पूर्वमा दसैंको खुशी- समाचार - कान्तिपुर समाचार

पूर्वमा दसैंको खुशी

जितेन्द्र साह

(विराटनगर) — दसैँ, वडादसैं, विजया दशमी, दशमी, दशहरा, दूर्गा पूजा वा दुर्गोत्सव । बोलिने एवं बुझिने शब्दहरु फरक भए पनि हिमाल, पहाड र तराईका विभिन्न वर्ग, उमेर तथा समुदायका लागि यो महापर्वको आ–आफ्नै महत्व छ । जसरी र जुन शैलीमा मनाए पनि दसैंले खुशी र उमंगका साथ समाजलाई जोडिरहेको हुन्छ ।

‘अरु बेला अध्ययन एवं गृहकार्यले समय मिल्दैन, दसैंको विदामा मित्र, परिवारजन र आफन्तसँग घुम्न पाउँछौं,’कक्षा–८ की शायरा राजवंशी भन्छिन् । उनी विराटनगरमा साथीहरुसँग प्रफुल्ल मुद्रामा मन्दिर दर्शन गर्न र तस्बिर खिच्नमा व्यस्त भेटिइन् ।


कक्षा–७ मा अध्ययनरत विराटनगर मुनालपथका सम्राट दाहालका लागि दसैं भनेको नयाँनयाँ लुगा र जुत्ता लगाउने, मिठो परिकार खाने र परिवारजनसँग आनन्दले समय बिताउने समय हो । ‘दर्सै आयो भन्ने सुन्नसाथ खुशी लाग्छ, परिवारसँग किनमेलका लागि बजार जान र साथीहरुसँग पिङ खेल्दै रमाउन पाइन्छ,’उनी भन्छन् ।


कक्षा–१२ मा अध्ययनरत सिजन निरौलालाई धेरै दिन अगावैदेखि दसैंको पर्खाइ हुन्छ । ‘अध्ययनको भारले अरु बेला आराम समेत गर्न पाइन्न, विदाले गर्दा दसैंको बेला राहत हुन्छ, छुटाएको कामहरु गर्न पाइन्छ, परिवारजन, आफन्त एवं साथीभाइसँग मजाले बस्न पाइन्छ,’उनी भन्छन् ।


विराटनगरदेखि १२ किमी पश्चिमस्थित सुनसरीको गढी गाउँपालिका–४ का युवा विशाल उराँवका लागि यो सांस्कृतिक अवसर हो । पुर्खौंदेखि भदौ पूर्णिमादेखि विजया दशमीसम्म मनाइने कर्मा–धर्मा झाँगड (उराँव) समुदायको ठूलो पर्व हो ।


‘आदिवासी जनजाति झाँगड समुदायका महिलापुरुषले भदौ पूर्णिमादेखि असोज पूर्णिमा सम्म सिठीको धुनमा प्रेम, विहे युवायुवतीको सम्बन्धको बारेको लोकगीत गाउँदै परम्परागत नृत्य गर्छन्,’ उनी भन्छन्, ‘दसैंमा हुने भेला र मेलाले आ–आफ्नो संस्कृति उजार गर्ने मौका पनि दिन्छ ।’


मोरङको जहदा गाउँपालिका–४ स्थित सन्थाल बस्तीका ५० वर्षीय लखिराम बास्केका लागि यो पर्वले कुनै उत्सव जतिकै महत्व राख्छ । ‘टिकाजमरा र परम्परागत पहिरनमा ठाटिएका आदिवासी सन्थाल समुदायका पुरुषले दसैंमा माता दूर्गाको दर्शन पछि मन्दिर परिसर र मेलामा नृत्य गर्छन्,’उनी भन्छन्,‘मलाई त्यति राम्ररी नाँच्न आउँदैन तर हेर्न जान्छु ।’

विराटनगरका ज्येष्ठ नागरिक ७३ वर्षीय मणिकुमार अर्ज्यालका लागि जमघट एवं सहभोज गर्ने ठूलो अवसर हो दसैं । ‘स्वदेश एवं विदेशमा छरिएर बसेका परिवारजन र मित्रसँग दर्सैमा भेट हुन्छ,’ उनी भन्छन्, ‘सम्बन्धको नवीकरणसँगै शुभकामना र आशीष वचनको आदानप्रदान हुन्छ ।’


विभिन्न पेसा एवं व्यवसायमा संलग्नलाई दसैंले उत्साह एवं उमंग दिन्छ । शुभकामनाको साटासाटसँगै जनसम्पर्क एवं व्यवसाय विस्तारको यो ठूलो मौका भएको विराटनगरका बैंकर प्रशुन्न कोइराला बताउँछन् । ‘दसैंले परिवार र उपभोक्तासँग सुमधुर सम्बन्ध बनाउने माहोल खडा गर्छ,’ उनी भन्छन् ।


