मुगु बस दुर्घटना : प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगु बस दुर्घटना : प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन

कान्तिपुर संवाददाता

काठमाडौँ — कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको सो कार्यालयले जनाएको छ ।

समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य छन् । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिद्वारा सञ्चालित भे१ख ३१६७ नंको उक्त बस मंगलबार जुम्ला–मुगु सडक खण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए ।

समितिले घटनाको अनुसन्धान प्रतिवेदन तयार गरी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरसमक्ष पेस गर्नेछ । चालकको सिटमुनिको टायर पङ्चर भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि छानबिन समितिको स्थलगत अनुसन्धान प्रतिवेदनका आधारमा वास्तविक कारण पत्ता लाग्ने बताउँदै प्रहरी नायब महानिरीक्षक ऐरले भने,'बस, सडक वा चालक कसको के कमजोरीका कारण दुर्घटना हुन पुग्यो त्यसको अध्ययन हुनेछ ।'

प्रकाशित : आश्विन २८, २०७८ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपति भण्डारीले गरिन् नवकन्याहरूको पूजा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको नवौं दिन नवकन्याहरुको पूजा गरेकी छन् । बिहीबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीले महानवमीको शुभदिनमा नवकन्याहरुको पूजा गरेकी हुन् । 

विजया दशौको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पाचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी र सातौा दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ ।

विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमश: २,३,४,५,६,७,८,९ वर्षकी कन्याको पूजा गरिन्छ । वैदिक सत्य सनातन हिन्दू धर्म शास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरुको पूजा गर्नुपर्ने भनिएपनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकैपटक नवकन्याहरुलाई नवदुर्गाको प्रतिक मानेर पूजा गरिएको हो ।

यसैक्रममा राष्ट्रपति भण्डारीले आज महानवमीको दिन शितल निवासमै नवकन्याहरुको पूजा गरेकी हुन् ।

प्रकाशित : आश्विन २८, २०७८ १३:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×