किन बढ्छन् दसैंमा सवारी दुर्घटना ? - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन बढ्छन् दसैंमा सवारी दुर्घटना ? 

– यो दसैंका ७ दिनमै ४८५ सडक दुर्घटनामा परी ८९ जनाले ज्यान गुमाएका छन् भने ७५३ जना घाइते भएका छन् । 
– प्रहरीकाअनुसार दुर्घटनाका ४ कारण–सडकको दुरावस्था, सवारी साधनको नियमित मर्मतसम्भार नहुनु, यात्रुको संख्या बढी हुनु र एक जनामात्रै चालक हुनु ।
प्रकाश धौलाकोटी

काठमाडौँ — गत मंगलबार मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा बस दुर्घटना हुँदा १० महिलासहित ३२ जनाले ज्यान गुमाए । उनीहरुमध्ये २४ जनाको घटनास्थलमै र बाँकीको उद्धार र उपचारको क्रममा मृत्यु भयो । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार नेपालगन्जबाट मुगुतर्फ जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस टायर पङ्चर भएर पड्किएपछि अनियन्त्रित भएको थियो ।

‘बस सडकबाट दुई सय मिटरभन्दा तल खसेको हो । बस नै टुक्रा–टुक्रा भएको छ । बेलैमा उद्धार गर्न सफल भयौं, नत्र अरुलाई पनि बचाउन कठिन थियो,’ प्रजिअ महतले इकान्तिपुरसँग भने, ‘मर्नेमध्ये ५ जनाको शव नेपालगन्ज पठायौँ । बाँकी सबै मुगुकै हुन् । धेरै जना युवा विद्यार्थीहरु नै थिए ।’ दुर्घटनामा घाइते १३ जनाको उपचार भइरहेको उनले बताए ।

सोमबारमात्रै पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ को घान्द्रुक जाँदै गरेको जिप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका थिए । ग १ ज ६९०० नम्बरको बोलेरो कलाभीर भन्ने ठाउँमा सडकबाट १ सय मिटर तल खसेको थियो । दसैंको मुखैमा भएका यी दुई सडक दुर्घटनाले लामो–छोटो यात्रा गर्ने यात्रुको मनै सिरिङ्ग बनाए । दुर्घटनापछि सिंगो मुगु नै शोकमग्न बनेको छ । दसैंतिहारजस्ता चाडपर्वका बेला जब यात्रुको चाप बढी हुन्छ, यस्तै ठूलठूला दुर्घटना हुने गरेका छन् ।

तथ्यांकले पनि मानिसहरुको आवतजावत बढी हुँदा दुर्घटनाको दर बढेको देखाउँछ । दसैंमा पढाई, रोजगारी र अन्य कारणले सहरमा बसेकाहरु परिवार, नातेदार र आफन्तलाई भेट्न, टीका लगाउन गाउँ जान्छन् । त्यही कारण दसैंअघि घर जाने र दसैंपछि घरबाट फर्किनेहरुको भीडले सार्वजनिक सवारी साधन चढिनसक्नु हुन्छ । प्रहरीकाअनुसार यो वर्षको घटस्थापनादेखि बिहीबार बिहानसम्म अर्थात् ७ दिनमै सडक दुर्घटनामा परी ८९ जनाको ज्यान गएको छ । देशभर भएका ४८५ वटा सडक दुर्घटनामा ७५३ जना घाइते भएका छन् ।

दुर्घटना भएकामध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् । ३८४ वटा मोटरसाइकल दुर्घटना हुँदा २९ जनाको ज्यान गएको छ भने ५७५ जना घाइते भएका छन् । त्यस्तै, ३३ वटा बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते छन् । यो ७ दिनमा कार १५, जिप २९, ट्याक्टर २० र टिपर ४ वटा दुर्घटना भएका छन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार दैनिक सरदर ७ जनाको सडक दुर्घटनामा परी मृत्यु हुन्छ । तर, दसैंका दिनमा यस्तो संख्या थप वृद्धि हुन्छ । ‘अरु बेला निजी सवारी साधनको दुर्घटना दर ठूलो हुन्छ । दसैंका बेला सार्वजनिक यातायात नै दुर्घटनामा पर्छन्, जसले गर्दा थोरै दुर्घटना हुँदा पनि धेरै मानवीय क्षति हुन्छ,’ प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले भने ।

प्रहरीका अनुसार ०७७ सालको दसैंमा घटस्थापनादेखि पूर्णिमासम्म ११४ जनाको ज्यान गएको थियो । ८५६ वटा दुर्घटनामा १२३६ जना घाइते भएका थिए । ०७६ सालको दसैंमा ७०० दुर्घटनामा १११ जनाको मृत्यु भएको थियो भने १०१० जना घाइते भएका थिए । त्यस्तै, ०७६ को दसैंमा १२९ जनाको मृत्यु भएको थियो । ५६८ दुर्घटनामा परी ८५७ जना घाइते भएका थिए ।

प्रहरी प्रवक्ता कुँवरले दसैंमा यात्रुको संख्या धेरै हुने, तर त्यसलाई थेग्न सक्ने सवारी साधन र सडक नहुँदा दुर्घटना हुने गरेको बताए । उनका अनुसार दुर्घटनाका ४ कारण छन्—सडकको दुरावस्था, सवारी साधनको नियमित मर्मतसम्भार नहुनु, यात्रुको संख्या बढी हुनु, नियमित रुपमा एक जनामात्रै चालक हुनु ।

‘दसैंको बेलामा यात्रुको अत्यधिक चाप हुन्छ । तर, गाडी थपिएका हुँदैनन् । सडक पहिलेकै जतिमात्रै हो । जहाँ सवारी चाप बढ्छ, त्यहाँ दुर्घटनाको सम्भावना यसै पनि बढ्छ,’ उनी भन्छन्, ‘यात्रुको संख्या एकैपटक बढेपछि एउटै सवारी एकैदिन पटक–पटक प्रयोग हुन्छ । चालक एउटै हुन्छ । सवारी साधन मर्मत नियमित हुन पाउँदैन । त्यहीकारण बढी दुर्घटना हुने भइरहेका हुन्छन् ।’

