रुबी खान थुनामुक्त, भनिन्-न्याय नपाएसम्म नेपालगन्ज फर्किदैनौं- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुबी खान थुनामुक्त, भनिन्-न्याय नपाएसम्म नेपालगन्ज फर्किदैनौं

प्रकाश धौलाकोटी

काठमाडौँ — सर्वोच्च अदालतको आदेशबाट थुनामुक्त भएकी महिला अधिकारकर्मी रुबी खानले आफू अझै पनि असुरक्षित रहेको बताएकी छन् । उनले सरकारले आन्दोलनलाई तितरबितर पार्नका लागि आफूमाथि झुटो मुद्दा लगाएको जिकिर गरिन् ।

‘ममाथि प्रहरीले झुटो मुद्दा लगायो । आन्दोलन रोक्नका लागि जालझेल गर्‍यो । ममाथि मुद्दा नै थिएन । जबरजस्ती मुद्दा लगाउने कोसिस गरिएको छ । मलाई अहिलेसम्म पक्राउ पुर्जीसमेत दिएको छैन,’ उनले भनिन्, ‘मलाई अझै पनि डर छ, अझै पनि प्रहरीले जुनसुकै बेला पक्राउ गर्न सक्छ । जति पटक पक्राउ गरे पनि मलाई केही छैन । हामीलाई न्याय पाउँछौं भन्ने आशा छ । हामी न्याय नलिईकन नेपालगन्ज फर्किदैनौं ।’

बाँकेकी नकुन्नी धोबीको मृत्यु तथा निर्मला कुर्मीको अपहरण गरी हत्या भएको भनिएको घटनामा अनुसन्धान माग गर्दै नेपालगन्जबाट २० दिन पैदल हिँडेर काठमाडौं आएको टोलीको नेतृत्व गरेकी खानलाई जिल्ला प्रहरी कार्यालयको पत्रबमोजिम भन्दै महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरी गत २३ गते नेपालगन्ज पठाएको थियो । तर, सर्वोच्च अदालतले नै प्रहरीले पूर्वाग्रह राखी खानलाई पक्राउ गरेको ठहर गर्दै रिहा गर्न आदेश दिएपछि उनी बिहीबारै छुटेकी हुन् । अधिवक्ता मोहना अन्सारीले रुबीका तर्फबाट बन्दी प्रत्यक्षीकरणको निवेदनमा दायर गरेकी थिइन् । त्यही रिटको सुनुवाइका क्रममा न्यायधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार नै खानलाई हिरासतमुक्त गर्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि दुवै घटनामा गम्भीरतापूर्वक अनुसन्धान नगरेको तथ्य बाहिरिएपछि बाँके प्रहरीले बहुविवाहको झुटो जाहेरी खडा गरेर रुबीलाई पक्राउ गरेको खुलेको छ । रुबीले आफूले पहिलेका श्रीमान्‌सँग सम्बन्ध विच्छेद गरिसकेपछि मात्रै अर्को विवाह गरेको बताएकी छन् ।श्रोतकाअनुसार भदौ २३ मा परेको रुबीविरुद्ध बहुविवाहको जाहेरी देखाएर प्रहरीले उनलाई पक्राउ गरेको थियो । जबकि उनले श्रीमान् शेर वागवानसँग १८ साउनमै सम्बन्ध विच्छेद गरिसकेकी थिइन् । जाहेरी पर्नुअघि नै बाँके जिल्ला अदालतबाट रुबी र उनका श्रीमानबीच सम्बन्धविच्छेदको प्रमाणीकरण भइसकेको थियो । आफैंले सम्बन्ध विच्छेद प्रमाणीकरण गरेको भए पनि त्यसविपरीत हुने गरी बाँके जिल्ला न्यायाधीशले पक्राउ पूर्जी जारी गरेका थिए ।

सर्वोच्च अदालतले जिल्ला अदालतको यस्तो कार्यलाई न्यायिक मनको प्रयोग नभएको रूपमा लिएको छ । रुबीलाई थुनामुक्त गर्ने आदेशमा सर्वोच्चले भनेको छ, ‘जाहेरी दरखास्तमा कुनै प्रमाण पेश नहुनु तथा जिल्ला अदालतबाट आफ्नै अदालतमा भएको मिसिलतर्फ ध्यान नदिई, कुनै तथ्य नहेरी, न्यायीक मन प्रयोग नगरी व्यक्तिको वैयक्तिक स्वतन्त्रताको विषयमा यान्त्रिक रुपमा पक्राउ पुर्जी जारी गर्ने अनुमति दिनुलाई सामान्य रुपमा हेर्न सकिएन ।’


प्रकाशित : आश्विन २८, २०७८ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्

आँसुले रूझेको अँगेनो

दुधसँगै ठुलीआमाको चर्को रिस पोखियो । अघि भोकले रोएको भाइ पनि अब पोलेको पीडाले झन् रून थाल्यो । आमा यतिबेला पनि केही नबोली बसिरहनुभएको थियो ।
अस्मिता बादी

