा रहेका महत्वपूर्ण कागजात र ल्यापटप गायब गरिदिएको छ । त्यसपछि मलाई रातारात नेपालगञ्ज पुर्‍याएर झुटो मुद्दामा फसाउने कसरत समेत गरिएको छ,’ खानले प्रश्न गरिन्, ‘न पक्राउ पुर्जी छ, न कुनै मुद्दा लगाउने मिल्ने कुनै विषय र प्रमाण छ, त्यसरी किन ममाथि अत्याचार गरियो ?’

खानलाई २२ असोजमा माइतीघरबाट पक्राउ गरी नेपालगञ्ज पुर्‍याएको थियो । सर्वोच्च अदालतले निसर्त रिहा गर्न आदेश दिएपछि उनी बिहीबार थुनामुक्त भएकी हुन् । खानले आन्दोलनको नेतृत्व गरिरहेकी आफूलाई झुटो मुद्दामा फसाएर आन्दोलनलाई बिथोल्ने प्रयास भएको बताएकी छन् । ‘ममाथि प्रहरीले झुटो मुद्दा लगायो । आन्दोलन रोक्नका लागि जालझेल गर्‍यो,’ खानले भनिन्, ‘मलाई अझै पनि प्रहरीले जुनसुकै बेला पक्राउ गर्न सक्छ । जति पटक पक्राउ गरे पनि मलाई केही छैन । हामी न्याय नपाएसम्म नेपालगन्ज फर्किदैनौं ।’

शनिबार खानलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । स्रोतका अनुसार उनले त्यहाँ पनि आमरण अनशनलाई निरन्तरता दिने छिन् ।

नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्या प्रकरणलाई लिएर अधिकारकर्मी र आफन्तले ४९ दिनदेखि संघर्ष गरिरहेका छन् । धोबी गत ५ साउनमा आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । उनको हत्या भएको माइतीपक्षको आरोप छ । तर, प्रहरीले धोबीको पोष्टमार्टम रिपोर्टले आत्महत्या गरेको देखाएको दाबी गर्न छाडेको छैन । कुर्मी भने गत वर्षको मंसिरदेखि बेपत्ता छिन् । दुई छोरीकी आमा उनलाई किन र कसले बेपत्ता पार्‍यो ? अहिलेसम्म प्रहरीसँग जवाफ छैन । कुमीका आफन्तले गत मंसिर १६ मै किटानी जाहेरी दिए पनि प्रहरीले गरेको अनुसन्धानप्रति उनीहरु सन्तुष्ट छैनन् ।

यी नै मुद्दामा दोषीको पहिचान गरी कारबाही गर्नुपर्ने मागसहित अधिकारकर्मी र आफन्तले जिल्ला प्रहरी कार्यालय बाँके अगाडि १९ दिनसम्म धर्ना दिएका थिए । तर जिल्लाका प्रशासकले माग नसुनेपछि उनीहरु प्रदेश सरकारसम्म पनि पुगे । त्यसपछि २१ असोजमा २० दिनसम्म रातदिन पैदल हिँडेर उनीहरु काठमाडौं आइपुगेका हुन् । त्यसयता उनीहरु दिनुहँ माइतीघर पुगेर सरकारलाई घच्घच्याइरहेका छन् । तर, सरकारले उनीहरुका मागबारे कुनै चासो देखाएको छैन । गृहमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर ध्यानाकर्षण गराउने भन्दै आएका उनीहरुलाई कसैले पनि भेट दिएका छैनन् ।

प्रकाशित : आश्विन ३०, २०७८ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?