यातायात कम्पनी र चालकहरुको थोरै बढी कमाउने लोभले क्षमताभन्दा बढी यात्रु बोक्न तयार हुने कारणले पनि दुर्घटना निम्तिने गरेको उनले बताए । ‘यातायात साधन भनेको मेसिन हो । यसलाई नियमित मर्मत सम्भार सरसफाई र रेस्ट दिनुपर्छ । दसैंका लागि त्यस्तो कुरामा ध्यान दिइँदैन । पहाडी क्षेत्रमा त थोत्रा गाडी हुन्छन् । त्यसमाथि क्षमताभन्दा धेरै यात्रु बोकेपछि दुर्घटना निम्तिने हो,’ कुँवरले भने ।

सडक सुरक्षा विज्ञ एवम् सुरक्षित र दीगो यात्रा नेपालका अध्यक्ष हेमन्त तिवारी पनि दसैंतिहार जस्ता चाडपर्वका बेलामा लामो दुरीका सार्वजनिक यातायात दुर्घटनाले वर्सेनि ठूलो क्षति हुने गरेको बताउँछन् । ‘मान्छेहरुको आवतजावत बढेपछि सवारी चाप पनि बढ्छ । त्यसले गर्दा दुर्घटना पनि अरुबेला भन्दा बढी हुन्छन् । दसैंतिहारजस्ता चाडपर्वका बेला अरुबेला भन्दा करिब १० प्रतिशत बढी दुर्घटनाहरु हुने गरेको पाइन्छ,’ तिवारी भन्छन्, ‘यसको मुख्यकारण क्षमताभन्दा बढी यात्रु बोक्नु नै हो ।’

चाडपर्वका बेला यात्रुको चाप बढेपछि लामो दुरीका सवारी साधनका चालकले पालो पाउँदैनन्, न त सवारीसाधनको नियमित परीक्षण र मर्मत सम्भारको लागि पर्याप्त समय । अरुबेला ५ दिनमा १ दिन पालो पाउने सवारीसाधनले चाडपर्वका बेला हरेक दिन गुड्नुपर्छ । त्यसकारण गाडीको इन्जिन र मेसिनरी सामानहरुमा क्षति पुग्छ । निरन्तरको सक्रियताले चालक पनि मानसिक र शारीरिक दबाबमा पर्छन् ।

तिवारीले उदाहरण दिँदै भने, ‘मानौं, सुर्खेतबाट काठमाडौं आउने गाडी दिउँसो १२ बजे आइपुग्छ । चालकले २ घण्टा आराम गर्न पाएका हुँदैनन्, फेरि गाडी लिएर हिँडिहाल्नुपर्छ, कम्पनीले अर्को चालकको व्यवस्था गरेका हुँदैनन्, एउटै चालकले आज गाडी लिएर आउँछ, भोलि फेरि उसैले गाउँ–गाउँ पुर्‍याउँछ, त्यसकारण चाडपर्वका बेला लामो दुरीका सवारी साधनमा चालक पनि तनावमा हुन्छन् ।’

सहरी क्षेत्रमा भने चाडपर्वका बेला मदिरा सेवन दुर्घटनाको कारण रहेको उनी बताउँछन् । ‘मानिसहरुले मापसे गर्ने र द्रुत गतिमा सवारी गुडाउने गर्नाले चाडपर्वका बेला धेरैजसो दुई पाङ्ग्रे र निजी सवारी साधनहरुको दुर्घटना हुन्छ । अहिले काठमाडौं र ठूला सहरमा दिनमै ८–१० वटा मोटर साइकल दुर्घटना भइरहेका छन्, त्यसको कारण यही हो ।’

उनले दुर्घटनाको अर्को कारण सडकको दुरावस्था रहेको बताए । ‘सरकारले सडकलाई व्यवस्थित गर्न सकेको छैन । सडकमा न जेब्राक्रसिङ छ, न पैदल यात्रु हिँड्ने बाटो, त्यसकारण पनि धेरै दुर्घटनाहरु भएका छन्,’उनी भन्छन्, ‘दसैंमा पहाडी र हिमाली जिल्लामा ठूलो जनधनको क्षति हुने गरी दुर्घटना भइरहेका छन्, त्यो भनेको सडकको कारण पनि हो । वर्षा र झरीले भत्किएका/बिग्रिएका सडक सरकारले समयमा मर्मत नगरेका कारणले पनि दुर्घटना हुने गरेका छन् ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को एक अध्ययनले भने नेपालमा वार्षिक ५ हजार जनाको सडक दुर्घटनाबाट ज्यान जाने गरेको छ । त्यस्तो मृत्यु हुनेमध्येमा ८० प्रतिशत पुरुष र २० प्रतिशत महिला छन् । चालकको लापरबाही, सवारी अति तीव्रगतिमा हाँक्नु, मादक पदार्थ सेवन गरी सवारी चलाउनु, सवारी साधनको यान्त्रिक गडबडीका कारण सवारी दुर्घटना भइरहेको डब्लुएचओको निष्कर्ष छ ।

राजधानीलगायत सहरी क्षेत्रमा सवारीको अत्यधिक चाप, कमजोर ट्राफिक व्यवस्थापन, सहरी मापदण्डअनुसारको गुणस्तरीय सडकको अभाव, चालकको लापरबाही, यात्रुहरुको जथाभावी सडक काट्ने प्रवृत्ति, सडकका पेटीहरूको अतिक्रमण, पुराना सवारीको बाहुल्यता, ट्राफिक संकेतको अभावलगायतका कारण सवारी दुर्घटना बढिरहेको डब्लुएचओको प्रतिवेदनले भनेको छ ।

प्रकाशित : आश्विन २८, २०७८ २१:११
प्रतिक्रिया
पठाउनुहोस्

दबाबै दबाबले खेलाडीहरू मानसिक दबाबभित्र

नेपालमा मात्र होइन विश्व खेलकुदमा नै खेलाडीको मानसिक स्वास्थ्यका विषयले अझै पनि प्राथमिकता पाउन सकेको छैन । खेलाडीको शारीरिक चोटलाई मात्र चोट मानिन्छ । उनीहरूले भोगेका मानसिक पीडाबारे विश्लेषण गरेर समाधान खोजिँदैन ।
सविना कार्की