काठमाडौँ — यतिबेला काठमाडौँ कलङ्कीमा ‘रारा एयर सस्पेन्सन’को क्याबिनमा छु । मन एकतमासले उजाडिएको छ । वरिपरिको वातावरण मान्छेको भीडले गुम्सिएको छ । कुममा कुम जोडेर हिँडिरहेका यी मान्छे  देख्दा लाग्छ, हजारौँ माइलको दुरी लिएर पनि यी सँगसँगै हिँडेका छन् ।

समीपमा छन् तर कति अलग्गिएका छन् । भीडमा छन् तर एक्लो र बेचैन छन् ।

यद्यपि म पनि यही भीडको एक यात्री न हुँ । मेरो मन पनि कतै टाढा पुगेको छ आज । भावनाहरू मनको आकाशमा उड्दैछ । बेसरी भत्किएको छु स्मृतिदंशले ।

यसपालि म गाउँ जाँदैछु तर मनखुशी भएर घर गइरहेकी छैन । बाध्यता के हो भने चाहेर पनि म घर जान सक्दिनँ । तर, सामुन्ने दसैँ भनिने एक चाड छ । उत्सव छ । यसलाई जसरी पनि ‘मनाउनुपर्ने’ लोकाचारले गर्दा म कतै गइरहेको छु । वा भनौँ जानुपरेको छ ।

गाडी थानकोटको ओरालै–ओरालो बत्तिएको छ । बाहिर बाक्लो अँध्यारोले ढाकेको छ । सडकैभरि रातको अँध्यारो चिर्दै दौडेका गाडीका झिलिमिली बत्ती छन् । तर मनको आकाशमा उही अन्धकार व्याप्त छ ।

यतिकैमा बसमा बजिरहेको खुमन अधिकारी र विष्णु माझीको दसैँ गीतले मेरो ध्यान खिच्यो । गीतले भन्छ, ‘फेरि आयो दसैँ र तिहार नि, मनै बिगार्नी !’

गीतको ‘फिमेल भर्सन’ सुन्दा लाग्छ यसले मेरै मनको व्यथा बोलिरहेको छ । यत्तिकैमा म धेरै पहिलेको कुनै एक साँझतिर हराउन पुग्छु ।

त्यो साँझ रेडियोछेउ आमा एक्लै बसिरहनुभएको थियो । सायद् गीत सुन्दै हुनुहुन्थ्यो वा रेडियो यत्तिकै बजाइएको मात्र थियो । भाइ आमाको छेउमा आफ्नै सुरमा खेलेर बसिरहेको थियो । मचाहिँ चुलोमा दाउरा राखेर आगो फुक्दै थिएँ ।

त्यो दिन हामी सबैलाई निकै भोक लागेको थियो । आमाले आगो बालेर खाना पकाउने सुरसार नगरेपछि म आफै भात पकाउन तम्सेर आगो फुक्न थालेको थिएँ । यो देखेर आमाले मलाई र भाइलाई ठूलोबुबाको घरमा गएर आउन भन्नुभयो । तर त्यतिबेला भाइले हिँड्न मानेन ।

सायद् उसको पोलेको घाउ निकै दुखेको थियो त्यो दिन । तर उसको जिद्दी आमासँग धेरै टिकेन । हामी ठूलोबुबाको घरको बाटो झरिसकेका थियौँ ।

त्यहाँ पुग्न करिब बीस मिनेटको जङ्गलको बाटो हिँडेर जानुपर्थ्यो । आमाले यसरी कहिले पनि अबेर भइसकेपछि हामीलाई कतै जान दिनुहुँदैनथ्यो तर त्यो दिन किन हो हामीलाई उहाँकै आदेशमा ठूलोबुबाकहाँ पठाउनुभयो ।

जब त्यहाँ पुग्यौँ ठुलीआमाले झर्को मानेर गाली गर्नुभयो । ‘फेरि किन आयौ यतिबेला’ भनेर सोध्नुभयो । हामीले आमाले पठाएको भन्यौँ । तर उहाँले हाम्रो कुरालाई वास्ता नगरी उहाँकै ठूली छोरीको साथ लगाएर घरतिरै फर्काइदिनुभयो ।

बाटोभरि हामी बाबाको कुरा गर्दै गयौँ । तर बाबा आउने, नआउने टुङ्गो थिएन । दसैँसम्म आइपुग्छु भनेर उहाँ घरबाहिर जानुभएको थियो ।

तिथिमिति सम्झिँदा आज थाहा भयो, त्यो २०६४ सालको दसैँ रहेछ । पहिलोपटक फर्किएको केही दिनपछि हामी फेरि ठूलोबुबाको घर गयौँ । बिहान त्यहीँ टीका लगाएर फर्कियौँ । ठुलीआमाको स्वभाव निकै रूखो भएकाले उहाँले पूजापाठ नगरी खाना खान दिने कुरै भएन ।