स्थानीय मुस्लिम समुदायका ३४ वर्षीय मोहम्मद मुन्नाका लागि यो पर्व भनेको अतिरिक्त आम्दानीको अवसर हो । ‘अरु बेला मजदुरी गरेर गुजारा गरे पनि दसैं सम्म बैलुन बेच्छु,’ उनी भन्छन्, ‘एक जनाले ४/५ बैलुन किन्छन्, दिनभरि बसेर बेच्छु, मेरो लागि यो दसैं मनाउनु सरह हो ।’


विराटनगरको प्रसिद्ध काली र हनुमान मन्दिर बीचको चिया पसलमा कार्यरत युवा २४ वर्षीय शेर अली खानले आफूलाई कहिल्यै पनि दशमी हिन्दुको मात्र पर्व नलागेको बताउँछन् । ‘पूजाआजा नगरे पनि दसैंको भरपुर आनन्द लिन्छु, हिन्दु मित्र र परिवारलाई शुभकामना दिन्छु,’ उनी भन्छन्, ‘हिन्दु दोस्तहरुबाट भोजको निमन्त्रणा पनि आउँछ ।’


सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २८ वर्षीय सुखराम यादवले दशहरालाई गरिबका लागि गरिखाने अवसरको रुपमा हेर्छन् । वर्षभरि राजमिस्त्रीको काम गर्ने उनी दसैंभरी विराटनगरको काली मन्दिर अघिल्तिरको फुटपाथमा खेलौना बेच्छन् । ‘दिनहुँ माताको दर्शन पनि हुन्छ, खेलौना बेचेर आएको आम्दानीले परिवारसँग दसैं मनाउने खर्च जुट्छ,’उनी भन्छन् ।


स्थानीय बाटा रोडका कपडा व्यवसायी ५४ वर्षीय श्रीनारायण गुप्ताले यतिखेर ५० प्रतिशतले ब्यापार बढ्ने बताउँछन् । ‘दसैंमा नयाँ लुगा पहिलो प्राथमिकतामा पर्छ,’ उनी भन्छन्, ‘कोरोनाले गर्दा दुई वर्षदेखि ब्यापार सखाप छ तर वर्षको अन्य दिनहरुको तुलनामा यो बेला भनेको व्यापारीका लागि दशहरा नै हो ।’


स्थानीय मिठाई पसले युवक रमेश पण्डितले दसैंलाई समाजलाई जोड्ने धार्मिक, सांस्कृतिक एवं परम्परागत पर्व मान्छन् । ‘भक्तजनले मातालाई शुद्ध मिठाइ अवश्य चढाउँछन,’ उनी भन्छन्, ‘दसैंदेखि मिठाइ बिक्रीको क्रम बढ्दै गएर छठ सम्म कायम रहन्छ, शुभकामना आदान–प्रदानमा पनि मिठाइको प्याकेट दिने चलन छ ।’


स्थानीय सरोचिया बस्तीका ६० वर्षीय आशाराम मण्डलले घटस्थापनादेखि पूर्णिमा सम्म टीका लगाइ दिएर दिनहुँ ५ सय रुपैयाँ आम्दानी गर्छन् ।

‘सधैं यो काम गर्दिन, दसैंमा मात्र मन्दिरहरुको अघिल्तिर डुल्दै भक्तजनलाई टीका लगाइ दिन्छु, उनीहरुले दिएको दक्षिणा लिन्छु,’ उनी भन्छन्, ‘यतिखेर भक्तजनले खुशीसाथ दान दिन्छन्, त्यो रकमलाई कुनै पनि काममा लगायौं भने शुभ र समृद्धि ल्याउँछ ।’

टीका एवं आशीषको माध्यमबाट नयाँ एवं पुराना पुस्ता बीचको सम्बन्धलाई दसैंले जीवन्तता प्रदान गरिरहेको समाजशास्त्री मुकेश सिंह बताउँछन् । ‘दसैंको सामाजिक माहोलले सबै वर्गकालाई तान्छ ,’ उनी भन्छन्, ‘रातो टीका तथा जमरा नथाप्नेहरु पनि भेटघाट र भोजमा सहभागि भइरहेकै हुन्छ ।’ यो पर्वले समाजको आर्थिक, सांस्कृतिक, धार्मिक र पम्परागत पक्षलाई सन्तुलनमा राख्ने गरेको समाजशास्त्री सिंह बताउँछन् ।

प्रकाशित : आश्विन २७, २०७८ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्

मसिनो धान उत्पादनले आम्दानी दोब्बर, बर्दियाका किसानको दसैं उल्लासमय

कमल पन्थी

(बर्दिया) — बढैयाताल गाउँपालिका—८ का किसानको दसैं यसपाली उल्लासमय हुने भएको छ । किनभने, यसपाला उनीहरुले धानको उत्पादन र मूल्य दुबै दोब्बर पाएका छन् । परम्परागत मोटो धानको खेतीबाट खासै उत्पादन नभएपछि बजारमा माग बढी भएको मसिनो चामल उत्पादन हुने धान लगाएको पहिलो वर्षमै बढैयातालका किसानलाई फाइदा पुगेको हो ।