काठमाडौँ — ‘एथलेटिक्स’का गोपीचन्द्र पार्कीे गत २६ अगस्टमा विश्व चर्चित बर्लिन म्याराथनमा दौडिए । डेढ वर्षअघि स्वदेशमा आयोजित १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को ५ हजार मिटर दौडका स्वर्ण पदक विजेता हुन्, उनी । सागपछि उनले आफूलाई मध्यम दूरीबाट लामो दूरीको धावकमा रूपान्तरण गर्ने प्रयास गरेका थिए ।

जर्मनी जानुअघि राजधानी काठमाडौँमा उनको विदाइ कार्यक्रम गरियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालले उनलाई उत्कृष्ट प्रदर्शनको शुभकामनासहित विदाइ गरे । केही महिनाअघिमात्र खेल जीवनमा कल्पना नगरेको घटनाबाट पीडित गोपीचन्द्रले राम्रो प्रदर्शन गर्ने वाचा गरेनन् ।

आफ्नो विदाइमा उनले भनेका थिए,‘मैले एक महिनादेखि राम्रोसँग अभ्यास गर्न सकिरहेको छैन । मानसिकरूपमा म पूर्ण स्वस्थ छैन । मानिसहरूको सामना गर्न पनि मलाई कठीन भइरहेको छ । उनीहरूले मलाई नै हेरेर गिज्याएजस्तो लाग्छ । म कुनखाले मानसिक तनावबाट गुज्रिरहेको छु भनी शब्दमा व्याख्या गर्न पनि सक्दिनँ । त्यसैले बर्लिनमा मेरो प्रदर्शन राम्रो हुन्छ भन्नेमा मलाई त्यति विश्वास छैन ।’

हुन पनि नभन्दै त्यस्तै भयो । उनी आफ्नै उत्कृष्ट समय सुधार गर्न पनि असफल भए । गत वर्ष नेपालगञ्ज म्याराथनमा २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा दौड पूरा गरेका गोपीचन्द्रले बर्लिन म्याराथन सोचे जसरी दौडिन सकेनन् । उनले २ घण्टा ४६ मिनेट २९ सेकेण्डमा पूरा गरेका थिए । उनको आफ्नो उत्कृष्ट समयभन्दा यसपटक २८ मिनेट ३० सेकेण्डपछि दौड पूरा गरे । जुन उनी आफैले कल्पना गरेभन्दा निकै परको समय हो ।

गोपीचन्द्रले खुलेरै आफ्नो मानसिक अवस्था ठीक नरहेको बताएका थिए । हेर्दा सामान्यजस्तै लाग्न सक्छ तर, कुनै नेपाली खेलाडीले आफ्नो मानसिक स्थितिबारे त्यसरी सार्वजनिक रूपमा बोलेको उदाहरण छैन ।

गोपीचन्द्र तनावमा पर्नुको मुख्यकारण थियो,‘टोकियो ओलम्पिकबाट खेल्न बञ्चित हुनु ।’ नेपालगन्ज म्याराथनलाई नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले टोकियो ओलम्पिक छनोटको रूपमा मान्यता दिएको थियो । त्यो म्याराथन जितेपछि स्वाभाविक थियो, गोपीचन्द्रले ओलम्पिक खेल्ने सपना देखे । सागमा धावक बैकुण्ठ मानन्धरले राखेको २ घण्टा १५ मिनेट ०३ सेकेण्डको कीर्तिमान तोड्ने उनको लक्ष्य थियो ।

कीर्तिमान भङ्ग गर्ने लक्ष्य त कता हो कता उनले खेल्नसम्म पाएनन्। आफ्नै कारण खेल्न नपाएको भएपनि सायद् गोपीचन्द्रलाई चित्त बुझाउने बाटो हुन्थ्यो । तोकिएको समयमा उनको नाम दर्ता नभएका कारण ओलम्पिक खेल्नबाट बञ्चित भए । त्यसले पनि सायद् उनलाई बढी पीडा थियो । एनओसी, राखेप र उनको सम्बन्धित संघ नेपाल एथलेटिक्स संघले उनले खेल्न नपाउने विषयलाई हल्का रूपमा लियो । तीन निकायले विज्ञप्ती जारी गर्दै म्याराथनमा भाग लिन आवश्यक पर्ने समय गोपीचन्द्रको नभएको भनियो ।

सपना पूरा हुने दिनको नजिक पुगेर पनि पछि फर्किन वाध्य बनाइएका गोपीचन्द्रले त्यसपछिको समय मानसिक रूपमा कठीन भएको बताउँदै आएका छन् । उनले बेहोरेको मानसिक तनावको लेखाजोखा न उनको सङ्घले गर्‍यो, न राखेप वा एनओसीले । उनलाई परेको मानसिक असरलाई कसरी सम्बोधन गर्नेभन्दा पनि ती खेल संस्था उनलाई भविष्यमाअरू मौकाका लागि अवसर सृजना गर्ने आश्वासन बाँड्नमा लागे ।

उनले भोगेको मानसिक पीडा, गुमेको आत्मविश्वासको मापन कसरी गर्ने र त्यसको क्षतिपूर्ति कसले दिने ? हेर्दा सामान्य लाग्ने यो प्रश्न गम्भीर छ । यस्ता घटनाले खेलाडीमा पर्न जाने मानसिक पीडाबारे कमै चर्चा हुने गरेको छ वा भनौँ चर्चै हुँदैन ।

नेपालमा मात्र होइन विश्व खेलकुदमानै खेलाडीको मानसिक स्वास्थ्यका विषयले अझै पनि प्राथमिकता पाउन सकेको छैन । खेलाडीको शारीरिक चोटलाई मात्र चोट मानिन्छ । उनीहरूले भोगेका मानसिक पीडाबारे विश्लेषण गर्ने र समाधान खोजिँदैन । पछिल्ला केही घटनाले भने विश्व खेलकुदमा खेलाडीको मानसिक स्वास्थ्यका विषयमा बहस सुरू भएको छ । त्यसका लागि एकैछिन गत मे मा भएको टेनिसको चार ग्रान्डस्लाममध्येको एक ‘फ्रेन्च–ओपन’तर्फ फर्कौँ ।