टीका लगाइसके पनि हामीले केही खान पाएनौँ । यता अबेरसम्म भोक कुर्न नसकेर भाइ रून थल्यो । भाइ रोएको देखेर ठुलीआमाले चुलोमा उम्लिरहेको तातो दूध भाइको थालमा खनाइदिनुभयो । स्टिलको धारिलो बिट गरेको थालमा कति नै दूध अट्थ्यो र ! ठुलीआमाले कराइ नै थालमा घोप्टाइदिँदा भाइको हात बेसरी पोल्यो । उसले थालबाट हात छोड्दा दूध पनि भर्खरै गोबरले लिपेको भुइँभरि पोखियो ।

दूधसँगै ठुलीआमाको चर्को रिस पोखियो । अघि भोकले रोएको भाइ पनि अब पोलेको पीडाले झन् रून थाल्यो । आमा यतिबेला पनि केही नबोली बसिरहनुभएको थियो ।

घर पुग्दा निकै अँध्यारो भइसकेको थियो । आमा सानो भाइलाई काखमा लिएर आँटीमा बस्नुभएको थियो । (गाईवस्तुको लागि बनाएको गोठमा छानो हाली दाउरा र पराल सुरक्षित राख्न बनाइएको ठाउँलाई आँटी भन्ने चलन छ)

हामी लिस्नो चढेर आँटीमा उक्लियौँ । त्यहाँ रहेको चुलोमा आगो नबलेको प्रष्टै देखिन्थ्यो । दिनभरिको थकान र भोकले मलाई झनक्क रिस उठ्यो । आमालाई ठूलो स्वरमा कराउँदै भनेँ, ‘अहिलेसम्म खाना किन नपकाएको ?’

सायद्, आमासँग जवाफ थिएन । उहाँ भाइसँग बोल्दै हुनुहुन्थ्यो । मलाई ध्यान नदिएको देखेर उहाँको नजिकै गएँ । यतिबेला पो उहाँ किन नबोली बसेको भन्ने कुरा बुझेँ । उहाँ त रोइरहनुभएको रहेछ ।

आमाका आँखाबाट बलिन्द्र आँशु निरन्तर बगिरहेको थियो । कतै मैले नै पो चित्त दुखाएँ कि भनेर म पनि रून लागेँ । फेरि आमालाई कि रूनुभएको भनेर सोध्न पनि सकिनँ ।

भाइ र म एकअर्कालाई हेरिरहृयौँमात्र । कोही कसैसँग बोलेका थिएनौँ । वातावरण एकछिन मुर्दाघरजस्तै शान्त भएको थियो ।

साँझ बढ्दै जाँदा पो याद आयो, हामीले जस्तै आमाले पनि कति दिनदेखि केही खानुभएको छैन । यति सोचिसकेर म चामलको बोरा राखेको ठाउँतिर आफ्ना आँखा दौडाउन थालेँ । तर चामल राख्ने ठाउँको बोरालाई हावाले उडाएर अर्को कुनामा पुर्‍याइसकेको थियो ।

जतिजति चामलको बोरा आधी हुँदै गयो त्यति नै हाम्रो पेट पनि आधी हुँदै गएको पो रहेछ । दसैँको दिन थियो, निधारभरि अक्षता थियो, तर पेट बिहानैदेखि खाली । अझ आमाको त कति दिन पहिलेदेखि भोको थियो ।

मैले अन्दाज गरेअनुसार आमाले हामीलाई ठूलोबुबाकोमा पठाउनुको कारण पेटभरि खाना खान पाइन्छ भनेर हो । तर ठुलीआमाले आँगनको डिलैबाट फर्काइदिइन् । यही यता भाइलाई तातो दूधले पोलेको थियो ।

हाम्रो अगाडि रोइरहन आमाको मनले दिएन । यसैले बाबा भोलि छिट्टै आउनुहुन्छ भनेर सान्त्वना दिँदै हामीलाई सुत्नको लागि ओछ्यान तयार पार्नुभयो । सधैझैँ आमा सानो भाइ, अर्को भाइ र म लस्करै भुइँमा पल्टियौँ । भाइहरू चाँडै निदाए तर म निदाउन सकिनँ । यतिकैमा आमाका गालासम्म हात पुर्‍याउन आँट गरेँ । त्यहाँ तातो आँशु बगिरहेको प्रष्ट थाहा हुन्थ्यो । त्यो दिन पो मैले महसुस गरेँ, आँशु पनि तातो हुने रै’छ ।

उम्लेको तातो दूधभन्दा पनि तातो । निकै पोल्ने रहेछ आँशुले जति आगोले पोल्दैन ।

त्यो दिन मात्र होइन, हाम्रो चुलो अरू कयौँ दिन नबलेको याद छ मलाई । तर आमा यति धेरै रोएको पहिलोपल्ट देखेको थिएँ । आमाको आँशुले मेरामा पहिरो जाँदै थियो, छ र पनि म मौन छु ।

चुलो त कति निभ्यो तर आमाले जीवनको हिम्मत भने निभ्न दिनुभएन ।

प्रकाशित : आश्विन २८, २०७८ २०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×