‘मसिनो धानको माग धेरै रहेछ,’ बढैयाताल—८ मयुरबस्तीका किसान अर्जुन रिजाल भन्छन्, ‘यसपाला हामीले समूहमै त्यो लगायौं, प्रतिफल पनि राम्रै भयो ।’ उनि जस्तै स्थानीय किसान सीता पंगेनीले मसिनो धान उत्पादनले आम्दानी बढ्दै गएको बताइन् ।

स्थानीय राधाकृष्ण धान मिलका साहू हिमालय त्रिपाठीले मसिनो धान लगाए बालि भित्र्याउनु अघि नै किनिदिने वाचा गरेर किसानलाई पाहोर बिउ उपलब्ध गराएका थिए । बन्दाबन्दीको बेला मोटो धानको बिउ नपाएपछि जे त होला भनेर आफूहरुले मसिनै धान लगाएको रिजाल बताउँछन् ।

त्रिपाठीले भनेजस्तै मसिनो धान बढी फलेको किसान रिजाल बताउँछन् । उनले प्रति कट्ठा डेढ क्युण्टल मसिनो धान उत्पादन हुने गरेको बताए । मसिनो धान प्रति क्युण्टल २ हजार ७ सयमा खरिद बिक्री हुन्छ । बजारमा मोटो धान भने प्रति क्युण्टल २ हजार देखि २२ सय मुल्य रहेको छ । उनले मोटो धानको मुल्य भन्दा मसिनो धानमा ५/७ सय रुपैया बढी पाउने भएपछि यहाँका किसानले मसिनो धान उत्पादन गर्न थालेका हुन् ।
कोरोना महामारीको अघिल्लो वर्ष किसानहरुले समयमै मल र बिउ पाएका थिएनन् । जसोतसो गरेर फलाएको धानले पनि बजार नपाउँदा उनीहरुलाई आर्थिक दुःख भएको थियो । लकडाउनका कारण बालीमा रोगकिरा लाग्दा विज्ञको सल्लाह लिन पनि उनीहरुले पाएनन् ।

यसपालीको लकडाउनका बेला भने बढैयातालका किसानलाई मिलसाहु त्रिपाठीले सघाए । उनले किसानहरुलाई घरदैलोमै पुगेर भेटे । मसिनो धानको २५ मेट्रिक टन बिऊ १ हजार किसानका घरमा पुर्‍याए । मसिनो धान लगाउनलेलाई बालीको उचित स्यहार गर्न जेटिएदेखि अन्य कृषि प्राविधिक पनि उनले नै व्यवस्था गरिदिए । अनि समयसमयमा किसानको मोबाइलमा एसएमएस पठाएर बालीका बारेमा आवश्यक जानकारी पनि पठाउने गर्न थाले ।

‘यसले के फाइदा पुग्यो भने मलाई व्यापार गर्न मनग्गे चामल मिल्यो, किसानलाई पहिलेभन्दा बढी भाउको धेरै धान फल्यो,’ उनले भने, ‘यही हिसाबले किसानहरु अघि बढे भने भारतीय चामललाई हाम्रै किसानको चामलले विस्तापित गरिदिन थाल्नेछ ।’

ती सब किसानसँग मोटो धानभन्दा प्रति क्विन्टल ७ सय बढी तिरी २७ सयमा उनी मसिनो धान किनिदिन्छन् । गल्ला भनेर चिनिने धान व्यापारी विचौलीलालाई दिने पैसा सिधै किसानलाई दिन पाएकामा उनी खुसी छन् भने अर्कातिर किसान पनि उही खेतबाट दोब्बर धान फलाएर बढ्ता मूल्य लिई नदगै बेच्न पाउदा झनै खुसी छन् ।

बजारमा मसिनो चामल धेरै बेच्न पाउने भएपछि बढैया तालका २६ सय किसानलाई त्रिपाठीले साउन लाग्दा नलाग्दै धानको केही रकम अग्रिम भुक्तानी समेत दिएका छन् । यसले किसानहरु निकै खुसी देखिन्छन् । बिना व्याजी ५ हजारदेखि डेढ लाखसम्म उनले किसानलाई आवश्यकता परे विना व्याजी रकम दिएको बताए । किसान पंगेनीले त्रिपाठीबाट दशै लगायत घरायसी खर्च वापत ६० हजार रुपैया विना व्याजी रकम लिएको बताइन् ।

‘पहिले हामी धान उधारोमा दिन बाध्य थियौं, त्यही पनि सस्तोमा बेच्न पर्थ्यो,’ किसान पंगेनी भन्छिन्, ‘मसिनो धान चाहिँ अगाडि नै बिक्यो, यसले हामी उत्साहित छौं, यसपाला दसैं राम्रो हुने भयो ।’

प्रकाशित : आश्विन २७, २०७८ १३:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×