खेलाडी र मानसिक स्वास्थ्य

कोभिड–१९ ले विश्व खेलकुदको क्यालेन्डरलाई असर पारिरहेको समयमा सन् २०२१ को ‘फ्रेन्च ओपन’ निर्धारित मिति मे को अन्त्यमा नै आयोजना हुने पक्का भयो । ‘फ्रेन्च ओपन’ सुरू हुनै लाग्दा जापानकी खेलाडी नाओमी ओसाकाले एउटा विज्ञप्ती जारी गरिन् । त्यसमा भनिएको थियो, ‘म खेलपछि हुने पत्रकार सम्मेलनमा भाग लिन्न । मेरो मानसिक स्वास्थ्यको ख्याल राख्न पत्रकारहरूले सोध्ने प्रश्नको सामना गर्दिन ।’

सर्वाधिक कमाइ गर्ने महिला एथलिट ओसाकाको यो निर्णयले टेनिस जगतमात्र होइन विश्व खेलुकदनै तरङ्गित बन्यो । सम्भवत: यसअघि कुनै खेलाडीले पत्रकार सम्मेलनमा भाग लिन्न भन्ने आँट गरेका थिएनन् । ओसाकाको निर्णयमा पक्ष र विपक्षमा मत आए ।

पौडी स्टार अमेरिकी माइकल फेल्प्सलगायत टेनिसका अन्य खेलाडीले ओसाकाको साहसको प्रशंसा गरे । खेलमा जीतहार स्वाभाविक हो । तर सबै खेलाडी पत्रकारले सोध्ने प्रश्नको जवाफ दिन मानसिक रूपमा तयार हुँदैनन् । ‘म त्यो अवस्थामा छैन, त्यसैले ‘पोस्ट म्याच कन्फरेन्स’मा सहभागी हुन्न’ भन्ने तर्क २३ वर्षीया ओसाकाको थियो ।

‘फ्रेन्च ओपन’सहित ‘युएस ओपन’, ‘विम्बल्डन’ र ‘अस्ट्रेलियन ओपन’का आयोजकलाई ओसाकाको निर्णयमा आपत्ति लाग्यो । उनीहरूले पत्रकार सम्मेलनमा नगए प्रतियोगितामा भाग लिनबाट प्रतिबन्ध लगाउनेसम्मको चेतावनी दिए ।

त्यसपछि ‘फ्रेन्च ओपन’को पहिलो चरणमा जीत हासिल गरिसकेकी चार पटककी ग्रान्डस्लाम विजेता ओसाकाले प्रतियोगिताबाटै नाम फिर्ता लिइन् । लगत्तैको अर्को ग्रान्डस्लाम विम्बल्डनमा पनि उनले भाग लिइनन् । लामो समयदेखि ‘डिप्रेसन’को शिकार भएको र कोर्टमा फर्किने स्थितिमा आफू नरहेकाले आराम गर्न चाहेको ओसाकाले बताइन् ।

ओसाकाको यो कदमपछि विश्व खेलकुदमा खेलाडीको मानसिक स्वास्थ्यलाई लिएर चर्चा सुरू भयो । विभिन्न खेलका खेलाडीले आफू पनि त्यस्तै अवस्थाबाट गुर्जिएको अनुभवहरू साट्न थाले । खेलाडी शारीरिक रूपमा फिट त हुनै पर्छ, मानसिक रूपमा पनि उत्तिकै फिट हुनुपर्छ भन्ने विषयले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा स्थान पाउन थाल्यो ।

यदि खेलाडी पत्रकारको प्रश्नको सामना गर्ने स्थितिमा छैनन् भने जबरजस्ती उसले क्यामराअगाडि उभिनै पर्छ ? पत्रकारसँग प्रश्न सोध्न पाउने अधिकार छ भन्नुको अर्थजस्तो अवस्थामा पनि प्रश्न गर्न उचित हुन्छ ? यसबारे बहस निरन्तरछ ।

स्टार खेलाडी नै बढी मानसिक समस्याबाट गुज्रिन्छन् भन्ने अन्य केही घटनाले प्रस्ट पारेको छ । ओसाकाले आफ्नो निर्णयका कारण धेरै नकारात्मक प्रतिक्रियाको सामना गरिन् । तर उनी आफ्नो निर्णयबाट पछि हटिनन् । सायद, ओसाकाको त्यो निर्णयकै कारण ‘फ्रेन्च ओपन’पछि आयोजना हुने ‘युएस ओपन’ आयोजकले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्यो । उसले खेलस्थलमा मनोचिकित्सक र आवश्यक परेको समयमा खेलाडीले आराम गर्नसक्ने कोठाको ब्यवस्था पनि गर्‍यो ।

मानसिक हेरचाह र सम्मान

इङ्ग्ल्यान्डका बेन स्टोक्स पछिल्लो समयका स्टार क्रिकेटर हुन् । अलराउन्डर स्टोक्सले गत जुलाई ३० मा विज्ञप्ती जारी गर्दै भने,‘तत्कालबाट लागू हुनेगरी मैले सबै संरचनाको क्रिकेटबाट आराम लिने निर्णय गरेको छु ।’

उनले मानसिक स्वास्थ्यका हेरचाहका लागि आराम गर्ने निर्णय लिएको बताए । स्टोक्सको निर्णयलाई इङ्ग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले सम्मान गर्‍यो । उनलाई टोलीका अन्य साथीले पनि साथ दिए । कोरोना महामारीपछि कडा नियमका बीच खेलाडीले ‘बायो बबल्स’मा लामो समय बस्नुपर्ने बाध्यता, परिवार, साथी–भाइदेखि टाढा हुँदा खेलाडीमा मानसिक तनाव बढिरहेको विभिन्न अध्ययनले देखाएको छ ।

