३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

आजदेखि वर्षाको सम्भावना

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आजदेखि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजदेखि वर्षाको सम्भावना

महाशाखाका अनुसार आज अपराह्नदेखि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हिमपातको पनि सम्भावना रहेको छ ।

काठमाडौँ उपत्यकामा बिहानदेखि घाम लागे पनि मध्याह्नदेखि क्षणिक रुपमा घाम ओझेलमा पर्नाका साथै खण्डित रुपमा कुहिरो देख्न सकिन्छ । महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश नं १, २ र वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यही असोज ३१ गते देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ८ र न्यूनतम तापक्रम १८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित : आश्विन ३०, २०७८ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?