कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कालीगण्डकीको बन्जीमा पर्यटकको चहलपहल

प्रकाश बराल

बागलुङ — कोरोना महामारीसँगै निषेधाज्ञाले थलिएको बागलुङको बन्जीखेल अहिले सञ्चालनमा आएको छ । चाडपर्वको रौनक, संक्रमणको जोखिम हटेको र मौसम पनि सफा भएपछि दैनिक सयौं पयर्टक आउन थालेका छन् ।

कालीगण्डकीको बन्जीमा पर्यटकको चहलपहल

पर्यटक आउन थालेपछि बागलुङको बलेवा क्षेत्रमा चहलपहल बढेको र व्यवसाय बढ्न थालेको स्थानीयले बताए । बागलुङ नगरपालिका १४ को नेपानेमा अहिले दैनिक सयौं पर्यटक पुग्न थालेका छन् । बन्जीखेल सञ्चालन गरेको द क्लिफले बानपा १४ को नेपानेमा दर्जनभन्दा बढी खेल, आर्कषक रेष्टुरेन्ट र घुम्ने स्थान बनाएको छ । पर्वतको कुश्मादेखि नेपाने जोडिएको बन्जीजम्प र यहाँ बनेका पर्यटकीय संरचनाले आन्तरिक पर्यटकको ध्यान तानेको हो ।

साहसिक खेल बन्जी खेल्नुअघि यससँग मिल्दोजुल्दो अन्य साहसिक खेलले मानिसलाई अभ्यस्त बनाउँछ । त्यसैले द क्लिफले यहाँ दर्जन साहसिक खेलका क्रियाकलाप संचालन गरेको छ । साहसिक खेलहरु समावेश भएकै कारण बन्जी घुम्ने पर्यटक बढेका हुन् ।

‘डेढ वर्ष अघिदेखि व्यवसाय थाले पनि पटकपटक कोरोना र निषेधाज्ञाले सतायो, बल्ल आन्तरिक पर्यटक आउन थालेका छन्’ द क्लिफका अध्यक्ष राजु कार्कीले भने, ‘बिदाको दिनमा भने राम्रो चहलपहल बढिसकेको छ ।’ पर्यटक बढ्दा यहाँका दर्जनौँ होटलले पनि कमाइ गर्न सकेको स्थानीय परशुराम भण्डारीले बताए । कोरोनाबाट पर्वत र बागलुङका अधिकांस वडाहरु ग्रिन जोनमा परेकोले पर्यटकीय गतिविधि बढेका हुन् ।

यहाँ बन्जीजम्प बाहेक फेमीली पिङ, प्रार्थना गर्ने हात, स्विङ, स्काइ साइक्लिङ र आर्कषक रेष्टुरेन्ट र दृश्यावलोकन गर्ने स्थानहरु बनाइएका छन् । रुखलाई प्रयोग गरेर आर्कषक दृश्य हेर्ने स्थान बनाइएको छ । ‘प्रकृतिलाई नबिगारिकनै पर्यटक भित्र्याउने र सदुपयोग गर्ने लक्ष बनाएका हौँ’कार्कीले भने, ‘करोडौं लगानीसमेत गरिसकेका छौँ ।’कार्कीका अनुसार यहाँ एक सय पर्यटकले सुविधायुक्त आवासको प्रयोग गर्नसक्छन् ।

निषेधाज्ञाको अवधिमा दैनिक ६ देखि ७ जना मात्रैले बन्जी गरेकोमा अहिले दैनिक एक सय जनासम्म पुग्ने गरेका छन् । बन्जीका लागि स्थानीय बाहेक पोखरा, चितवन, भैरहवा र अन्य धेरै छिमेकी जिल्लाबाट आउने गरेको उनले सुनाए । आएका पर्यटकमध्ये केहीले बन्जी गर्छन् भने धेरैले अन्य साहसिक खेलमा रमाउने गरेका छन् ।

कालीगण्डकी नदीमाथि बनेको यो बन्जी संसारकै दोश्रो अग्लो हो । यसअघि भोटेकोसीमा बनेको बन्जीमा हामफाल्दा खोलामै झरेर पर्कनु पर्थ्यो भने यहाँ डोरीबाटै फर्केर आउने व्यवस्था पनि छ ।

प्रकाशित : आश्विन २७, २०७८ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?