टोकियो ओलम्पिकमा सहभागी स्टार खेलाडीमध्ये एक थिइन्, अमेरिकाकी जिम्न्यास्ट सिमोन बाइल्स । २०१६ को रियो ओलम्पिकमा चार स्वर्ण जितेकी बाइल्सले टोकियोमा कीर्तिमान बनाउने अपेक्षा गरिएको थियो । धेरैलाई आश्चर्यमा पार्दै २३ वर्षीया बाइल्सले ६ मध्ये ४ ‘इभेन्ट’बाट आफ्नो नाम फिर्ता लिइन् ।त्यस्तो गर्नुको कारण खुलाउँदै उनले भनेकी थिइन्,‘मानसिकरूपमा म फिट छैन । मेरो खराब प्रदर्शनले टिमलाइृ नोक्सान हुनसक्छ ।’बाइल्सको निर्णय कोभिड–१९ बीच भएको टोकियो ओलम्पिकमा प्रमुख विषय बन्यो । जसका कारण पहिलो पटक विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा मानसिक स्वास्थ्यले प्रवेश पायो ।

‘स्टार खेलाडीले हार्नै हुँदैन जसरी पनि जित्नैपर्छ’ भन्ने समर्थकको अपेक्षा हुन्छ । अनि सञ्चारमाध्यमबाटपर्ने दबाब, आर्थिक–सामाजिक अवस्थालगायतका कारण खेलाडीलाई मानसिकरूपमा कमजोर बनाइरहेको हुन्छ । यो वर्ष भएका यी तीन मुख्य घटनाले अब खेलकुदमा मानसिक स्वास्थ्य उत्तिकै महत्वपूर्ण विषय हो भन्ने देखिएको छ । यसलाई नजरअन्दाज गरिएको खण्डमा त्यसले नकारात्मक प्रतिफल दिन्छ भन्नेसम्मको चेतना ब्स्तिार गरेको छ ।

नेपालमा के छ अवस्था ?

विश्व खेलकुदमा खेलाडीको मानसिक स्वास्थ्यबारे भर्खर बहस सुरू भएको छ भने नेपालमा कस्तो अवस्था होला सहजै अनुमान लगाउन सकिन्छ । आधारभूत विषयमा अल्झिरहेको नेपाली खेलकुदमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्ने सवाल तत्काल सोच्न सकिएला र ?

सबैभन्दा पहिले त खेलाडीको मानसिक स्वास्थ्य के हो भन्ने नै थाहा छैन । खेलाडी स्वयम्ले पनि मानसिकरूपमा आफू ठीक छु वा छैन भनेर पहिचान गर्न सकिरहेका छैनन् । पहिचान गरिहाले पनि खुलस्त भन्ने वातावरण छैन ।

नेपालमा खेलाडीको मानसिक स्वास्थ्यका हकमा सार्वजनिक तहमा बहसले प्रवेशपाएको छैन । तर अधिकांश खेलाडीले आफ्नो ‘करिअर’को कुनै न कुनै क्षणमा मानसिकरूपमा विक्षिप्त भएको अनुभव भने गरेका छन् ।

मानसिकरूपमा कमजोर बनाउन अनेकन कारकतत्व अन्तर्निहित हुन्छन् नै । जसमा जित्नै पर्ने दबाब पर्नु, प्रदर्शन खस्किनु, चोटग्रस्त हुनु, आर्थिक समस्या, खेल संघमा खेलाडीको भावना नबुझ्ने पदाधिकारी कारण बनेका हुन्छन् । यसबाहेक हारलाई स्वीकार गर्न नसक्नु, जीतलाई सम्हाल्न नसक्नु, भविष्यको चिन्तालगायत नेपाली खेलाडीलाई मानसिकरूपमा कमजोर बनाउनेमध्येकै केही कारण हुन् । यी कारणहरूको सम्बोधन गर्ने प्रयास कहीँ कतैबाट नभएको खेलाडी सुनाउँछन् ।

क्रिकेट कप्तान पारसको अनुभूति

पूर्व कप्तान पारस खड्का नेपाली क्रिकेटको सर्वाधिक सफल व्यक्तित्व हुन् । उनको नेतृत्वमा नेपालले विश्व क्रिकेट लिग डिभिजन फाइभदेखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रको यात्रा तय गर्‍यो । २०१४ मा उनकै कप्तानमा नेपालले टि ट्वान्टी विश्वकप खेल्यो ।

पारसले ‘करिअर’को सुरूवातमा मानसिक तनाव महसुस गरेनन् । जसरी खेल जीवनअघि बढ्दै गयो त्यसपछि मानसिकरूपमा दबाब उनले महसुस गर्न थाले । क्रिकेटलाई नै ‘करिअर’ भनेर सोचिएको थिएन । देशका लागि खेल्ने हो भन्नेमात्र थियो । त्यसैले हरेक कुरा रमाइलो लाग्थ्यो । शत–प्रतिशत मन दिएर खेलिन्थ्यो । केही साताअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका पारस भन्छन्, ‘तर जब क्रिकेट लोकप्रिय हुँदै गयो । लक्ष्य बढ्दै गयो र क्रिकेट नै ‘करिअर’ हो भन्ने सोच्न थालियो, त्यसपछि दबाब पनि महसुस हुन थाल्यो ।’

टिममा भइरहेको खेलाडी एक्कासी टिम बाहिर हुँदा त्यसले सीधै मानसिक स्वास्थ्यमा असर पार्छ । ‘जीत र हारबीच सन्तुलन कायम गर्न नसक्नु, टिमबाट बाहिर हुँदाको पीडा, घरको आर्थिक अवस्था, भविष्यको चिन्ताले नेपाली क्रिकेट खेलाडीलाई सताइनै रहन्छ’ पारस भन्छन्, ‘नेपालमा खेलाडीका मानसिक स्वास्थ्यकाविषयमा छलफल गर्नसम्म पनि सहज मान्दैनन् । मआफै पनि खुलेर कुरा गर्न सक्दिनँ ।’

अझ यतिखेर सामाजिक सञ्जाल प्रयोगको जमाना छ । समर्थकहरूको अपेक्षा एकदम धेरै छ । ‘त्यो स्थितिलाई कसरी व्यवस्थापन गर्ने र आफ्नो अभ्यासलाई निरन्तरता दिने भन्ने परामर्शको अभाव नेपाली खेलकुदमा देखिन्छ’उनी भन्छन्, ‘सामाजिक सञ्जालमा रातारात हिरोमात्र होइन जिरो पनि बनाइन्छ । अनुभवका आधारमा मलाई लाग्छ आफू बलियो भएर मात्र नहुने रहेछ । परिवार र साथीभाइलाई त्यसले पारेको प्रभावले पनि कमजोर बनाउने रहेछ ।’

