मोरङको बैंक लुटपाट गर्ने समूह प्रहरीद्वारा सार्वजनिक- समाचार - कान्तिपुर समाचार

मोरङको बैंक लुटपाट गर्ने समूह प्रहरीद्वारा सार्वजनिक

जितेन्द्र साह

विराटनगर — मोरङको धनपालथान गाउँपालिका–४, कर्सियाको बीपी चोकस्थित सिटीजन्स बैंकको शाखामा भएको लुटपाटमा संलग्नमध्ये पक्राउ परेका मुख्य योजनाकारसहित ३ जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मुख्य योजनाकार विराटनगर महानगरपालिका–८ का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनील यादव र अररिया गोराहा–४ का ३० वर्षीय विजय सहनी हुन् ।

पक्राउ परेका सुनील यादवले प्रयोग गरेको कटुवा पेस्तोल र एक राउन्ड गोली, घाइते विजय सहनीबाट बरामद १ मोबाइल, घटनास्थलबाट पेस्तोलको एक राउण्ड गोली, १ खोका र घाइते सुरक्षागार्ड ३८ वर्षीय शितल कुमालको शरीरबाट निकालिएको एक गोली पनि प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

सुरुआती अनुसन्धानमा पहिचान भएका घटनामा संलग्न थप ६ जनाको खोजी भइरहेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए । उनका अनुसार सीसीटीभी फुटेजमा सात लुटेरा बैंकभित्र र अन्य दुई बाहिर देखिन्छन् । लुटेरामध्ये कसले केमा हालेर रकम लिएर गयो र एक पछि अर्को गर्दै कसलाई दियो भन्ने प्रष्ट भइसकेको एसपी जीसीले बताए ।

उनका अनुसार बैंकमा रकम लुटको क्रममा हतारोमा आफैँले बोकेको पेस्तोलबाट गोली चलेर घाइते भएका विजय सहनीलाई लिएर भारततिर भाग्ने क्रममा धनपालथान गाउँपालिका–२, खयरबना चोकबाट तीन जना पक्राउ परेका थिए ।

लुटेराहरुले भाग्ने क्रममा प्रयोग गरेको को २५ प ३८९९ नम्बरको मोटरसाइकलसमेत बरामद भएको जीसीले बताए । एसपी जीसीका अनुसार बैंकबाट लुटेको झन्डै २२ लाख रुपैयाँ लिएर लुटेराहरुमध्येका अर्को समूह फरार छ ।

प्रहरीका अनुसार सोमबार अपराह्न एक्कासी बैंकभित्र प्रवेश गर्ने क्रममा लुटेरा समूहमध्येका दुई जनाले सुरक्षा गार्ड ३८ वर्षीय शीतल कुमालको खुकुरी खोसेपछि पेस्तोल ताकेर उनलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । प्रतिकार गर्दा पछाडिबाट अर्को लुटेराले प्रहार गरेको गोली सुरक्षागार्ड कुमालको दुवैतिरको पातामा लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीमध्ये एक गोली छेडेर र अर्को छोएर गएको थियो ।


घटनालगतै उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएका कुमालको अवस्था खतरामुक्त रहेको एसपी जीसीले जानकारी दिए । पक्राउमध्ये विजय र पहिचान भएका अधिकांश फरारहरुलाई विभिन्न अपराधमा भारतीय प्रहरीले खोजी गरिरहेको एसपी जीसीले बताए । उनका अनुसार दुवैतिरको प्रहरीले मिलेर उनीहरुको खोजी गरिरहेका छौँ ।

गार्मेन्ट व्यापारमा घाटा लागेपछि निराशामा रहेका मुखियाले भारतीय लुटेराहरुसँग सम्पर्क गरेर घटना हुनु दुई साता अगाडि मात्र लुटको योजना बनाएको उनले बताए । एसपी जीसीका अनुसार घटनामा संलग्नहरुलाई डाका, हातहतियार एवं खरखजाना, ज्यान मार्ने उद्योग एवं संगठित अपराधमा मुद्दा चलाउने तयारी भएको छ ।

२२ असोजमा विराटनगरको मेनरोडस्थित एक गार्मेन्टमा भएको लुटमा पनि उक्त समूहको संलग्नता हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका तीन जनाले उक्त गार्मेन्टको काउन्टरमा रहेको ११ हजार रुपैयाँ नगद र साहु तथा कर्मचारीबाट तीन थान मोबाइल लुटेका थिए ।

थोरै रकम मात्र फेला परेपछि रन्थनीएका लुटेरामध्ये एकले आफूले बोकेको पेस्तोलको पछाडिको भागमा प्रहार गरी गार्मेन्ट सञ्चालकलाई घाइते बनाएका थिए । ‘२२ असोजमा लुटिएको मोबाइल र लुटेराबाट बरामद भएको मोबाइल एवं प्रयोग भएको पेस्तोल बारे बुझ्ने प्रक्रिया जारी छ,’एसपी जीसीले भने ।

प्रकाशित : आश्विन २७, २०७८ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्

संसद चलाउनेबारे सबैले आत्मसमिक्षा गरौं: सभामुख सापकोटा

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गराउन नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताएका छन् । सभामुख सापकोटाले संसद चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने उल्लेख गरे ।

बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका हुन् । सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समिक्षा गरेर संवादमा आउनुपर्ने बताए ।

‘म अझै के भन्छु भने पहिला हाम्रो संवाद भइरहेको थियो, अहिले विवाद भइरहेको छ,अन्तिममा फेरि वादविवाद, संवादको विकल्प छैन, ढिलो चाँडो संवादमा उहाँहरू आउनुहुन्छ भन्ने छ’ सभामुख सापकोटाले भने । उनले संसदको गरिमा बढाउनका लागि हामी सबैको दायित्व उत्तिकै रहेको उल्लेख गरे । ‘के पक्ष, के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसावले सभामुखको नै हो, के गर्नुपर्छ त्यसको लागि म तयार छु, तर सरकार, सभामुख, विपक्षी दलको नेताको र समस्त सांसदहरुको सबै दायित्व हुन्छ’ उनले भने ।

उनले सभामुखको जिम्मेवारी प्राप्त भइसकेपछि आफूले पनि तटस्थ, निष्पक्ष र स्वतन्त्र भूमिका खेलेको बताए । ‘मैले संविधान र खासगरी प्रतिनिधिसभाको नियमावलीमा टेकेरै आफ्ना कार्य सम्पादन गर्नुपर्छ, मैले फेरि फर्केर सबै कामको समिक्षा गर्ने कुरा हुन्छ, उहाँहरूले पनि समिक्षा गर्नुहुन्छ भन्ने आशा छ, हामी सबैले समिक्षा गरौं र सकारात्मक सोचका साथ संवाद थालौं, जतिसुकै ठूलो समस्या भएपनि संवादको विकल्प छैन, समन्वय, सहकार्य र समझदारी नै हो’ सभामुख सापकोटाले भने । संसदमा अहिलेका समस्या समाधान गर्नका लागि १५ दिनको समय रहेकाले त्यतिन्जेल सम्म सकारात्मक वातावरण बन्नेमा आफू आशावादी रहेको उनले बताए ।

प्रकाशित : आश्विन २७, २०७८ १७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×