यतिखेर टिममा मनोचिकित्सकको पनि आवश्यकता हुन्छ भन्ने विषयलाई नेपाली खेलकुदले स्वीकारेको छैन । मानसिक स्वास्थ्य महत्वपूर्ण र गम्भीर विषय मान्ने पारस अब यसमा सम्बन्धित निकायको ध्यान जानुपर्नेमाजोड दिन्छन् । उनले टिमबाट बाहिरिएपछि निराश भएका खेलाडीलाई आफैले परामर्श दिएको अनुभव साटे । पारस भन्छन्, ‘खेल व्यावसायिक नहुँदा नेपाली खेलाडीलाई खेलको भन्दा बढी भविष्यको चिन्ताले सताइरहेको हुन्छ ।’

तलब, भत्ताकै लागि सङ्घर्ष गरिरहेको नेपाली खेलकुदमा मानसिक स्वास्थ्यको चर्चैनभएको सुनाउँछन्, उनी ।भन्छन्, ‘खेलाडीलाई मानसिकरूपमा बलियो हुनुपर्छ भनिन्छ, तर कसरी बलियो हुने भन्नेबारे कतैतिरबहस भएको मैले थाहा पाएको छैन ।’

ओलम्पियन दिपक बिष्ट व्यक्तिगत स्पर्धामा नेपाली खेलकुदका सर्वाधिक सफल खेलाडी हुन्। उनी आफै पटक–पटक मानसिक पीडाबाट गुज्रेको बताउँछन् । पटक–पटक मानसिकरूपमा स्वस्थ नहुँदा नहुँदै रिङमा उत्रिएको अनुभव उनीसँग छ ।

उनी स्मरण गर्छन्, ‘नवौँ र एघारौँ सागमा म एकदमै मानसिक तनावमा थिएँ । मबाट धेरै अपेक्षा राखिएको थियो । स्वर्ण जित्नुपर्छ भन्ने फोन कल, म्यासेज एकदमै धेरै आउँथे । असफल भएँ भने उनीहरूको सामना कसरी गर्ने भन्ने हुन्थ्यो ।’

छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दोस्रो नेपाली खेलाडी दीपकले सागमा लगातार ४ स्वर्ण र एसियाली खेलकुदमा दुई कास्य पदक जितेका थिए । उनले कतिपय अवस्थामा भने चोट बोकेरै प्रतिस्पर्धा गरेका थिए । उनले भने, ‘त्यस्तो बेला म छु साथमा, तिमीले खेल्न सक्छौ । कसैले हौसला दिए हुन्थ्यो भन्ने लाग्थ्यो ।’

दीपकले खेलाडीकारूपमा मात्र होइन, प्रशिक्षक भएपछि पनि मानसिकरूपमा दबाब खेप्नु परेको छ । त्यसको कारण थियो, १३ औँ सागमा आयशा शाक्य अर्थात् उनकी श्रीमती छनोट हुनु ।त्यसअघि नै आयशाले सागमा स्वर्ण पदक र एसियाली खेलकुदमा दीपकसँगै २००६ मा कास्य पदक जितिसकेकी थिइन् । टिकाटिप्पणी गर्नेले त्यो विषयलाई भन्दा पनि दीपकको श्रीमती भएकै कारण १३ औँ सागमा छनोट भएको आरोप लगाउन भ्याए ।

नेपाली सेनाबाट आठौँ राष्ट्रिय खेलकुदमा भाग लिएकी आयशा १३ औँ सागमा तेक्वान्दोको पुम्सेका लागि छनोट भएकी थिइन् । दुई छोराकी आमाले साग खेल्नुअघि नै आलोचना खेप्नुपर्दा त्यसबाट उनमा कस्तो मानसिक प्रभाव पर्‍यो होला भन्ने अनुमान कमैलाई थियो ।

आलोचकहरूको मुख थुन्न आयशाले स्वर्ण जित्नु जरूरी थियो । भयो पनि त्यस्तै आयशाले पुम्सेको एकल र जोडी दुवैमा स्वर्ण जितिन् । सफलतापछि आयशा र दीपक त्यहीँ निकै बेरसम्म रोए पनि । सायद, त्यो खुसीको क्षणमा त्यसअघिको पीडा भुलाउने प्रयास पनि थियो कि ? दीपक भन्छन्, ‘त्यो आँशु हामीले सामना गरेको मानसिक पीडाको उपज थियो ।’

दीपक आफै पनि अन्य खेलाडीलाई मानसिक पीडा कसरी कम गर्ने भन्नेबारे अनुभव साट्ने गरेको बताउँछन् । देशले खेलाडीबाट पदकको आश गर्ने हो भने उसको मानसिक स्वास्थ्यलाई पनि उत्तिकै ध्यान दिनुपर्ने कुरामा जोड दिँदै उनले भने, ‘ढिलै भए पनि खेलाडीको मानसिक स्वास्थ्यबारे बहस सुरू भएको छ, यसमा मलाई खुसी लागेको छ ।’

बक्सिङ खेलाडी मनोहर बस्नेत (म्याक्स) एक समय आफू आत्महत्या गर्नेसम्मको सोचमा पुगेको डरलाग्दो अनुभव सुनाउँछन् । बक्सिङको नेतृत्व तहमा खेल नबुझ्ने मानिसको आगमनले आफू मानसिकरूपमा कमजोर भएको उनको बुझाइ छ । खेलाडीको भावना नबुझेकै कारण आफूले आफ्नै सङ्घविरूद्ध प्रतिकारमा उत्रनु परेको म्याक्स स्मरण गर्छन् ।

प्रशिक्षकलाई भगवानजस्तो मान्ने उसले भनेका सबै कुरा सही भन्ने सोचले खेलाडीमाथि मानसिक दबाब हुने गरेको म्याक्सले निष्कर्ष निकालेका छन् । ‘खेलाडीकापनि कुरा सुन्ने, उसले के चाहन्छ भन्ने सोच्ने हाम्रो खेलकुदमा कोही छैन’ उनको गुनासो छ, ‘मेरो जमानामा एकसय भत्ता पाउँथेँ, तिमीहरूले २ सय पाइरहेको छौ भन्ने सोच हाबी छ ।’

म्याक्स साथीभाइ र परिवारको साथका कारण आफू त्यो खराब समयबाहिर निस्केको सुनाउँछन् । उनी भन्छन्,‘खेलाडीको मानसिक अवस्था कस्तो छ, उसको पारिवारिक र सामाजिक पृष्ठभूमि कस्तो छ, अध्ययन नगरी आफ्नो कुरा लाद्ने प्रवृत्ति नेपालमा छ । धेरै खेलाडीले सोचेजस्तो सफलता हात पार्न सक्दैनन् । कतिपयले खेल जीवननै छाड्छन् ।’

राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठले कोभिड–१९ पछि अत्यधिकमानसिक तनावबाट गुज्रनुपरेको सुनाइन् । बास्केटबलका गतिविधि शून्य हुनु पनि उनको तनावको एउटा कारण हो ।

खेल कहिले सुरू हुन्छ?‘करिअर’ के हुन्छ ? मैले किन बास्केटबल रोजेँ?यति लामो समय किन समय खेर फालेँ? यस्ता अनगिन्ती प्रश्न उनका मनमा उब्जन्छन् । सदिना भन्छिन्, ‘कसैले वास्ता नगरेको र एक्लो भएजस्तो महसुस गर्छु । अब के हुन्छ भन्ने पिरले एकदमै सताइरहेको छ ।’

१३ औँ सागपछि बास्केटबल नेपालमा शून्यप्राय: छ । यसबीचमा कसैले पनि खेलाडीलाई मनोपरामर्शको व्यवस्था गरेको छैन । झण्डै दुई दशक लामो खेल जीवनमा खेलाडीको मानसिक स्वास्थ्यबारे चर्चा भएको उनलाई थाहा छैन । महिनावारी हुँदा पुरूष प्रशिक्षकसँग खुलेर भन्न नसक्दा पनि त्यसको असर प्रदर्शनमा पर्ने गरेको उनी बताउँछिन् ।

राष्ट्रिय फुटबल खेलाडी बिक्रम लामा चोटका कारण लामो समय मैदानबाहिर रहे । जब उनी चोटमुक्त हुँदै मैदान फर्किए, त्यो अवस्थामा हौसला र साथको आवश्यकता महसुस गरे । तर उनले कसैबाट साथ भने पाउन नसकेको सुनाए । उनको अनुभव छ, ‘चोटपछि उही आत्मविश्वासका साथ खेलमा फर्कन निकै गाहे हुन्छ । म सक्दिन कि ? फेरि चोट लाग्ने हो कि ? जस्ता प्रश्नले आत्मविश्वासलाई कमजोर बनाएको हुन्छ ।’५० प्रतिशत खेल दिमागले खेल्ने हुँदा मानसिकरूपमा स्वस्थ हुनु आवश्यक ठान्छन् उनी । भन्छन्, ‘खेलाडी आफैले पनि आफ्नो मानसिक स्वास्थ्यप्रति सचेत हुनुपर्छ ।’

राष्ट्रिय महिला भलिबल टिमकी मुख्य खेलाडी प्रतिभा माली चोटका कारण झण्डै एक वर्ष कोर्ट बाहिर रहिन् । त्यतिबेलाको अनुभव सुनाउँदै प्रतिभाले भनिन्, ‘धेरै पटक दिमागले भन्यो तिमी खेल्न सक्दैनौ आराम गर । तर यो मैले कसैलाई भन्न सकिनँ । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा हुने अभ्यासका क्रममा धेरै थकान महसुस हुन्थ्यो । दुई तीन दिन आराम गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।’

राखेप र सङ्घ के भन्छन्?

कुनै पनि खेलको राष्ट्रिय वा घरेलु टोलीमा मनोचिकित्सक राख्ने चलन सुरू भएको छैन । या भनौँ अझैसम्म यसको आवश्यकतानै महसुस गरिएको छैन । खेलाडी पनि आफूलाई मानसिक समस्या छ भन्न चाहँदैनन् वा उनीहरूलाई आफूमा भएको समस्या थाहा नै हुँदैन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले ठूला प्रतियोगिताअघि आ–आफ्नो क्षेत्रमा सफल भएका व्यक्तिहरू बोलाएर ‘मोटिभेसनल स्पिच’ दिने गरेको भएपनि मनोचिकित्सकनै बोलाएर खेलाडीलाई परामर्श भने नदिएको बताउँछन् ।

रमन भट्टराई विगत लामो समयदेखि नेपाली खेलाडीलाई‘मोटिभेसनल स्पिच’ दिँदै आइरहेका छन् । खेलाडीहरूले धेरैजसो परिवारको आर्थिक अवस्थाका कारण मानसिक तनाव झल्ने गरेको आफूसँगको भेटमा बताउने गरेको भट्टराईले बताए ।

भट्टराईका अनुसारखेलेरमात्र के हुन्छ? भन्ने परिवारको प्रश्न हुन्छ नै । समर्थकका अपेक्षा पूरा भएनन् भने के गर्ने? चिन्ता निरन्तर रहन्छ ।प्रतिस्पर्धामा उत्रँदा कसरी दबाब ‘ह्यान्डल’ गर्ने भन्नेजस्ता जिज्ञासा राख्ने गरेका छन् ।

उनी खेलाडीलाई सकारात्मक सोच्न र आफूभित्रको क्षमता पहिचान गर्न सुझाव दिन्छन् ।

योजनाविहीन राखेप

नेपाली खेलकुदको सर्वोच्च निकाय हो– राखेप । सदस्य सचिव रमेश सिलवाल राखेपले मानसिक स्वास्थ्यकै विषयमा केन्द्रित भएर कुनै काम नगरेको स्वीकार गर्छन् । यद्यपि राखेपअन्तर्गतको नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले कोभिड–१९ को समयमा खेलाडीसँग मानसिक तनावका विषयमा छलफल गरिएको जनाए ।

कोभिड–१९ का कारण सबै क्षेत्र ठप्प भएपछि त्यसले उत्पन्न आर्थिक अभाव, यस्तै अवस्था भइरहे खेल्न सक्दिनँ कि भन्ने चिन्ता खेलाडीमा देखिएको र त्यो विषयमा राखेप जानकार रहेको सिलवाल बताउँछन् । अझैसम्म खेलाडीको मानसिक स्वास्थ्यबारे अध्ययन, अनुसन्धान गरेको भने छैन ।

केही समयअघि सातै प्रदेशमा सञ्चालन गरिएको एउटा तालिममा मानसिक स्वास्थ्यका विषय पनि समेटिएको सिलवालले सुनाए । उनले महामारीपछि खेलाडीको मानसिक स्वास्थ्यमा असर गरेको र त्यसको समाधानतर्फ ध्यान दिनुपर्छ भन्ने सोच बनाएको जनाएपनि योजनाबद्ध हिसाबले व्यवहारमा भने त्यस्तो केही भएको देखिँदैन ।

खेलाडीको मनोविज्ञान अध्ययन हुनुपर्छ : करूणा कुवँर

मनोविद् करूणा कुँवरले फाट्टफुट्टबाहेक आफूसँग खेलाडीको मानसिक स्वास्थ्यसम्बन्धी परामर्श लिन नआएको बताइन् । उनले नेपालमा मानसिक स्वास्थ्यसम्बधी पर्याप्त चेतनानै नभएको अनुभव सुनाइन् । मानसिक स्वास्थ्य समस्या कसैलाई भने मानासिक रोगीको ‘ट्याग’ लाग्ने डर उनीहरूमा छ । परामर्शदाता, मनोचिकित्सक, मनोविद्कहाँ मानसिक रोगीमात्र जाने हो भन्ने बुझाइ खेलाडीमा मात्र नभएर नेपालका हरेक तहका व्यक्तिमा भएको कुँवरले बताइन् ।

कुँवरका अनुसार हुर्काइ कस्तो छ, बाल्यकाल कसरी बित्यो, वंशाणुगत, पारिवारिक वातावरण, वरपरको वातावरण, गरिबीलगायत मानसिक रोगका कारण हुन् । यसका अतिरिक्त खेलाडीलाई मानसिक पीडामा पार्ने मुख्यकारण भनेको प्रतिस्पर्धा, प्रदर्शनमा आएको गिरावट, सञ्चारमाध्यम, टिम तथा क्लबको दवाव, समर्थक, समर्थकको अपेक्षा र ‘स्टारडम मेन्टेन’ गर्न आर्थिक अभाव हुनु हो । खेलिरहेको, खाइरहेको, हाँसिरहेको खेलाडी पनि मानसिकरूपमा कमजोर भइरहेको हुनसक्ने कुँवरको भनाइ छ ।नेपालको हकमा खेलाडीको मानसि स्वास्थ्यबारे अध्ययन नभएको पनि उनले बताइन् ।

मानसिकद्वन्द्वकै कारण धेरै खेलाडी नेपालमा भविष्य नदेखेर विदेशिने गरेको उनको बुझाइ छ । तर कुँवरलाई अन्य पेशाका व्यक्तिभन्दा खेलाडीसँग बढी इच्छाशक्ति हुने र कठीन परिस्थितिको सामना गर्नसक्ने क्षमता हुन्छ भन्ने लाग्छ । क्लब, सम्बन्धित खेल सङ्घ, पदाधिकारी, प्रशिक्षकलगायतले पनि खेलाडीको मनस्थिति बुझ्न आवश्यक रहेको उनको भनाइ छ ।

खेलाडीमा अन्य पेशामा आवद्ध भएका व्यक्तिमा भन्दा फरक किसिमको क्षमता हुन्छ । बाह्य र आन्तरिकरूपमा आफूसँग भएको शक्तिको पहिचान गर्नु जरूरी छ । खेल्दा कहिले हार कहिले जीत हुन्छ ? कहिले सबैका वाहवाही पाइन्छ भने कहिले अनावश्यक आरोप र आलोचना पनि हुनसक्छ भन्ने सवालमा सदैव तयार रहनुपर्छ । हरेक अप्ठ्यारो र खराब परिस्थितिले सफलतातर्फ डोर्‍याउँछ भन्ने सकारात्मक सोचाइ राख्नु आवश्यक छ ।

कुनैपनि समय आफूलाई मानसिकरूपमा ठीक छैन भन्ने महसुस हुन्छ भने परामर्श लिन हिच्किचाउन र डराउनु हुन्न ।के बुझ्न जरूरी छ भने मनोचिकित्सक, परामर्शदाता र मनोविद्ले गोपनीयता भङ्ग गर्दैनन् । मेराबारे कसैले थाहा पाए बर्बाद हुन्छु या ‘करिअर’ सकिन्छ भनेर नसोच्नुस् । यो एकदमै गोप्य हुन्छ । मैले नेपालका धेरै नाम चलेका व्यक्तिहरूलाई परामर्श दिइरहेकी छु । ढुक्क भएर आउन सक्नुहुन्छ ।

समग्रमा, नेपाली खेलाडी कुनै न कुनै रूपमा मानसिक समस्यासँग जुधिरहेका छन् । यसको अध्ययन भने भएको छैन । कतिपय खेलाडी मानसिक तनाव भएको थाहा पाउँदैनन् । कोही थाहा पाएपनि भन्न चाहँदैनन् । कति स्वीकार गर्न चाहँदैनन् ।

मानसिक स्वास्थ्य खेलकुदको चर्चाको विषय बन्न नसकेकाले खेलाडीलाई खुल्न पनि कठीन भएको हुनसक्छ । मानसिक स्वास्थ्य पहिलो उपचार दोहोरो सञ्चार हो । अर्थात् आफूले महसुस गरेका भावनाहरू साथीभाइ, परिवार वा आफूलाई सहज लाग्ने व्यक्तिसँग साट्नु हो । खेलाडीको मानसिक अवस्था कस्तो छ? उसको पृष्ठभूमि के हो?उसको चाहना के छ ?भन्ने बुझ्नु मानसिक दबाबलाई कम गर्न सकिने उपाय हुन सक्छन् । अब त्यसतर्फ ध्यान दिन ढिला गर्नुहुँदैन ।

प्रकाशित : आश्विन २८, २०७८ २०:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×